हरेक वर्ष सूर्तिजन्य सेवनबाट २७ हजार भन्दा बढी मानिसको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । विश्व सूर्तिजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्यामा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले हरेक वर्ष २७ हजार १३७ जनाको मृत्यु सूर्तिजन्य रोगबाट हुने गरेको जानकारी दिनुभएको हो । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।
आइतबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भीरमा दुर्घटनामा परेको तारा एयरको ट्विनअटर ९एन एइटी विमानको व्लाकबक्स फेला परेको छ । मंगलबार विहान माउन्टेन गाइड पिम्वा तेन्जिङ लामा, नरेन शाही र सेनाको टोलीले ब्लाकबक्स फेला पारेको हो ।
सिमकोट गाउँपालिका–७, चुकेनी बस्तीस्थित खानेपानी योजनामा रकम हिनामिना भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । योजनाको काम सम्पन्न नगरी उपभोक्ता समितिलाई बजेट भुक्तानी भएको तर उपभोक्ता समितिका अध्यक्षले कामदारलाई रकम नदिएको आरोप उजुरीमा उल्लेख छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु गरिएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न सुरु गरिएको हो ।
तारा एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको बाँकी शव काठमाडौं ल्याउने तयारी सूरु गरिएको छ । सानो हेलिकप्टरबाट १० वटा शव जोमसोमको कोवाङमा झारिएको छ भने बाँकी दुई वटा शव कोवाङ ल्याउने क्रममा रहेको उद्धारटोलीले जनाएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र जलेश्वरको मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।
प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको वीरगञ्ज महानगरपालिकाको प्रमुख पदमा नवनिर्वाचित राजेशमान सिंहले ३० युनिटसम्म विद्युत् छुट दिने निर्णय गर्नुभएको छ । प्रमुख सिंहले वीरगञ्जको घण्टाघर क्षेत्रको जीर्ण सडक मर्मत कार्यलाई पहिलो प्राथमिकतामा राख्नेसमेत बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ५० करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा ३६५ दिन अवधिका लागि लगानी गर्न लागेको हो ।
आगामी वर्षको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको कुल दुई अर्ब ४६ करोड रुपियाँ विनियोजन भएको छ । खेलकुदतर्फ दुई अर्ब नौ करोड रुपियाँ र ३७ करोड रुपियाँ युवाका क्षेत्रमा विनियोजन भएको हो । जनसाङ्ख्यिक लाभका रूपमा रहेका नेपाली युवाको रोजगारीको विषय आगामी आर्थिक वर्षको बजेटमा नयाँ कार्यक्रमका साथ सम्बोधन हुन सकेको छैन । अघिल्ला वर्षका सीमित कार्यक्रमलाई मात्र निरन्तरता दिइएको छ ।
सुनकोशी गाउँपालिका–७ पाङगे्रटारको दुई किलोमा जेठ ११ गते एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना गराएर फरार रहेका एम्बुलेन्स चालक रबिन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । बा २० च ६३२७ नम्बरको एम्बुलेन्स दुर्घटना एक बृद्धाको मृत्यु भएको थियो तर चालक फरार रहेका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५१ करोड रुपियाँ विनियोजन भएको छ, जसअन्तर्गत सडक सञ्जालको विस्तार र निर्माणमा केन्द्रित गरिएको छ । आव २०७९/८० को वार्षिक बजेटमा आठ सय किलोमिटर सडक सञ्जाल विस्तार गरिने भएको छ । २५७ किलोमिटर सडकको स्तरोन्नति गर्ने र पूर्व–पश्चिम राजमार्ग चार लेनमा विस्तार कार्यलाई तीव्रता दिइने बजेट वक्तव्यमा उल्लेख छ । आगामी वर्ष नारायणगढ–बुटवल सडकखण्ड विस्तार सम्पन्न गरिने भएको छ ।
सेयर बजार ओरालो लाग्ने क्रममा दुई हजार एक सयको बिन्दुमा आइपुगेको छ । सरकारले नीति तथा कार्यक्रम ल्याएको दिनदेखि उकालो लागेको सेयर बजार बजेट आउनुअघिदेखि नै ओरालो लाग्न सुरु गरेको थियो । सोमबार सेयर बजार मापक नेप्से परिसूचक ५०.३३ अङ्कले ओरालो लागेर २१७३.४४ कायम भएको छ । सेन्सेटिभ इन्डेक्स पनि १०.३३ अङ्कले ओरालो लागेर ४२२.७४ को बिन्दुमा पुुगेर रोकिएको छ । समग्रमा सोमबारको नेप्से २.२६ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि २.३८ प्रतिशतले ओरालो लागेको छ ।
आइतबार संसद्मा पेस भएको आव २०७९/८० को बजेट वक्तव्यका प्रावधानलाई निजी क्षेत्रले स्वागत गरेका छ । नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासङ्घ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए), समुद्रपार निकासी पैठारी सङ्घलगायतले विज्ञप्ति जारी गर्दै अर्थतन्त्र उत्थानमा केन्द्रित हुने अपेक्षा गरेका छन् । चम्बरले कृषि क्षेत्रको रूपान्तरण, औद्योगिक उत्पादन विस्तार, ऊर्जा क्षेत्रको प्रवद्र्धन तथा खपत वृद्धिको योजनालगायतका विषय स्वागतयोग्य रहेको जनाएको छ ।
म्याग्दीको बेनी नगरपालिकाले नसर्ने रोगको पहिचान तथा रोकथामका लागि स्क्रिनिङ शिविर सुरु गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारण नागरिकलाई घरदैलोमै पुगेर नसर्ने रोगको पहिचान गरी स्वास्थ्य सेवा दिने उद्देश्यले निःशुल्क रूपमा शिविर सुरु गरिएको हो ।
कैलालीमा सामुदायिक वन संरक्षणमा महिलाको सक्रियता बढ्दै गएको छ । जनसङ्ख्या वृद्धिसँगै वन अतिक्रमणविरुद्ध र डढेलो नियन्त्रण र वन क्षेत्रमा हुने अवैध गतिविधिका विरुद्ध महिलाले ज्यान जोखिममै राखेर काम गर्दै आएका छन् ।