काठमाडौं, जेठ १७ गते । हरेक वर्ष सुर्तीजन्य सेवनबाट २७ हजारभन्दा बढी मानिसको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ । विश्व सूर्तिजन्य प्रदार्थरहितको दिवसको पूर्वसन्ध्यामा एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले हरेक वर्ष २७ हजार १३७ जनाको मृत्यु सुर्तीजन्य रोगबाट हुने गरेको जानकारी दिनुभएको हो । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।
नेपालमा गरिएको एनसिडी रिक्स फ्याक्टर सर्भे २०१९ मा १५ देखि ६० वर्ष उमेर समूहका २९.९ प्रतिशतले सुर्तीजन्य प्रदार्थको सेवन गरेको पाइएको छ । जसमध्ये ४८.३ प्रतिशत पुरुष छन् भने ११.६ प्रतिशत महिला छन् ।
सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरु क्यान्सर, मुटुरोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईं बताउनुहुन्छ । जनसङ्ख्यामा आधारित नसर्ने रोगहरुसम्बन्धी २०१९ को प्रतिवेदनअनुसार कोरोनरी आर्टरी रोगको २.९ प्रतिशत, मधुमेहले ८.५ प्रतिशत, दीर्घ मिर्गौला रोग ६ प्रतिशत र श्वासप्रश्वास तथा फोक्सोसम्बन्धी दीर्घरोग ९९.६ प्रतिशत जनसङ्ख्यामा सिओपिडिको समस्या देखिएको छ ।
नेपाल एनसीडीआई पोभोर्टी कमिसनको प्रतिवेदनअनुसार नसर्ने रोगहरुले ५१ प्रतिशत नेपालमा हुने कुल मृत्यु तथा अपाङ्गता गर्ने गरेको पाइन्छ । विगत २५ वर्षको अवधिमा मात्र अपाङ्गता र मृत्युको हिसाबले नसर्ने रोगहरु र चोटपटकको भार दुई गुणाभन्दा बढीले वृद्धि भएकोे पाइएको छ ।
नेपालमा नसर्ने रोग बढ्नुको प्रमुख जोखिम तत्वहरूमा सुर्तीजन्य पदार्थको प्रयोग रहेको पाइएको छ। सूर्तिजन्य पदार्थको प्रयोगका कारण विश्वमा ८० लाख मानिसको मृत्यु हुने गरेको छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख चुरोटको धुँवाकाे असरका कारण मृत्यु हुने गर्दछ ।
वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंले चुरोट सेवन गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर सबैभन्दा बढी देखिएको बताउनुभयो । सुर्तीजन्य पदार्थले नसर्ने रोगलाई बढाइरहेको बताउँदै उहाँले ८५ प्रतिशत फोक्सोको क्यान्सर सुर्तीजन्य पदार्थका कारण हुने गरेको जानकारी दिनुभयो ।
चुरोटमा के हुन्छ ?
सूर्तिजन्य प्रदार्थमा निकोटिनलगायतका ६ प्रकाका रसायन हुने गर्दछन् । डा. चापागाईंले बताउनुभयो, “चुरोट बाल्दा त्यसबाट सातहजार रसायन निस्कने गर्दा त्यसले शारीरिक र मानसिक रुपमा असर पुग्छ ।” सूर्तिजन्य पदार्थमा फोक्सोको क्यान्सर, मुटुरोग र अन्य प्रकारका रोगहरु लाग्ने चिकित्सक बताउँछन् । चुरोट खान छाड्ने १० मध्ये ९ जना व्यक्तिलाई क्यान्सरबाट बचाउन सकिने उहाँले बताउनुभयो । अध्ययनले चुरोट बन्द गरेको १० वर्षमा हृदयघात र मुटुसम्बन्धी रोगको सम्भावना घटेर चुरोट कहिल्यै सेवन नगरेको व्यक्ति जत्तिकै हुने देखाएको छ ।
दिगो लक्ष्य पु¥याउन सुर्तीजन्य प्रदार्थको नियन्त्रण
सुर्तीजन्य प्रदार्थको नियन्त्रण गर्न सकेमात्र दीगो विकास हासिल गर्न सकिने डा. चापागाईंको तर्क थियो । त्यसको लागि सम्बन्धित सरोकारवाला निकाय एक भएर काम गर्नु पर्नेमा उहाँको जोड छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले नेपालमा सूर्तिजन्य पदार्थको लत लागेकालाई औषधि खुवाएर छुट्याउन सकिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नीति बनाएर, कर बढाएर मुल्य वृद्धि गरेरभन्दा पनि सुर्तीजन्य पदार्थ औषधि खुवाएर छुट्याउन सकिन्छ तर त्यसबारे धेरैमा जनचेतना छैन ।”
एक्सन नेपालमा अध्यक्ष आनन्दबहादुर चन्द नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन खिल्ली चुरोट विक्रीवितरणमा रोक लगाउनुपर्ने र चुरोटको मूल्यवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । सुर्तीजन्य पदार्थ नियन्त्रणकाे लागि बनाएका ऐनको कार्यान्वयनमा जोड दिनुपर्ने सराेकारवाला निकायको भनाइ रहेको थियो ।
सूर्तिजन्य प्रदार्थको ऐन
नेपाल सरकारले सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सूर्तिजन्य पदार्थको आयात, उत्पादन, विक्रीवितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण तथा नियमन गर्न सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ तथा नियमावली २०६८ जारी गरेको छ । सोही ऐनले अठार वर्ष नपुगेका व्यक्ति र गर्भवती महिलालाई सूर्तीजन्य पदार्थ विक्रीवितरण गर्न वा गर्न लगाउन वा निःशुल्क उपलब्ध गराउनमा रोक लगाएको छ ।
उद्योगले प्याकेटमा जनचेतन मूलक खुलाई सूचना टाँस गर्नुपर्ने, उत्पादकले कम्तिमा २० खिल्ली अटाउने गरी चुरोट वा बिँडीको प्याकेट तयार गर्नुपर्ने उक्त ऐनमा उल्लेख गरेको छ । सर्वोच्च अदालतबाट सुर्तीजन्य पदार्थको बट्टा तथा बाहिरी आवरणको ९०% भाग ढाकिने गरी धूम्रपानको असर देखिने दृश्य तथा चेतनामूलक सन्देश राख्न नेपाल सरकारका नाममा आदेश समेत जारी गरेको छ ।
२० अर्ब राजस्व सङ्कलन
नेपालमा बर्षेनी २० अर्ब बराबरको राजस्व सङ्कलन हुने गर्दछ । राजश्वले २५ प्रतिशत अर्थात् ५ अर्ब स्वास्थ्यमा दिने र त्यसले नसर्ने रोगको उपचार र रोकथाममा प्रयोग गर्ने भने पनि हाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ३० देखि ४० करोड सुर्तीजन्य पदार्थबाट राज्यस्व प्राप्त गर्छ । जसको खर्च नसर्ने रोगको रोकथाम तथा नियन्त्रणको लागि प्रगोग हुने गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ । नेपालमा पनि सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ ।