• ७ जेठ २०८१, सोमबार

कामदारले ज्याला नपाएपछि उजुरी

blog

हुम्ला समाचारदाता

हुम्ला, जेठ १७ गते ।  सिमकोट गाउँपालिका–७, चुकेनी बस्तीस्थित खानेपानी योजनामा रकम हिनामिना भएको आरोप लगाउँदै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेका छन् । 

योजनाको काम सम्पन्न नगरी उपभोक्ता समितिलाई बजेट भुक्तानी भएको तर उपभोक्ता समितिका अध्यक्षले कामदारलाई रकम नदिएको आरोप उजुरीमा उल्लेख छ । 

चुकेनी बस्तीकी महिला किस्मती सुनारले खानेपानी योजनाको रकम हिनामिना गरेको आरोप लगाउँदै सत्यतथ्य जाँचबुझ गर्न प्रशासनमा उजुरी दिएको बताउनुभयो । १२ जना महिला उपभोक्ताले सो उजुरी दिएका हुन् ।

गत आर्थिक वर्षमा सिमकोट गाउँपालिका अन्तर्गतको जलवायु अनुकूलन कार्यक्रम (लापा)ले सो बस्तीको खानेपानी योजना निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग २५ लाख रुपियाँमा सम्झौता गरेको थियो । उपभोक्ता समितिका अध्यक्ष बाँचबहादुर सुनारले तीन महिना काम गरेको मजदुरको ज्याला नदिएको आरोप  उजुरीमा छ । 

उपभोक्ता किस्मती सुनारले भन्नुभयो, “सदरमुकाम नजिकको योजनामा यति धेरै हिनामिना हुन्छ भने दुर्गमका बस्तीमा झन् बढी रकम दुरुपयोग हुन्छ होला ?”

योजनाअनुसार १२ वटा खानेपानीका धारा निर्माण गरिनुपर्नेमा  उपभोक्ता समितिले पाँचवटा मात्र धारा निर्माण गरेका छन् । ती धारामा हालसम्म पानी नआएको उजुरीमा उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले सो विवादका सम्बन्धमा दुवै पक्ष बोलाएर छलफल गर्ने बताउनुभयो । यस सम्बन्धमा उपभोक्ता समितिका अध्यक्ष सुनारसँग सम्पर्क गर्न खोज्दा उहाँले फोन उठाउनुभएन । 

सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले गत वर्ष नै गाउँपालिकाले भुक्तानी दिएको र कामदारले ज्याला पाए नपाएको जानकारी नभएको बताउनुभयो । उहाँले निर्माण गरिएका धारामा सुरुमा पानी खसेको जानकारी भएको तर अहिले के छ भन्ने थाहा नभएको उल्लेख गर्नुभयो ।