• ८ जेठ २०८१, मङ्गलबार

अध्यक्षको गाडी बन्यो एम्बुलेन्स

blog

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, जेठ १७ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु गरिएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्ने गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न सुरु गरिएको हो । 

गाउँपालिकाको गाडी आफू नचढी एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गर्नुभएका नवनिर्वाचित अध्यक्ष राजन लिम्बू (मुक्ति)ले पालिकाको सवारी साधनमार्फत बिरामीको उद्धार गर्न थाल्नुभएको हो । आफू चढ्ने सवारी साधनमा चढाएर गाउँपालिका अध्यक्ष लिम्बू आफैँले शनिबार एक बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था पु-याउनुभयो । 

उहाँले फक्ताङ्लुङ गाउँपालिका–४, इखाबु खुपातालकी ६३ वर्षीया रामप्यारी लिम्बूलाई पालिकाको सवारीसाधनमार्फत ताप्लेजुङ जिल्ला अस्पतालसम्म  पुग्ने प्रबन्ध मिलाउनुभएको हो । पत्थरी र जन्डिसको समस्या भएका बिरामी लिम्बूलाई छिरुवा बजारदेखि गाउँपालिकाको गाडीमा चढाएर जिल्ला अस्पतालमा पठाइएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) फक्ताङ्लुङ गाउँपालिका कमिटी अध्यक्षसमेत रहेका उहाँले घोषणापत्रमै आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाउने उल्लेख गर्नुभएको थियो । उहाँ निर्वाचित भएपश्चात् पदभार ग्रहण गर्दै पालिकाका बासिन्दा कोही बिरामी भएमा सवारीसाधनका लागि आफूलाई सम्पर्क गर्न आह्वान गर्नुभएको थियो । उहाँको घोषणाअनुसारको योजना शनिबारदेखि कार्यान्वयनमा आएको छ ।