काबुल, वैशाख २४ गते । कम्तिमा ४९१ जना अफगान कैदीसहित चार हजार ७७२ जना अफगान शरणार्थी छिमेकी मुलुक पाकिस्तानबाट आफ्नो मातृ भूमिमा फर्केको अधिकारीहरूले बिहीबार घोषणा गरेका छन् ।
पाकिस्तानका विभिन्न जेलमा विभिन्न अभियोगमा कैद जीवन बिताइ रहेका कैदी दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम नाका हुँदै घर फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । यसैबिच चार हजार ७७२ जना अफगान शरणार्थी बुधबार एकै दिनमा पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानीस्तानको पुनरागमन समस्या सम्बोधन गर्ने आयोगले जनाएको छ ।
स्वदेश आइपुगेपछि, बन्दीको पुनः एकीकरण समर्थनका लागि आ-आफ्नो गृह प्रान्तमा सारिनु अघि तत्कालका लागि मानवीय सहायता प्राप्त गरेको जनाइएको छ । गत वर्ष करिब ३० लाख अफगान शरणार्थी छिमेकी इरान र पाकिस्तानबाट घर फर्केको जनाइएको छ भने दुवै देशले कागजात विहीन विदेशी नागरिकलाई उनीहरूको अवैध प्रवास अन्त्य गर्नको लागि र घर फर्कन आग्रह गरिरहेका छन् । रासस/सिन्ह्वा