• ६ जेठ २०८१, आइतबार

अव्यवस्थित पार्किङले सास्ती

blog

जलेश्वर समाचारदाता  

जलेश्वर, जेठ १७ गते ।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकामा व्यवस्थित पार्किङ छैन । व्यवस्थित पार्किङ नहुँदा आधा सडक ढाक्ने गरी मूल सडकमै जथाभावी सवारी साधन पार्किङ हुँदा सर्वसाधारणलाई समस्या पर्ने गरेको छ । यस विषयमा सरोकारवाला निकाय मौन छन् । सर्वसाधारणको बढी आवागमन हुने र जलेश्वरको मुख्य बजार क्षेत्रमै सडक नै ढाक्ने गरी वर्षौंदेखि पार्किङ हुँदै आए पनि सरोकारवाला निकायले समस्या समाधानको अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ । 

कुनै बेला अञ्चलाधीश बस्ने सदरमुकाम जलेश्वर अहिले सरकारी उदासीनता र सरोकारवाला निकायको लापरवाहीका कारण अव्यवस्थित हुँदै गएको स्थानीयको भनाइ छ । जलेश्वरको पार्किङ व्यवस्थित गर्न कोही पनि गम्भीर नदेखिएको जलेश्वर–२ का स्थानीय युवा विजय साह बताउनुभयो । “जलेश्वर नगरपालिकामा जटिल समस्याको रूपमा रहेको अव्यवस्थित पार्किङ कसले र कहिले समाधान गरिदिने होला, हामी प्रतीक्षामा छौँ । आधारभूत पूर्वाधारको रूपमा रहेको व्यवस्थित पार्किङ निर्माण हुन नसक्दा यहाँ बस्ने सर्वसाधारणको दैनिकी बेहाल बनेको छ,” उहाँले भन्नुभयो । 

जलेश्वर–१० का स्थानीय फारुख अन्सारीले सुरक्षित रूपले साइकल राख्ने ठाउँसमेत नरहेको बताउँदै, “सबैभन्दा बढी मान्छेको आवतजावत हुने ठाउँमा व्यवस्थित पार्किङ सुविधा हुनुपर्ने हो ? तर खोइ जलेश्वरमा कहीँ भेटिँदैन,” भन्नुभयो । 

जलेश्वरको महेन्द्र चोकदेखि जलेश्वरनाथ महादेव मन्दिर जाने सडकमा रहेको राष्ट्रिय वाणिज्य बैङ्क अगाडि आधा सडक नै ढाक्ने गरी पार्किङ हुँदै आएको छ । जलेश्वरको व्यस्त बजार क्षेत्र महेन्द्र चोक, जिल्ला प्रशासन कार्यालय जाने बाटो, शङ्कर चोक, खैरा चोक, अस्पताल चोक, बस स्ट्यान्ड चोकलगायतको ठाउँमा जति बेला पनि आधाभन्दा बढी सडकको भाग सवारी साधनकै पार्किङले ढाकिएको हुन्छ । जलेश्वरस्थित जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, शिक्षा समन्वय एकाई कार्यालय, जिसस, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, कृषि ज्ञान केन्द्र जस्ता अधिक जनसम्पर्कका कार्यालय जाने एउटै सडक छ  । 

“बैङ्कको काम लिएर पुग्ने सेवाग्राहीले सडकमै सवारी साधन पार्किङ गर्नुपर्छ, जसका कारण कार्यालय समयमा सो बाटो जहिले पनि भरिभराउ नै हुन्छ,” जलेश्वर–२ का स्थानीय विजय गुप्ता भन्नुहुन्छ “जलेश्वरमा जुन ठाउँमा पुग्नु पर्दासमेत सोही बाटोको प्रयोग गर्नुपर्ने बाध्यता छ । यसले बाटोमा आवागमन असहज हुने गरेको छ ।” 

“जलेश्वरमा साप्ताहिक हटिया लाग्ने सोमबार र बिहीबारका दिन त पैदल हिँड्डुल गर्नेले समेत सास्ती खेप्नु पर्छ,” जलेश्वर महेन्द्र चोकमा मोबाइल पसल सञ्चालन गरेका नितेश झा भन्नुहुन्छ, “अत्यावश्यक कामले नगर क्षेत्रभित्र र बाहिरबाट आउने आगन्तुक सवारी धनीले सडकको दुवै छेउमै जथाभावी सवारी पार्किङ गर्दा जलेश्वर दिन प्रतिदिन अव्यवस्थित सहर बन्दै गएको छ ।”

जलेश्वर नगरपालिकाको नवनिर्वाचित प्रमुख सुरेश साह सोनारले यो समस्या समाधानको लागि आफू गम्भीर रहेको बताउनुभयो । “हामी अहिले भर्खर निर्वाचित भएर पदभार ग्रहण गरेका छौँ । जलेश्वरमा पार्किङको समस्या जटिल छ, यो मलाई जानकारी भएको विषय हो,” उहाँले भन्नुभयो ।

उहाँले उपलब्ध साधन स्रोतको प्रयोग गरेर छिट्टै जलेश्वरमा पार्किङको समस्या समाधान गर्ने बताउनुभयो । “यसका लागि सरोकारवाला सबै पक्षसँग छलफल गरी चाँडै नै योजनाबद्ध ढङ्गले काम अगाडि बढाउँछौँ,” उहाँले भन्नुभयो । यता अव्यवस्थित पार्किङले सदरकमुकाममा दुर्घटनाको जोखिम पनि बढेको छ । सहरी क्षेत्रभित्र पनि सडकमा तीव्र गतिमा टिप्पर, ट्याक्टर, मोटरसाइकल, इ–रिक्सालगायतका सवारीसाधन तीव्र गतिमा चलाउँदा दुर्घटनाको जोखिम बढेको छ । सडकको दुवै छेउमा अव्यवस्थित गरिएको पार्किङले सडकको छेउबाट हिँड्न समस्या भइरहेको जलेश्वर–४ का स्थानीय राजीव कर्णले बताउनुभयो । 

जलेश्वरमा सबभन्दा बढी वाणिज्य बैङ्क अगाडि पार्किङको समस्या हुने गरेका कारण बैङ्कको बायाँपट्टी रहेको मिना बजारलाई अन्यत्र सारेर सोही ठाउँमा व्यवस्थित पार्किङ थलो बनाएर तत्काल समस्या समाधान गर्नुपर्ने स्थानीयको माग छ ।