नारद कोहारतौलिहवा, जेठ १९ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित भिक्षेचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु गरिएको छ । हुलाकी बाटो विस्तार गर्ने क्रममा ४ महिना अघि तौलिहवास्थित प्रशासनचोक नजिकै रहेको विक्रम सम्वत २०१४ साल निर्मित महेन्द्र गेट भत्काइएपछि यो गेटको निर्माण शुरु गरिएको हो ।नमूना गेट निर्माणका लागि ४ वटा मध्ये ३ वटा पिलर खडा गर्न खाल्डो खनेर निर्माण कार्य थालिएको कपिलबस्तु नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । उहाँले भन्नुभयो “चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको गेट निर्माण थालिएको हो ।”करिब ८३ लाख रुपियाँ लागतको नूमना गेटको निर्माणका लागि एमके मंगलदीप जेभी काठमाडौंसँग निर्माणका लागि सम्झौता भएर निर्माण कार्य केही शुरु भएको हो । हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्रगेट भत्काउने कुरा थाहा पाएपछि नगरपालिकाले २ वर्षदेखि नै भिक्षुचोकमा नमूना गेट निर्माणका लागि प्रक्रिया थालिएको थियो । गेटको उचाई साढे ४ मिटर देखि ९ मिटरसम्म हुने नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । डिजाईन बुल्ड मेथडमा गेटको भित्र स्पाम साढे २८ मिटरको हुनेछ । गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत हुनेछ । गेट २०७९ साउन दोश्रो साता निर्माण सम्पन्न हुने योजना भए पनि सयममा काम नसकिने देखिएको छ ।नमूना गेट निर्माण भएपछि तौलिहवा बजारको समेत चिनारी फेरिने नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘चौमुखे नमूना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिनेछ ।’ ठेकेदार कम्पनीलाई समय मै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको नगर प्रमुख पौडेलले बताउनुभयो । तौलिहवाको भिक्षु चोकमा गेट निर्माण गर्न खाल्टो खन्दै । तस्विर - नारद कोहार । तौलिहवा
शेरबहाुदर सार्कीबाजुरा, जेठ १९ गते । बाजुरा जिल्लाका नौ वटा स्थानीय तह मध्ये आठ स्थानीय तहमा जनप्रतिनिधिको आगमन भए पनि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको छ । वैशाख ३० गते मतदान केन्द्रमा धाँधली भएको विषयमा मतगणना स्थगित गरिएपछि बूढीगङ्गा नगरपालिका जनप्रतिनिधि विहीन भएको हो । तर आठवटा स्थानीय तहमा जनप्रतिनिधिहरुले जनताको विश्वास नटुटाउने गरी विकासलाई पहिलो प्राथमिकतामा राखेका छन् ।बाजुराको स्वामिकार्तिक गाउँपालिकाको अध्यक्ष भरतबहादुर रोकायाले सो क्षेत्रमा फोर जी सहितको एनटिसीको टावर निर्माण गर्ने निर्णय गर्नुभएको छ ।बाजुराको छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट जिल्लालाई बेस बनाएर एक बुहप्राविधिक शिक्षालय खोल्ने, कृषि उत्पादन बढाउन कृषक पेन्सन, निःशुल्क एम्बुलेन्स सेवा दिने स्वामिकार्तिकको पहिलो बैठकमा निर्णय गर्नुभएको छ ।त्यसैगरी, बडिमालिका नगरपालिकाले प्रमुख अम्मरबहादुर खड्काले स्वास्थ्य, शिक्षा, खानेपानी, ढल निकास, डम्पिङ साइट व्यवस्थापनलाई पहिलो प्राथमिकता दिनुभएको छ ।बूढीनन्दा नगरपालिकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि व्यरोजगारी जस्ता विषयलाई पहिलो प्राथमिकिता दिएको छ । नगर प्रमुख जनककुमार बोहराले नगरपालिकाको पहिलो बैठकमा गुणस्तरीय शिक्षा, स्वास्थ्य, आधुनिक कृषि प्रणालील, जेष्ठ नगरिकलाई निःशुल्क उपचार तथा सामाजिक सुरक्षा भत्ता घरघरमै गएर दिने जस्ता निर्णय गर्नुभएको छ ।त्रिवेणी नगरपालिका, गौमुल छेडेदह, जगनाथ हिमाली गाउँपालिकाले पनि राजजारी, शिक्षा, खानेपानी, निःशुल्क स्वास्थ्य जस्ता विषयमा प्राथमिकता दिएको छ ।
काठमाडौँ, जेठ १९ गते । विश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ । भगवान् शिवको बासस्थान हिमालयमध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले राससलाई जानकारी दिनुभयो । पोखरेलले दुवै पुस्तक संस्कृतबाट नेपाली र अङ्ग्रेजीमा अनुवाद गर्नुभएको हो । अङ्ग्रेजी शिवपुराण छुवाङ काल्देन शेर्पाले र नेपाली शिवपुराण लाक्पा डेन्डी शेर्पाले २०२२ मे १३ मा सगरमाथाको चुचुरोबाट अनावरण गर्नुभएको हो । अठार महापुराणमध्येको हिन्दूहरूको पवित्र ग्रन्थ सगरमाथाबाट अनावरण हुनु सुखद् सौभाग्यको विषय भएको बताइन्छ । अध्यात्मज्ञानमा आस्था र श्रद्धा भएकाका लागि यो अत्यन्त महत्वपूर्ण कार्य भएको जनाइएको छ । यो काम सम्पन्न गर्न थामसेर्कु टेक्रिङ एण्ड एक्स्पीडिसनका अध्यक्ष सोनाम शेर्पा, व्यवस्थापक अञ्जन राई र नीमा नोरु शेर्पाले सहयोग गर्नुभएको लेखक पोखरेलले बताउनुभयो । उहाँले १८ वटै पुराण नेपाली भाषामा अनुवाद गरिसकेको जानकारी पनि दिनुभयो ।
काठमाडौँ, जेठ १९ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग)को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उहाँको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा.किरण शाक्यले गर्नुभएको हो । चिकित्सकको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
सन् २०१९ को अन्तिमबाट चीनको उहानबाट सुरु भएको कोरोना भाइसरको सङ्क्रमणदर विश्वबाटै विस्तारै कम हुँदै गएको तथ्यांकले देखाएको छ । र, नेपालमा पनि कोरोना पृष्टि हुनेको संख्यामा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
जीवन्त र चरित्रसङ्गत अभिनय तथा सशक्त र प्रभावोत्पादक संवाद प्रवाहीकरणबाट मैथिली रङ्गमञ्चमा उपस्थिति जनाउने थोरैमात्र महिला कलाकारमा अग्रणी हुनुहुन्छ – अनितारानी मण्डल । रङ्गमञ्चमा महिलाको उपस्थिति न्यून भएका बेला पनि प्रभाव, पहुँच र निकटताका आधारमा अवसर पाउने दुर्नियतिकाबीच रङ्गकर्ममा मण्डलको प्रवेश प्रतिभा र क्षमतालाई निरन्तर तिर्खादै जाने मिहिनेतका कारण सम्भव भयो ।
प्रेमराज सिम्खडा कालिकोट, जेठ १९ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको मुल सडक कालोपत्रे गर्ने काम अलपत्र परेको छ । कर्णाली प्रदेश सरकारको लगानीमा नगरपालिका भित्रको मूल सडक शान्तिघाट सिपखाना सडक अन्र्तगत शान्तिघाटबाट वडिमालिकासम्मको १२ किलोमिटर सडक कालोपत्रे गर्न गएको पुसमा काम सुरु भएको थियो । निर्माण कम्पनीले स्र्काभेटरसहित ल्याएर काम सुरु भएको र सुरुमा साँघुरो सडकलाई फराकिलो गर्ने बताएको थियो । औपचारिक शिलान्यास भएको छ महिना पुग्दासम्म पनि कुनै पनि काम भएको छैन । निर्माण कम्पनीले काम गर्ने भन्दै अग्रिम भुक्तानी (पेश्की)वापत चार करोड ४० लाख भुक्तानी लिइसकेको पूर्वाधार विकास कार्यालय कालीकोटले जनाएको छ । कार्यालयका इन्जिनियर लक्ष्मणप्रसाद पाण्डेले निमार्ण कम्पनीलाई यही जेठ ३ गते पत्राचार गरेर साईडमा आएर काम गर्न निर्देशन गरेको जानकारी दिनुभयो । निर्माण कम्पन्नी केएस शनिदेव जेभिले सडक कालोपत्रेका लागि २०७८ साल असार ३ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले २५ करोड ५५ हजारमा सम्झौता गरेको थियो । ठेक्का सम्झौता भएको एक वर्ष पुग्दा सम्म एक प्रतिसत पनि माम भएको छैन ।
चाँदनी आचार्यघोडाघोडी (कैलाली), जेठ १९ गते । कैलालीस्थित इलाका प्रहरी कार्यालय सुखडबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । बुधबार स्वास्थ्य परीक्षण गरेर फर्किने क्रममा घोडाघोडी नगरपालिका २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभएको छ ।१४ जेठमा पाण्डेसहित अन्य दुई जनालाई प्रहरीले आगूऔषधसहित पक्राउ गरेको थियो । उपचार गरेर फर्किने क्रममा फरार रहेका पाण्डेको खोजी जारी रहेको प्रहरी प्रमुख शाहीले बताउनुभयो ।
रेखीराम रानापाल्पा, जेठ १९ गते । जिल्लाको नौवटा पालिकामा कार्यपालिका बनेको छ । जिल्लाको तानसेन, रामपुर, माथागढी, निस्दी, पूर्वखोला, बगनासकाली, तिनाउ, रिब्दीकोट र रैनदेवी छहरा गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । जिल्लाको तानसेन नगरपालिकाको कार्यपालिकाका लागि ८ जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । योसँगै तानसेन नगरपालिकामा २४ जनाको कार्यपालिका बनेको छ । रामपुर नगरपालिकामा आठजना कार्यपालिका निर्वाचित भएपछि २० जनाको कार्यपालिका बनेको छ । तानसेनमा गठनबन्धनमा आबद्ध काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट उम्मेदवार बनेकाहरू कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट लक्ष्मी नेपाल, सविता भट्टराई, पूजा रावल, दिनेश गन्धर्व र अनुराम दाम, नेकपा माओवादी केन्द्रबाट मञ्जु विक र लक्ष्मी विक तथा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जय घले रहनुभएको छ । २४ सदस्यीय कार्यपालिका रहेको तानसेन नगरपालिकामा नेपाली काँग्रेसबाट १७ जना, नेकपा माओवादी केन्द्रबाट दुई जना, नेकपा एमालेबाट चार जना र नेकपा एकीकृत समाजवादीबाट एक जना रहनुभएको छ । यस्तै, रामपुरमा काङ्ग्रेसको एकल बहुमत कार्यपालिका बनेको छ । निस्दी र पूर्वखोला, माथागढी र बगनासकालीमा एमालेका उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यस्तै तिनाउ, रिब्दीकोट र रैनादेवी छहरामा गठबन्धनमा आबद्ध दलबाट उम्मेद्वार बनेकाहरू कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । जिल्लाको रम्भामा भने अहिलेसम्म कार्यपालिका सदस्यको निर्वाचन भएको छैन ।
नविन शाही सुर्खेत, जेठ १९ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तागठबन्धन दलहरुबीच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुने बताउनुभएको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई बधाई ज्ञापन गर्न सुर्खेत आउनुभएका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै दलहरुबीच चुनावी समीक्षाबाट आत्मालोचना भएकाले आगामी निर्वाचनमा पनि तालमेल हुने बताउनुभएको हो । ‘अहिलेको गठबन्धनबीच सम्बन्ध रहिरहन्छ । यस बाहेकको गठबन्धन हुने विकल्प छैन ।’ अध्यक्ष नेपालले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच कहिँकतै असहयोग भए तर सम्बद्ध दलहरुले आत्मालोचना गर्नुभएको छ । त्यसैले पनि प्रदेश र संघको निर्वाचनमा तालमेल कायम रहन्छ ।’अध्यक्ष नेपालले गठबन्धन सरकारले जनभावनाअनुसारको नीति कार्यक्रम र बजेट ल्याएको बताउनुभयो । ‘संसद बन्द गरी बजेट ल्याएको भए चुनावी बजेट भन्न सकिन्थ्यो । यो चुनावी बजेट होइन । चुनावको बेला परेको बजेट हो ।’ अध्यक्ष नेपालले भन्नुभयो, ‘गठबन्धन सरकारले उठाएका कुरामा हामी उत्साहित छौं । सरकारले जनभावनालाई अधिकतम समेटेर नीति कार्यक्रम बजेट ल्याएको छ ।’स्थानीय तह निर्वाचनमा नेकपा एकिकृत समाजवादी पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको बताउनुभयो । ‘कतिपय स्थानमा योग्य, सक्षम, अनुभवी र लोकप्रिय व्यक्ति उम्मेदवार विजय भएकाले गर्व गर्न लायक सफलता प्राप्त भएको निष्कर्ष निकालेका छौं’ अध्यक्ष नेपालले भन्नुभयो, ‘निर्वाचित जनप्रतिनिधीले आफ्नो योग्यता र प्रभावकारिता देखाउँदै आफ्नो पालिकालाई नमूना पालिका बनाउन पार्टीले उहाँहरुलाई प्रशिक्षित र उत्प्रेरित बनाउने छ ।’स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह अस्पष्ट हुँदा मत बदर भएकाले आफ्नो पार्टीले धेरै सीट गुमाउनु परेको अध्यक्ष नेपालले बताउनुभयो ।
अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा बिहीहबार विहानै स्वर्गीय राजा वीरेन्द्रको शालिक स्थापना गर्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ । राजा समर्थित नेपालगञ्जका युवाले एकाविहानै चोकमा शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको थियो ।
जिल्ला अदालत काठमाडौँले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिनेगरी भएको अन्तरकालीन आदेश बदर गरेको छ ।
काठमाडौं, जेठ १८ गते । भक्तपुर जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका बुधबार सार्वजनिक भएको छ । भक्तपुर मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जेठ १९ गते बिहीबार बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। शुक्रबार बिहान १० बजे अपरान्ह ५ बजेसम्म मतदाता नामावली सच्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिइनेछ । साँझ छ बजेसम्म संशोधित मतदाता नामावली प्रकाशन हुनेछ । जेठ २१ गते मतदाताको विरोधमा उजुरी दिने, २२ गते बिहान १० देखि ५ बजेसम्म मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र साँझ छ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।२३ गते बिहान १० देखि ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र साँझ छ बजे मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन हुनेछ ।२४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २५ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने र ५ बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । जेठ २६ गते उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । जेठ २८ गते बिहान १० देखि ५ बजेसम्म मतदान हुनेछ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारीले मतदान कार्य सम्पन्न भएपछि यथाशून्य मतगणना गरेर परिणाम घोषणा हुने बताउनुभएको छ ।
बुद्ध राई र आकार थापाको जोडी पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा पहिलो हुनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाण र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठबीच वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउने विषयमा देखिएका समस्या समाधानबारे छलफल भएको छ ।