• २९ वैशाख २०८१, शनिबार

सगरमाथा आरोही कार्कीलाई सम्मान

blog

मकवानपुर, छतिवनका विक्रम कार्की सम्मानित भएपछि पालिका अध्यक्ष, उपाध्यक्षलगायतसँग ।

राममणि दाहाल 

हेटौँडा, जेठ २१ गते । मकवानपुर जिल्लाका पहिलो सगरमाथा आरोही विक्रम कार्की आफ्नै गाउँमा सम्मानित हुनुभएको छ ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका ४ का कार्कीलाई बकैया गाउँपालिकाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी पालिकाको नाम उच्च बनाएको र प्रतिष्ठा बढाएको भन्दै शुक्रबार पालिकामा कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । 

पालिका अध्यक्ष धर्मराज लामिछाने, उपाध्यक्ष भक्तबहादुर खत्री र पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । 

कार्कीसहितको नौ जना नेपाली र एक जना भारतीय नागरिक गरी दस जनाको समूहले सगरमाथाको सफल आरोहण गरेका थिए ।

लामो समयदेखिको सगरमाथाको चुचुरोमा पाइला राख्ने आफ्नो लामो समयदेखि इच्छा जेठ ७ गते शनिबार बिहान ११ः२२ मा पूरा भएको आरोही कार्कीले बताउनुभयो । आधार शिविरबाट हिँडेको चौथो दिनमा सगरमाथाको चुचुरोमा नेपालको झण्डासहित पुग्न सफल कार्कीले यसअघि आधा दर्जन हिमालको आरोहण गरिसक्नुभएको छ ।

जेठ २ गते सगरमाथाको सर्वोच्च शिखरमा पाइला टेक्ने लक्ष्यसहित तयारी गरेर काठमाडौँबाट निस्किएको कार्कीको टोलीमा गएका दीपक महतको मृत्यु भएपछि आरोहण समय लम्बिएको थियो ।

माउण्टेरिङ, रक क्लाम्बिङ, हिमालमा जोखिममा परेकाको उद्धार, क्यानोनिङ, प्राथमिक उपचार, स्किलगायतका प्रशिक्षण लिनुभएका कार्कीले गाइडको कामसँगै काठमाडौँमा ट्रेकिङ व्यवसाय गर्दै आउनुभएको छ ।