कपिल ज्ञवालीसिद्धार्थनगर, जेठ २३ गते । रुपन्देहीको रोहिणीमा आइतबार भएको बस दुर्घटनाका मृतक नौ जनाकै सनाखत भएको छ । मृतक सबैको शव परिवारले बुझेका छन् ।जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रबाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जनामध्ये एक महिला र ८ जना पुरुषको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताउनुभयो । दुर्घटनामा परेर मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, तिलोत्तमा–२,योगीकुटीका ५६ वर्षका विष्णु पौडेल, रुपन्देही ओमसतिया गाउँपालिका–४ का ६५ वर्षका राजेन्द्र्रसाद पाण्डे, तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षकी तुलसी बस्याल, रौतहट चन्द्रनिगाहपुरका २० वर्षका दिनेश दास छन् ।त्यस्तै, बुटवल उपमहानगरपालिका–६ आदर्शनगर बस्ने ४० वर्षका अरविन्द शर्मा, ५० वर्षका नागेन्द्र शर्मा, महोत्तरी पिप्रहवा– ५का ३० वर्षका चन्दन यादव र सीतामढी भारतका ४५ वर्षका सञ्जय गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइते सबैको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते २३ जनामध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते दुई जना डिस्जार्ज भएका छन् । घाइते २१ जनामध्ये १५ जनाको अवस्था गम्भीर र बाँकीको मध्यम रहेको प्रहरीले जनाएको छ ।चालक निदाएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख केशव केसीले बताउनुभयो ।
नेपालमा आइतबारदेखि मनसुन आएको छ । जल तथा मौसमविज्ञान विभागले यसअघि अनुमान गरेको मितिभन्दा आठ दिनअघि नै नेपालमा मनसुनको आएको हो । विभागले आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै नेपालको पूर्वी भूभागको प्रदेश १ हुँदै मनसुन भित्रिएको जनाएको छ । केही दिनभित्रै देशका सबै भूभागमा मनसुन प्रवेश गर्ने अनुमान विभागले गरेको छ ।
नयाँदिल्ली, जेठ २२ गते । भारत शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको थियो । गत मार्च ११ मा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार १९४ पुगेको थियो । गत शुक्रबार चार हजार ४१ जनामा कोरोना सङ्क्रमण भएको थियो । त्यसपछि कोरोनाको सङ्क्रमितको सङ्ख्या घट्दै गएको थियो । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २४ हजार ५२ रहेका छन् । यो भारतमा हाल सम्म भएका कोरोना सङ्क्रमितको १.०३ प्रतिशत भएको जनाइएको छ । शनिबार मध्यरातिसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ६१९ जनालाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड २६ लाख २८ हजार ९३ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७३ प्रतिशत रहेको छ । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड २६ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५३ लाख ५८ हजार ८६५ हजार खोप लगाइएको छ ।
बेइजिङ [चीन], जेठ २२ गते । चीनले होनियारामा सैन्य आधार निर्माण गर्ने आफ्नो कुनै मनसाय नभएको दाबी गरे पनि गोप्य कागजातले सोलोमनमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने चीनको मनसायको पर्दाफास गर्दै उल्टो चित्र चित्रण गरेको दाबी गरिएको छ । हालै लिक भएको गोप्य दस्तावेजले सो कुरा पुष्टि गरेको छ जुन चिनियाँ विदेश मामिला मन्त्री वाङ यीले दक्षिण प्रशान्त महासागरका आठ देशको भ्रमण गरेपछि बाहिर आएको हो । चिनियाँ विदेशमन्त्रीले दुई देशबीचको सम्झौताको उद्देश्य सोलोमन टापुलाई आफ्नो प्रहरी बलको कानून कार्यान्वयन गर्ने क्षमताको स्तरवृद्धि गर्न मद्दत गर्नु रहेको बताएका छन्। यसबाहेक, वाङले भने यो सम्झौताले "सोलोमन टापुहरूलाई यसको प्रहरी र कानून प्रवर्तन क्षमताहरू सुधार गर्न र सोलोमन टापुहरूलाई यसको सामाजिक सुरक्षालाई अझ राम्रोसँग सुरक्षित गर्न सहयोग गर्ने उद्देश्य राखेको छ।" यद्यपि, यो मुद्दाले अझै पनि अष्ट्रेलिया, साथै युरोप र अमेरिकामा चिन्ता बढाएको छ। सोलोमन टापु चीनको योजनाको पहिलो लक्ष्य होइन। यसअघि सन् २०१७ मा चीनले पूर्वी अफ्रिकी राष्ट्र जिबूतीमा आफ्नो पहिलो विदेशी बेस स्थापना गर्यो् र आफ्ना दुई प्रमुख सुरक्षा साझेदारहरू, रूस र पाकिस्तानसँग नियमित सैन्य तालिम आदानप्रदान गरेको ताइपेई टाइम्सले उल्लेख गरेको छ। विगत केही वर्षदेखि चीनले "सार्वजनिक सुरक्षा र प्रहरी आदानप्रदान" को नाममा अफ्रिका, मध्य र दक्षिण अमेरिका र दक्षिणपूर्वी एसियाका विकासोन्मुख देशहरूमा कानून प्रवर्तनलाई तालिम दिइरहेको छ। विकासशील देशहरूमा चिनियाँ अधिकारीहरूको उपस्थितिले यस क्षेत्रमा बेइजिङको प्रभाव र प्रवेशको पहुँच लाई पुष्टि गरेको ताइपेई टाइम्सले जनाएको छ। चीनले आफ्ना सेना र प्रहरी इकाइका सदस्यहरूलाई सल्लाहकारको रूपमा पठाउँने र "चिनियाँ विशेषताहरू सहितको कानून प्रवर्तन र सुरक्षा सहयोग" को अन्तरराष्ट्रिय प्रणाली स्थापना गर्ने बताएको छ । प्रकाशनका अनुसार दक्षिणपूर्वी एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा चीनको उपस्थितिले उनीहरूको सुरक्षामा खतरा पैदा गर्छ र त्यसमा संलग्न देशहरूको सार्वभौमसत्तालाई खलल पुर्याटउँछ। चीनले विदेशी गुप्तचर भेला गर्न संलग्न उपकरणहरू पनि प्रयोग गर्न सक्छ जुन विश्वव्यापी लोकतन्त्रको उल्लङ्घन हो ।
गोरखापत्र समाचारदाताकाठमाडौँ, जेठ २२ गते । अन्तर्राष्ट्रिय जलरंग समाज (आइडब्लूएस) नेपालको आयोजनामा ‘पोखरा आर्ट क्याम्प’ गरिने भएको छ । भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म पोखरामा हुने कला कार्यशालामा विश्वका ख्यातीप्राप्त कलाकारसहित नेपाली कलाकारको सहभागिता हुनेछ । ‘पोखरा घुमेर प्राकृतिक सौन्दर्यलाई चित्रण गरौं’ नारालाई सार्थक तुल्याउँदै नेपाल, भारत, बङ्गलादेश र इरानका कलाकारले आ–आफना अनुभूतिलाई क्यानभासमा उतार्नेछन् । आइडब्लूएस नेपालले पत्रकार सम्मेलन गरी सो कार्यशालाबारे जानकारी दिएको हो । कार्यशालामा सामूहिक कला सिर्जना, कलाको प्रत्यक्ष चित्रण र सिकाई तथा पोखराको रमणीय स्थानको भमण गरी कलामा चित्रण गरिने जनाइएको छ । आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले भन्नुभयो, “कार्यशालाले नेपाली प्राकृतिक सौन्दर्यलाई विश्व कला माझ अझ बढी चिनाउन मद्दत पुर्याउने छ ।”उहाँका अनुसार आइडब्लूएसले यसअघि घान्द्रुक र लुम्बिनीमा अन्तर्राष्ट्रिय कला कार्यशाला गरिसकेको छ ।
सिराज खान नेपालगञ्ज, जेठ २२ गते । डेढ दशक भन्दा अघि सशस्त्र द्वन्द्वका बेला बन्द गरिएका छोटी भन्सार कार्यालयहरु अझै पुनःस्थापना नहुँदा बाँकेका विभिन्न नाकाहरुबाट अवैध आयातनिर्यात बढेकाले दैनिक ठूलो परिमाणमा राजस्व चुहावट भैरहेको छ । जिल्लाका विभिन्न नाकामा स्थापना गरिएको सात वटा छोटी भन्सार कार्यालयहरु सशस्त्र द्वन्द्वका बेला बन्द गरिएकोमा हालसम्म पनि पुनः सञ्चालनमा नल्याइएकाले ती नाकाहरु अवैध आयात निर्यातको केन्द्र बन्दै गएका छन् । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार बाँकेको सुइया बगौडास्थित कटकुइया, नरैनापुर, भगवानपुर, खडैचा होलिया, हिरमिनियाको भघोटना, साई गाउँ र साइगाउँ पश्चिमतर्फको उढरापुर नाकामा छोटी भन्सार कार्यालय रहेका थिए । तर, लामो समयदेखि कार्यालय पुनःस्थापना नहुँदा अधिकांश छोटी भन्सार कार्यालयका भौतिक संरचनाहरु काम नलाग्ने गरी जीर्ण भएका छन् । नरैनापुर, खडैचा, साई गाउँमा छोटी भन्सार रहेका भवन अहिले भत्किएर काम नलाग्ने अवस्थामा पुगेको भन्सार कार्यालयले जनाएको छ । गाउँको बाटोबाट भित्रिने मालसामानको भन्सार गर्ने छोटी भन्सार पुनः स्थापना नगरिँदा भारतसँग सीमा जोडिएका गाउँको बाटोबाट खुलेआम तस्करी हुने गरेको स्थानीयको भनाइ छ । छोटी भन्सार नभएका नाकाबाट पैदल, मोटरसाइकल र साइकलमा राखेर दैनिक ठूलो परिमाणको मालसामान राजस्व छलेर नेपाल भित्रिने गरेको प्रत्यक्ष देखिएको उहाँहरुको भनाइ छ । बाँकेको सीमाना भारतसँग ६५ किलोमिटर खुला रहेको छ । साइड नाकाहरुमा नेपाली सुरक्षाकर्मीको पातलो उपस्थिति रहेकाले भन्सार छली निकै हुने गरेको नरैनापुरका स्थानीय दिलसाद खाँले बताउनुभयो । उहाँले छोटी भन्सार नहुँदा अवैध आयात निर्यात लामो समयदेखि भैरहेको र राज्यलाई लाखौंको नोक्सानी भैरहेको बताउनुभयो । छोटी भन्सार नहुँदा राजस्व चुहावट लामो समयदेखि हुँदै आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले पनि बताउनुभएको छ । उहाँले छोटी भन्सार पुनस्थापनाका लागि पटक पटक आग्रह गरिए पनि सुनुवाई नभएको बताउनुभयो । सरकारले नीति तथा कार्यक्रममा पनि छोटी भन्सार सञ्चालन गर्ने उल्लेख गरेको वर्षौं बिते पनि अझैसम्म कार्यान्वयनमा आएको छैन । विभिन्न कारणले चालू आर्थिक वर्षको १० महिनामा लक्ष्यभन्दा दुई अर्ब कम राजस्व संकलन भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालू आर्थिक वर्षको १० महिनामा २० अर्ब ७३ करोड ४४ लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १८ अर्ब ८२ करोड ९४ लाख रुपियाँ मात्र संकलन भएको छ ।
नेवाः (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नखः भिन्न तरिकाले मनाइन्छ । नेवाः जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक रूपमा याे पर्व मनाइन्छ ।
विष्णुप्रसाद पोखरेलदमक, जेठ २२ गते । झापाको मेचीनगर नगरपालिकामा आइतबार विहान एक इलेक्ट्रोनिक्स पसलमा आगलागी भएको छ । मेचीनगर–१० धुलाबारीमा रहेको न्यू पाथीभरा भेराइटिज स्टोरमा विहान १० बजेतिर शुरु भएको आगलागी मध्यान्ह १२ बजे नियण्त्रणमा आएको प्रहरीले जनाएको छ ।स्थानीय व्यवसायी ज्योति कोइराला सञ्चालन गर्नुभएको उक्त पसलमा विद्युत सर्ट भई आगलागी भएको र करिब एक करोडको क्षति भएको बताइएको छ । इलाका प्रहरी कार्यालय धुलाबारीकाअनुसार आगलागी नियत्रणका लागि मेचीनगर, भद्रपुर, दमक र विर्तामोड नगरपालिकाको दमकल बोलाइएको थियो ।पसलमा रहेका फ्रिज, इन्डक्सन, राइस कुकर, प्रेसर कुकर, हिटर, कुलरलगायतका सम्पूर्ण सामानहरु जलेर खरानी भएको बताइएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । बजारको बीच भागमा आगलागी भएका कारण स्थानीय व्यवसायीहरु त्रसित हुनुभएको थियो ।
अमरराज नहर्की तनहुँ, जेठ २२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताले अनुभूति गर्ने खालका काम गर्न जरुरी रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्राथमिकीकरण अभ्यास कार्यशालाको उद्घाटन गर्दै नेता पौडेलले, विगतका भन्दा राम्रो कार्य गरेर जनताको मन जित्न ध्यान दिनुपर्ने बताउनुभयो । ‘जनताको माग र आवश्यकतालाई सर्वोपरी थानी जनप्रतिनिधिहरुले अहोरात्र खटेर काम गर्नुपर्छ’ वरिष्ठ नेता पौडेलले भन्नुभयो । जनताको इच्छाअनुसारको काम गर्न सके मात्रै जनप्रतिनिधिहरुको हाइहाइ हुने उहाँको भनाइ थियो । । ‘जनप्रतिनिधिहरु शासक हैन, जनताका सेवक बन्नुपर्छ’ नेता पौडेलले भन्नुभयो । साथै, वरिष्ठ नेता पौडलेले जनताको आम्दानी वृद्धि हुने र रोजगारी सिर्जना हुने योजना बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
अर्जुन काफ्ले स्याङ्जा, जेठ २२ गते । पुतलीबजार नगरपालिका –३ कुमाल गाउँमा रहेको स्याङजा जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना भएको छ । पुतलीबजार नगरपालिकाको प्रारम्भिक आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी, स्याङ्जा शाखाको पहलमा रक्तदान कार्यक्रम गरी केन्द्र स्थापना गरिएको हो । पुतलीबजार नगरपालिकाको पहिलो बैठकको अस्पतालमा मिगौला डायलासिस सेवालाई विस्तार र रक्तसंचार केन्द्र स्थापना गर्ने निर्णयअनुसार केन्द्रको स्थापना गरिएको हो । नगरपालिकाले प्रारम्भिक कामको लागि १० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेसँगै केन्द्रको स्थापना र डायलासिस सेवा विस्तारमा सहयोग पुगेको हो । १२० पिन्ट रगत भण्डारण क्षमताको केन्द्रको पूर्ण सञ्चालनमा करिब २६ लाख लाग्ने नेपाल रेडक्रस सोसाइटीका सभापति दिनेश अर्यालले बताउनुभयो । रगत अभावका कारण यसअघि केन्द्र बन्द भएको स्मरण गर्दै रक्तदाता, सरोकारवाला र स्थानीय तहबाट सहयोग आवश्यक रहेको अर्यालले बताउनुभयो । रक्तसञ्चार केन्द्र स्थापनाका क्रममा गरिएको रक्तदातामा दिनेश अर्याल र महादेव श्रेष्ठले १९ औँ पटकसहित जम्मा १७ जनाले रक्तदान गर्नुभएको थियो । जिल्ला अस्पतालमा केन्द्र स्थापनासँगै रगतको अभावमा उपचारको लागि काठमाडौँ जानुपर्ने बाध्यताको अन्त्य भएको छ । कार्यक्रममा पुतलीबजार नगरपालिका प्रमुख तुलसीराम रेग्मीले रक्तदाता महादेब श्रेष्ठलाई ब्लडब्याग हस्तान्तरण गर्दै शुभारम्भ गर्नुभएको थियो । स्वास्थ्य नागरिकको लागि महत्वपूर्ण पक्ष भएको र अस्पतालका विरामीले रक्त अभावका कारण भोग्नुपरेको समस्यालाई मध्यनजर गरी रक्तसञ्चार केन्द्र स्थापना गर्न पहल गरेको रेग्मीले बताउनुभयो । अस्पतालको समग्र विकासमा हातेमालो गर्ने बताउँदै रेग्मीले अस्पालको हरेक समस्यामा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
गोरखापत्र अनलाइन काठमाडौं, जेठ २२ गते । नेपाली सेनाले छ दिने रक्षा सम्वाददाता अभिभुखिकरण कार्यक्रम शुभारम्भ गरेको छ । पोखराको विजयस्थित श्री मध्य कमाण्ड हेड क्वाटरमा सो कार्यक्रमलाई कमाण्ड सेनापति उपरथी बावुराम श्रेष्ठले शुभारम्भ गर्नुभएको हो ।सो कार्यक्रममा विभिन्न सञ्चारगृहका पाँचजना महिलासहित २५ जना रक्षा सम्वाददाताहरुलाई समाचार सम्पे्रषण गर्न सहज होस् भनेर नेपाली सेनाको सांगठनिक स्वरुप, भूमिका तथा नेपाली सेनाको काम, कर्तव्य र जिम्मेवारीलगायतका विषयवस्तुमा प्रशिक्षण दिइनेछ । यस्तै, विषयवस्तुसहित प्रशिक्षार्थीहरुलाई तनुहुँ हाइड्रोपावर, पोखरास्थित शान्ति स्तुपा, पाल्पास्थित पाल्पा संग्रहालय, लुम्बिनी भ्रमण तथा बुटवलस्थित जितगढीको फिल्ड भिजिट गराउने योजना रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नारद कोहारतौलिहवा, जेठ २२ गते । कपिलबस्तुको विजयनगरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका १ का ४५ वर्षीय जोकबहादुर खन्गाहा रहेको कपिलबस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो । खन्गाहाको शनिबार साँझ माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको उहाँले बताउनुभयो ।माछा मार्न खोलामा गएका खन्गााहालाई खोलामा डुबेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खन्गाहाको शवलाई पोस्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज लगिएको छ ।शवलाई पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।
गाेरखापत्र अनलाइनकाठमाडाैं, जेठ २२ गते । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सम्पन्न भएको छ । बैठक प्रचण्ड निवास खुमलटारमा विहान बसेको हो । बैठकमा समसामायिक विषयवस्तु, पार्टी सगंठन र केन्द्रीय कार्यालयको विस्तारबारे कुराकानी भएको माओवादी केन्द्रको बागमति प्रदेशका इञ्चार्ज हितमान शाक्यले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
कैलाश लामा चरिकोट, जेठ २२ गते । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर–५ सुरी स्थित काप्ती विकड गाउँमा विगत नौँ वर्षदेखि यहाँका किसानहरुले मौरीपालन व्यवसाय गर्दै आएका छन् । भौगोलिक विकटताले सदरमुकाम चरिकोटबाट दुई दिनसम्म हिँडेर पुग्नुपर्ने यस गाउँमा हालसालै कच्ची सडक पुगेकाले महलाई बजारसम्म पु¥याउन सजिलो भएको छ ।अधिकांश गुरुङ बस्तीमा आयआर्जनका लागि गाई, भैंसी, बाख्रालगायतका पशुपालन गरेता पनि मुख्य रुपमा चौरी र भेडापालन गरिन्छ । तर सुरुसुरुम एकदुई वटा काठको डुडमा परम्परागत रुपमा मौरी पालन गरेता पनि हाल आधुनिक घारमा मौरीपालन गरिँदै आएको छ ।सिकर्मी काममा पोख्त रहेका काप्ती गाउँका विशाल खड्का (रामकुमार)ले मौरीको आधुनिक घार निर्माण गारी जंगलको रुखको टोड्कोमा बस्ने मौरीलाई घारमा राखेर मौरी उत्पादन गर्न थालेपछि हाल यस गाउँका अधिकांशले घरायसी प्रयोज मात्र नभएर व्यवसायिक रुपमा समेत मौरी पालन गर्न थालेका छन् ।वनजंगलको रुखको टोड्कोमा रहने मौरीलाई झोलामा ल्याएर घारमा राखी मौरी उत्पादन गर्न थालेका उहाँकोमा हाल एक सय २० घार मौरी छन् । हाल घारबाटै मौरी उत्पादन गरी बेच्ने गरेको उहाँले बताउनुभयो ।‘वार्षिक सात सयदेखि एक हजारसम्म मौरी घार बेच्ने गरेको छु ।’उहाँले भन्नुभयो, ‘एक घारमा एपि सेरेना जातको २५ हजारसम्म मौरी र एउटा रानी हुन्छ ।’ मौरी नभएको घारको तीन हजार पाँच सय र मौरीसहितको घारलाई दस हजार रुपियाँ लिने गरिन्छ ।मौरी घार निर्माणका लागि घर नजिकै फर्निचर स्थापना गरी एक जना सिकर्मीलाई मासिक तलबमा राखिएको छ भने, श्रीमती निरुता गुरुङ खड्का र आफूसमेत लागि परेको विशाल बताउनुहुन्छ ।मह उत्पादन भन्दा पनि मौरीसहितको घार नै विक्री गर्दा वार्षिक सातदेखि दस लाख रुपियाँसम्म आम्दानी हुने बताउँदै उहाँले भन्नुभयो ‘हाल मौरीको माग प्रशस्तै छ, तर पु¥याउन सकेको छैन ।’रोजगारीको सिलसिलामा २०६२ सालमा मलेसिया पुग्नुभएका विशालले करिब ४ वर्ष विदेशमा बिताउँदा पनि वार्षिक एक लाख बचाउन नसकेपछि गाउँमै फर्केर सिकर्मी काममा लाग्नुभएको थियो ।गाउँघरमा परम्परागत रुपमा मौरी पाल्ने तरिकालाई आधुनिक र व्यावसायिक बनाउँदा पनि फाइदा हुने विश्वासमा २०७० साल फागुनदेखि मौरीपालनमा लाग्नुभएका उहाँले जंगलको मौरी संकलन गरी मौरी उत्पादन थाल्नुभएको हो ।हाल जिल्लाका अधिकांश क्षेत्रका मौरीपालक किसानले मौरी घार किनेर लाने गरेको उहाँ बताउनुहुन्छ । त्यसैगरी काठमाडौंलगायत जिल्ला बाहिरबाट समेत मौरी घारको माग हुने गरेको छ । हालसम्म उहाँले पाँच पटकसम्म मौरीपालन तथा उत्पादनसम्बन्धी तालिम लिनुभएको छ ।उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट २०७७ साल असोजमा ४० औँ विश्व खाद्य दिवसको अवसरमा उत्कृष्ट मौरीपालन गर्ने कृषकतर्फ राष्ट्रिय स्तरमा द्वितीय भई नगद आठ हजार रुपियाँ पुरस्कार समेत पाउनुभएको थियो ।
सर्लाहीमा पूर्व–पश्चिम हुलाकी सडक निर्माणको कामले गति लिन सकेको छैन । हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरले सर्लाहीमा सङ्ग्रामपुरस्थित बाँके खोलादेखि पश्चिमी भेग बलरास्थित बागमती नदीसम्मको हुलाकी सडक तीन खण्डमा ठेक्का लगाइ निर्माणको काम गराइरहेको छ ।