नेपालमा रासायजिक मल कारखाना स्थापनाको चर्चा चलेको पाँच वर्ष बितेको छ । तर, मल कारखानाको स्थापनाको सन्दर्भमा प्रगति भने शून्य छ । नेपालमा बाली लगाउने समयमा मलको अभाव झेलिरहेका किसानका लागि राहत होस् भनेर सरकारले रासायनिक मल कारखानाको स्थापनाको सपना देखे पनि प्रगति भने शून्य छ ।
शशिधर पराजुली विराटनगर, जेठ २५ गते । प्रदेश १ सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी आयात प्रतिस्थापनका लागि कृषिलाई उच्च प्राथमिकता राखेको नीति तथा कार्यक्रममा उल्लेख छ । सरकारले कृषि क्षेत्रको विकासको लागि प्रादेशिक कृषि विकास रणनीति तय गरी दीगो कृषि विकासको आधार तयार पार्न माटो परीक्षण र सुधार, उत्पादनको आधारमा किसानलाई सोझै अनुदान दिने, किसान परिचयपत्र वितरण गर्ने, प्राङ्गारिक मल उत्पादन र प्रयोग बढाउने, समन्वयका आधारमा एक पालिका एक उत्पादन कार्यक्रम लागू गर्ने जस्ता कार्यक्रमहरु अगाडि सार्ने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेश सरकारले उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धीत सेवालाई अनलाइनमार्फत् गर्ने घोषणा पनि गरेको छ । ठूला आयोजनालाई स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न वृहत लगानी सम्मेलन गर्ने, अन्तर्राष्ट्रियस्तरका प्रदर्शनीका औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने, घरेलु उद्योगको संरक्षण र विकासका लागि एक गाउँ एक उद्यमी कार्यक्रम थालनी गर्ने, उदयपुर सिमेन्ट कारखानाको क्षमता विस्तार गरी क्लिङ्कर उत्पादनमा जोड दिने र घरेलु मदिरा ब्राण्डिङ गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै, प्रदेशले भूउपयोग नीति ल्याएर कार्यान्वयन गर्ने, सहकारी शिक्षा नेतृत्व विकास, व्यवसायिक योजना र उद्यमशीलता विकासका तालिम सञ्चालन गर्ने तथा टोलटोलमा सहकारी घरघरमा रोजगारी अभियान चलाउने पनि कार्यक्रममा उल्लेख छ । यस्तै, सहकारीमार्फत सामूहिक खेती सञ्चालन गर्न अनुदान उपलब्ध गराउने सरकारको लक्ष्य छ ।पर्यटनको क्षेत्रमा पनि सरकारले सानादेखि ठूला कार्यक्रम घोषणा गर्ने जनाएको छ । पर्यटनलाई प्रवद्र्धनका लागि भ्रमण प्याकेज योजना कार्यान्वयनमा ल्याइने, पर्यापर्यटनमा आधारित पर्यटन क्षेत्रको विकास गर्ने, पदमार्गमा आधारित पर्यटन विकास आयोजनालाई प्राथमिकता दिने, मुन्धुम पर्यटन पदमार्ग निर्माणलाई पूर्णता दिने, किराँत संस्कृतिसँग जोडिएको सप्तकोशीको खुवालुङको संरक्षण गर्ने, विराटनगर विमानस्थलको विकास र स्तरोन्नति गर्ने, विराटनगरबाट माउन्टेन उडान तथा अन्तर प्रदेश उडान गर्न प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममार्फत् घोषणा गरिएको छ । यस्तै, सरकारले प्रादेशिक सडक यातायात गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने पनि उल्लेख गरेको छ । प्रदेशभित्रका ठूला नदीमा जलयातायात सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने, पर्यटकीय क्षेत्रमा जानका लागि केबुलकारका लागि प्रारम्भिक अध्ययन गर्ने, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र उदयपुरलाई राजधानी विराटनगरसँग छिटो जोड्न छोटो दुरीका लागि चतरा–घुर्मि सडक निर्माणका लागि संघीय सरकारसँगको सहयोगमा अगाडि बढाउने उल्लेख गरेको छ ।प्रदेशको स्थायी केन्द्रीय संरचना तयार पार्नका लागि विस्तृत प्रतिवेदन तयार गरी निर्माण कार्य अगाडि बढाउने, स्मार्ट सिटी तथा नमूना गाउँको पूर्वाधार निर्माणको लागि अगाडि बढाइने, विराटनगरको केशलिया र सिंघिया खोलामा तटबन्ध निर्माण गरी सौन्दर्यीकरण गर्ने आदि कार्यक्रमलाई सरकारले प्राथमिकताका साथ अगाडि सार्ने जनाएको छ । आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् पु¥याउने, एक घर एक धारा कार्यक्रम सञ्चालन गर्ने, मिडिया काउन्सिल गठन गरी सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने आदि कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । े
अविनाश चौधरीधनगढी, जेठ २५ गते । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि ल्याएको नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल जारी रहेको छ । बुधबार लगातार तेस्रो दिन पनि नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल गरिएको हो । छलफलमा भाग लिनुहुँदै निवर्तमान मन्त्रीसमेत रहनु भएका प्रदेश सभा सदस्य लालबहादुर खड्काले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको प्रतिक्रिया दिनुभयो । ‘यसमा केही कुरा छुटेका छन्, थपेर अझ राम्रो बनाउनुपर्छ’, उहाँले भन्नुभयो । प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि बढाउने कुरा अत्यन्त राम्रो रहेको उल्लेख गर्नुहुँदै खड्काले प्राविधिक विश्वविद्यालय सञ्चालन गर्ने गरी नीति आएको भए अझै राम्रो हुन्थ्यो भन्नुभयो । ‘किनभने, ऐन तयार छ । सहयोगीहरु पनि सहयोग गर्न तयार छन् । प्रदेश सरकारले सहमति पनि दिइसकेको छ’, उहाँले भन्नुभयो । यसैगरी, नीति तथा कार्यक्रमले मुक्त हलियालाई समेटे पनि कञ्चनपुरको आरक्ष पीडितलाई समेट्न नसकेको खड्काको भनाइ थियो । ‘१४ शिविरमा दुई हजार ४७३ आरक्ष पीडित छन्’, उहाँले भन्नुभयो । ‘आरक्ष पीडितले विभिन्न समस्या खेपिरहेकाले नीति तथा कार्यक्रममा उनीहरुका लागि केही कुरा आउनु पर्दथ्यो ।’यस्तै, अर्का प्रदेश सभा सदस्य महेशदत्त जोशीले सरकारले ल्याएको नीति तथा कार्यक्रम सुदूरपश्चिमको लागि निकै उपयुक्त रहेको बताउनुभयो । ‘यो धेरै वर्षसम्म चल्ने नीति तथा कार्यक्रम हो’, उहाँले भन्नुभयो । ‘असार १ गते आउने बजेटले नीति तथा कार्यक्रम अनुसारको कार्यक्रम गर्न पुग्दैन । १० वर्षसम्मै जाने नीति तथा कार्यक्रम हो ।’ उहाँले प्रदेशको ८८ वटै स्थानीय तहमा सरकारले होमस्टे सञ्चालन गर्ने गरी बजेट छुट्टयाउन आवश्यक रहेको औंल्याउनुभयो । यसैगरी, धार्मिक संस्थाहरुलाई पनि नीति तथा कार्यक्रमले समेटेको भन्दै जोशीले अगाडि थप्नुभयो–‘मठमन्दिर, चर्च, गुम्बा कसैको पनि लेखा प्रणाली छैन । प्रदेश सरकारले धार्मिक संस्थालाई बजेट विनियोजन गरेपछि त्यसमा सार्वजनिक सुनुवाइ हुने व्यवस्था गर्नुपर्छ ।’ धार्मिक संस्थाहरुमा रुपियाँ पैसाको कुनै लेखाजोखा नहुने गरेको उल्लेख गर्नुहुँदै उहाँले सकेसम्म नीति बनाएर यस्ता संस्थालाई लेखा प्रणालीमा ल्याउनु पर्नेमा जोड दिनुभयो । यसैगरी, ज्येष्ठ नागरिक आवास गृह बनाउनु पर्ने र रैथाने प्रजातिको बीउ संरक्षण गर्नु पर्नेमा उहाँले जोड दिनुभयो यस्तै, प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधित्व गरिरहनुभएका प्रदेश सभा सदस्य मालामति राना थारुले सरकारले ल्याएको नीति तथा कार्यक्रम योजनावद्ध रुपमा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । उहाँले विगतका विषयवस्तुलाई नै तोडमोड गरेर नीति तथा कार्यक्रममा राखिएको बताउनुभयो । ‘पहिलेकै विषयहरुलाई तोडमोड गरेर नीति तथा कार्यक्रम ल्याइएको छ’, रानाले भन्नुभयो । ‘घुमाउरो पारामा शंसोधन गरी आएको नीति तथा कार्यक्रम दीर्घकालीन हुन सक्दैन ।’ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा युग सुहाउँदो विकासको कुरा एक प्रतिशत पनि नरहेको उहाँको आरोप थियो । नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्यहरु दुर्गाकुमारी कामी, माया भट्ट, कुन्ती जोशी, मालामति राना, दिव्यश्वरी शाह, अर्चना गहतराज, कुमारी नन्दा बम माया बोहरा तामाङले भाग लिनुभएको थियो ।
नागेन्द्रकुमार कण महोत्तरी, जेठ २५ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको जनमत विभाजन हुन नदिन आफू अगाडि बढ्ने बताउनुभएको छ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नवनिर्वाचित पदाधिकारीहरुलाई गरिएको सम्मान कार्यक्रममा बोल्नुहँदै उहाँले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)लाई मधेशको जनमत विभाजन हुन नदिनको लागि स्पष्ट हुन आग्रह गर्नुभयो ।उहाँले मधेश र मधेशीको लागि छाती चौडा गरेर आउन आग्रह गर्नुहुँदै आगामी निर्वाचनमा एकजुट भयौं भने मधेशको जनमतको सम्मान समेत हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अरुले के दिन्छ, दिँदैन तथा यसले मधेशलाई के फाइदा वा बेफाइदा हुन्छ, स्पष्ट भएर आउन म लोसपा पार्टीलाई आग्रह गर्न चाहन्छु ।’विगतमा मधेशको जनसंख्या ४६ प्रतिशत रहे पनि अहिले ५३ प्रतिशत जनसंख्या भएकाले सोही अनुपातमा निर्वाचन क्षेत्र कायम हुनुपर्ने बताउनुभयो । नागरिकता अभावमा लाखौं जनता मताधिकारबाट बञ्चित हुनुपरेको जानकारी दिनुहुँदै उहाँले सदनबाट नागरिकता विधेयक पारित गरेर नागरिकता वितरण गरिन् कुरामा जोड दिनुभयो । उहाँले संघीयतालाई फेल गराउन प्रतिगमनकारी शक्तिहरु लागिपरेको बताउनुहुँदै उहाँले सचेत हुन सबैमा आग्रह गर्नुभयो ।
शिवराज ढुंगाना मंगलसेन, जेठ २५ गते । मृतक पक्ष र प्रहरीबीचमा सहमति भएपछि पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको पाँच दिनपछि शवको परीक्षण हुने भएको छ । शव परीक्षण, किटानी जाहेरी दर्ता र अनुसन्धान गर्नेमा मृतकका दाजु डम्बरबहादुर शाही र अछाम प्रहरीका प्रहरी निरीक्षक कैलाश विष्टबीचमा सहमति पत्रमा हस्ताक्षर भएपछि शव उठाउन पीडित पक्ष सहमत भएको हो । मृतका आफन्त र प्रशासनबीच शवको परीक्षण गर्ने, घटनाको छानबिन गर्ने र आवश्यकताअनुसार कानूनी कारबाहीको प्रक्रिया अघि बढाउने विषयमा सहमति भएपछि शव उठाउन लागिएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।प्रहरीले किटानी जाहेरी नलिएको भन्दै पीडित पक्षले शवको परीक्षण गर्न नमानेपछि हराएको सात र मृत फेला परेको चौंथो दिनमा विनोदको शव घटनास्थलमै रहेको थियो । हत्याराको कानूनी कार्वाहीको सुनिश्चितता नभएसम्म शव उठान पीडित पक्ष सहमति भएको थिएन । कार्वाही गर्न सभामुखको निर्देशन सभामुख अग्निप्रसाद सापकोटाले पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानका १६ वर्षीय विनोद शाहीको घटनाका दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिनुभएको छ । बुधबारको प्रतिनिधिसभामा बैठकमा घटनाका बारेमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाल सरकारलाई कार्वाही प्रक्रिया अघि बढाउन सभामुखले निर्देशन दिनुभएको हो ।
मस्को, जेठ २४ गते । रुसी रक्षामन्त्री सर्गेई शोइगुले मस्कोका सेनाले युक्रेनको पूर्वमा पर्ने प्रमुख शहर सेभेरोडोनेत्स्कका आवासीय क्षेत्रको पूर्ण नियन्त्रणमा लिएको मङ्गलबार बताएका छन् । पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रमा अझै पनि युक्रेनी अधीन रहेको सबैभन्दा ठूलो शहर सेभेरोडोनेत्स्क - हालैका हप्ताहरूमा लडाइँको केन्द्रबिन्दु बनेको छ । "सेभेरोडोनेत्स्क शहरका आवासीय क्षेत्रहरू पूर्ण रूपमा मुक्त गरिएको छ," शोइगुले रक्षा मन्त्रालयको बैठकमा टेलिभिजन टिप्पणीमा भनेका छन् । रुसी सेनाले अझै पनि शहरको "औद्योगिक क्षेत्र र निकटतम बस्तीहरू" मा आफ्नो नियन्त्रण स्थापित गर्न खोजिरहेको उनले थपेका छन्। राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएदेखि रूसी सेनाले देशको पूर्वमा महत्त्वपूर्ण लाभहरू हाँसिल गरेको बताइएको छ । रुसी सेनाले अहिले पूर्वी युक्रेनी बन्दरगाह शहर मारिउपोललाई नियन्त्रणमा लिएको छ जुन द्वन्द्व अघि देशको दोस्रो व्यस्त शहर थियो । "मारिउपोल बन्दरगाहको उत्खनन पूरा भएको छ । यो सामान्य रूपमा सञ्चालन भइरहेको छ र पहिलो कार्गो जहाजहरू स्वीकार गरेको पनि शोइगुले भनेका छन् । मस्कोको आक्रमण सशुरु भएयता ६ हजार ४८९ युक्रेनी सैनिकले रुसी सेनासमक्ष आत्मसमर्पण गरेको शोइगुले बताएका छन् ।
जीवन खत्रीसउल, जेठ २४ गते ।सोई ढोले सोई अर्को ढोले खोई... सोई सोई ला हो हुर्रा हा हा... चार सयभन्दा बढी नेपाली युवाले ढोलक र झ्याम्टाका तालमा ताल मिलाउँदै गाउँदै नाच्दै, झण्डै पाँच घण्टा दक्षिण कोरियामा धुलो उडाए । सन्दर्भ थियो किराँतीको महान् पर्व उभौलीको अवसर । यलेदोङ ५०८२ का अवसरमा यहाँ रहेका किराँती राईले हर्षोलासका साथ साकेला नाच नाचेका छन् । कोरियामा रहेका किराँतीको साझा संस्था किराँत राई यायोख्खा (किराया)ले राजधानी सउलको दोङ्देमुनको सुङ्गिन ग्रिन पार्कमा आइतबार बिहान ११ देखि साँझ ६ बजेसम्म शुभकामना आदानप्रदान तथा साकेला नाच कार्यक्रम आयोजना गरेको थियो । ‘नौ लाख किराँती एउटै शान, पुर्खाको विरासत हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ भएको सो कार्यक्रमले नेपाली, विशेषतः किराँती संस्कार र संस्कृतिलाई परदेशमा फैलाउन र कोरियालीमाझ चिनाउनसमेत सहयोगी भएको आयोजक संस्थाका महासचिव जीवन राईले बताउनुभयो । किरायाकी दीपा मेवाहाङ राईका अनुसार प्रत्येक वर्ष वैशाख पूर्णिमादेखि साकेला नाचिने भए पनि परदेशमा पूर्णिमाकै दिन छुट्टी नमिल्ने भएकाले अर्काे दिन पारेर कार्यक्रम गरिएको हो । किराँती रीतिअनुसार भूमिपूजा गरी उभौली मनाइने क्रममा साकेला शिली नाच नाचिन्छ । प्रकृतिपूजक किराँतीले प्रकृतिलाई खुशी पार्नका लागि नाच्ने सो नाचको विशेष अर्थ रहेको कवि शकुन आँसुले बताउनुभयो । किराँती परम्परानुसार उभौलीसँगै मङ्सिर पूर्णिमाका दिनदेखि उधौली पनि मान्ने गरिन्छ तर परदेशमा सम्भव नहुने भएकाले उभौलीलाई मात्र भए पनि निरन्तरता दिइएको कवि सुनिलदिप्त राईले स्पष्ट गर्नुभयो । अन्नबाली लगाइने समयमा बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगत्को रक्षा गरून् भन्ने कामनाका साथ उभौली मनाइन्छ । साकेला अर्थात् सान्केवा नाचमा हातखुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव–जनावरको नक्कल गरी ढोल–झ्याम्टाका तालमा सामूहिक नृत्य गरिन्छ । साकेलसाकेन्वा नाच्दा प्रस्तुत गरिने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिने आयोजक सुष्मारानाहमा राईले बताउनुभयो । यहाँ रहेका नेपाली किराँतीले हरेक वर्ष आफ्नो पहिचान जगेर्नाका लागि उभौली मनाउँदै आए पनि अघिल्ला दुई वर्ष कोरोनाका कारण रोकिएको थियो । कार्यक्रममा कोरियामा रहेका किराँती समुदायलगायत अन्य विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, व्यवसासी तथा मजदुरको सहभागिता थियोे ।
गोरखापत्र अनलाइनकाठमाडौं, जेठ २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कसुर ठहर भएका व्यक्तिहरु निर्वाचित भएकाले कानूनअनुसार निलम्बनकाे व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । विभिन्न मितिमा भ्रष्टाचार कसुरमा अख्तियारले विशेष अदालतमा आरोपपत्र दयार गरेको र मुद्दा विचाराधीण रहेकै अवस्थामा ती व्यक्तिहरु वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुनुभएकाे थियाे ।निर्वाचित हुनेमा कैलालीको मोहन्याल गाउँपालिका वडा नं. २ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेकाले भ्रष्टाचार मुद्दा दायर छ ।कैलालीकै मोहन्याल गाउँपालिका, वडा नं. ३ का तत्कालीन वडाध्यक्ष नन्दराम गिरीले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार गरेकाले उहाँमाथि आरोपपत्र दायर गरेको छ ।नुवाकोटको विदुर नगरपालिका, वाड नं.९ का सुलक्षण माध्यामिक विद्यालयका प्रध्यानाध्यापक हरिराम भण्डारीले विद्यालयको रकम हिनामिना गरी भ्रष्टाचार गरेकाले उहाँमाथि पनि भ्रष्टाचारकाे मुद्दा छ ।अछामको पंचदेवल विनायक नगरपालिका, वडा नं. ७ को कालीदेवी माध्यमिक विद्यालयको प्राथमिक तहका शिक्षक सुरतबहादुर रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवामा बहाल रहेकाले उहाँमाथि पनि भ्रष्टाचार मुद्दा दायर छ ।यस्तो अवस्थामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ मा कसुरको आरोप लागेको कुनै पनि व्यक्ति र राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका ५० वर्षीया महिलाको मंगलबार दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीका अनुसार मंगली बोटेसहित चार जना निउरो टिप्न जाँदा बोटेको ज्यान गएको जानकारी दिनुभयो । घटनाको बारेमा पुष्टि भएपछि चारवटा हात्ती प्रयोग गरेर बोटेको खोजी भइरहेको जानकारी दिनुभयो ।
देवरामप्रसाद यादवसप्तरी, जेठ २४ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामलखन मलाहाले पूर्वाग्रह नराखेर सबै वडा र क्षेत्रको विकास गरिने बताउनुभयो ।डाक्नेश्वरी नगरपालिकाको मगलबार आयोजित शपथ ग्रहण र पदास्थापन कार्यक्रममा प्रमुख मलाहाले सो कुरा बताउनुभएको हो ।जनप्रतिनिधिहरुले जनताको इशारा र संकेत बुझ्न जरुरी रहेको भन्नुहुँदै जनताको सुझावलाई मार्गनिर्देशनका रुपमा ग्रहण गर्नुपर्ने बताउनुभयो ।कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य ताराकान्त चौधरीले सिँचाई, खाद्यमलको समस्यालाई प्राथमिकताका साथ समाधान गर्न आग्रह गर्नुभयो । गुणस्तरिय शिक्षामा ध्यान दिन र अस्तव्यस्त रहेको अवस्थालाई चुस्तदुरुस्त बनाउन जनप्रतिनिधिलाई सुझाव दिनुहुँदै उहाँले अविलम्ब स्तरीय प्रयोगशाला निर्माण गर्नुपर्ने बताउनु भयो ।नगर प्रमुख मलाहाले उपप्रमुख मीराकुमारी यादवसहित वडा अध्यक्षहरु र सदस्यहरुलाई सामूहिक रुपमा शपथ ग्रहण गराउनुभएको थियो ।कार्यक्रममा निवर्तमान प्रमुख शिवनारायण साह, जिल्ला विकास समितिका पूर्वसदस्य हरिसुदन यादव, निर्वाचन अधिकृत शम्भुनाथ मगर, प्रत्याशी उम्मेदवार बेचु साह, प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादव, वडा नम्बर ९ का अध्यक्ष कर्णदेव चौधरी, नेकपा (एमाले) सप्तरीका उपाध्यक्ष अब्दुल मजिद साकिरलगायत विभिन्न दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
शिवशंङ्कर मिश्र बारा, जेठ २४ गते । बाराको आदर्श कोतवाल गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ पटेर्वा टोलका प्रभुप्रसाद कुशवाहाको मृत्यु भएको हो । प्रभुको मृत्युपछि कुटपिटमा सम्लग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । स्थानीयवासी किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरी घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय बाराकाअनुसार सोमबार दिउँसो ३ बजे पटेर्वामा जग्गा नाप्ने विषयमा विवाद भएको थियो । विवाद चर्कंदै गएपछि दुवै पक्ष कुटपिटमा उत्रिएका थिए । कुटपिटबाट घाइते भएका प्रभुलाई उपचारको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा सोमबार राति साढे ९ बजे उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शालिग्राम नेपाल चितवन, जेठ २४ गते । भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा पाँच दलीय गठबन्धनका सबै उम्मेदवारहरु निर्वाचित हुनुभएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा मंगलबार भएको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका आठै जना निर्वाचित हुनुभएको हो । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका गोपाल दराई (९७), नेकपा (माओवादी केन्द्र)का विष्णुबहादुर भुजेल (८६) र नेकपा (एकीकृत समाजवादी)का कोपिला उपरकोटी –९२) मत प्राप्त गरी विजयी हुनुभएको छ । महिलातर्फ कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका नर्वदा सापकोटा (८६), शारदा पोखरेल ८७, सिर्जना अधिकारी (९१), सुकमाया विक (८९) र नेकपा (माओवादी केन्द्र)का विना नेपाली (८६) निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो ।एमाले–राप्रपा गठबन्धनबाट तीन जना खुला सदस्यमा एक जनाको मात्रै उम्मेदवारी परेको थियो भने महिलातर्फ पाँच सदस्यमा उम्मेदवार उठाएको थियो । महानगरको कार्यपालिकामा नेपाली कांग्रेसको एक्लै बहुमत रहेको छ ।
नारद कोहारतौलिहवा, जेठ २४ गते । प्रदेश सरकर वन सम्बन्धी ऐन नियम बनाएको कारण सम्पूर्ण जनतालाई सर्वसुलभ तरिकाले काठ उपलब्ध हुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बताउनुभएको छ । वैज्ञानिक वन व्यवस्थापन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशले कपिलबस्तुको जितपुरमा आयोजना गरेको अन्र्तक्रिया तथा सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । सबै सामुदायिक वनले आ–आफ्नो नियमअनुसार राजश्व तिर्ने, संरक्षण गर्ने र लाभ पाउने व्यवस्था प्रदेश सरकारले गरेकाले आउने दिनमा वनभित्र चोरी निकासी नहुने मुख्यमन्त्री केसीले बताउनुभयो ।प्रदेशको ५९ प्रतिशत वनको स्रोत भएकाले समृद्ध प्रदेश बनाउन यसले कोसेढुंगा सावित हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “हामीले वन क्षेत्रलाई मात्रै व्यवस्थित ग¥यो भने पर्यटकीय प्रर्वद्धनमा पनि ठूलो टेवा पुग्ने बताउनुभयो ।”आउने आर्थिक वर्षदेखि लुम्बिनी प्रदेशको सबै सरकारी निकायमा आफ्नै प्रदेशमा उत्पादित फर्निचरको प्रयोग हुने समेत उहाँले बताउनुभयो । यसको लागि एउटा ठूलो अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो ।
जनकपुरधाम, जेठ २४ गते । जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा जुत्ताचप्पलको व्यवस्थापन शुरु गरिएको छ । केही वर्षयता व्यवस्थापन नहुँदौ मन्दिर परिसरबाट जुत्ताचप्पल हराउने र चोरी हुने समस्या रहँदै आएको थियो ।जनकपुरधाममा महिनापिच्छे हुने धार्मिक तथा साँस्कृतिक उत्सवका बेला जानकी मन्दिर दर्शन गर्न हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । मन्दिर परिसरभित्र प्रवेश गर्नुअघि नै जुत्ताचप्पल फुकाल्नुपर्ने हुन्छ । तर, केही वर्षयता जुत्ताचप्पल व्यवस्थापन कार्य अवरुद्ध रहँदा मन्दिरको मूल भवनबाहिर नै यत्रतत्र जुत्ताचप्पल छाड्नुपर्ने दर्शनार्थीको वाध्यता रहेको थियो । स्थानीय समाजसेवी वैद्यनाथप्रसाद साहका अनुसार फलामको स्ट्यान्ड बनाई जुत्ताचप्पल राख्ने व्यवस्थापन कार्य गर्न थालेपछि श्रद्धालुहरूलाई सजिलो भएको छ । श्रद्धालुहरू जुत्ताचप्पल फुकाएर स्ट्यान्डमा राख्न थालेपछि उहाँहरूलाई राहतको अनुभूति भएको हो । मधेश प्रदेशको चलचित्र तथा लोकसञ्चार बोर्डका अध्यक्ष धर्मेन्द्र मोरवैताले भिडभाड भएका बेला मन्दिरबाहिर जुत्ताचप्पल छरिने र अन्य बेला पनि साटिने गरेको समस्या यसको व्यवस्थापनपछि समाप्त भएको बताउनुभयो ।
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित पाँचजनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ ।