काठमाडौं, जेठ २६ गते । नेपालमा गर्मी महिना सुरु भएदेखि सर्पदंशका बिरामी बढ्न थालेका छन् । यो आर्थिक वर्षमा यथार्थ तथ्यांक नभए पनि टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गर्मी महिना सुरु भएदेखि दैनिक जस्तो सर्पले टोकेका बिरामी अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकृत नवराज गौतम जानकारी दिनुहुन्छ ।
गौतमका अनुसार अस्पतालमा गतहप्तासम्म ३१ जना बिरामी सर्पले टोकेर अस्पतालमा आएका छन् । जसमध्ये २४ जना महिला र सात जना पुरुष रहेका छन् । सर्पले टोकेकामध्ये १० देखि १५ प्रतिशतलाई विषालु सर्पले टोक्ने अध्ययनले देखाएको छ । २०७६/७७ मा देशरभर पाँच हजार ८१ जनालाई शर्पले टोकेको थियो । जसमा चार हजार २०३ जनालाई विषरहित र ८७८ जनालाई विषालु सर्पले टोकेको थियो ।
अध्ययनअनुसार विषालु सर्पले टोकेका मध्ये १० प्रतिशतको मृत्यु हुने गर्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट फिजिसियन डा. विमल शर्मा चालिसे शर्पले टोक्ने वित्तिक्कै मृत्यु नहुने तर घरलु उपचार गरी ढिला अस्पतालमा पु¥याउँदा वा आत्तिएर मृत्यु हुने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “नेपालमा पाईने सबै सर्पहरु विषालु नहुने हुँदा सर्पले टोक्ना साथ मृत्यु हुँदैन । तर सर्पले टोक्यो भनेर आत्तिएर र घरेलु उपचार जस्तै गोबर लगाउने, ढुङ्गाले घोट्ने, धामी झार्कीकोमा लैजाने र टोकेको माथिल्लो भाग काट्ने, बाँध्ने, टोकेको ठाउँमा चुसेर रगत निकाल्ने गरेर अस्पतालमा ढिला पु¥याउने हुँदा धेरैको मृत्यु हुने गर्छ ।”
सर्पले किन टोक्छ ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) का पशुचिकित्सक डा. रोशिका श्रेष्ठले सर्पले खतरा महसुस गरेपछि मात्रा प्रतिरक्षा गर्ने क्रममा सर्पले टोक्ने जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “नचलाएर टाढै बसेमा सर्पले टोक्दैन । तर उनीहरु खाना खोज्न बाहिर निस्केको बेलामा घाँस काट्दा, खेल्दा, हिँड्दा, छोइएमा मानिसले आक्रमण गर्न लागेको ठानेर प्रतिरक्षा गर्ने क्रममा शर्पले टोक्ने गर्दछन् ।” त्यसका अलावा मानिसले सर्प देख्ने वित्तिकै मार्न खोज्छन्, त्यसो गर्दा पनि सर्पले टोक्ने गर्दछन् ।
उहाँका अनुसार फागुन देखि भदौसम्म सर्पहरु बाहिर निस्कने समय हो । शर्पले जाडो सहन नसक्ने हुँदा जाडो मौसममा शर्पहरु हाइबरनेशनमा जान्छन् अर्थात दुलो भित्र लुकेर बस्ने गर्दछन् । उहाँले भन्नुभयो, “शर्प चिसो रगत भएको जनावर हो । सर्पले वातावरणअनुसार आफ्नो शरीरको तापक्रम परिवर्तन गर्ने गर्दछन् । जाडोमा लुक्ने गर्दछन् । गर्मी महिनामा सर्पले अन्डा काेरल्ने समय हाे । त्याे भएकाले बच्चासहित खानाको खोजीमा सर्प बाहिर निस्कन्छन् ।
नेपालमा तराईका विभिन्न जिल्लाहरु र मध्यपहाडमा बढी सर्पहरु देखिने गर्दछन् । सबै सर्पहरु विषालु हुँदैनन् नेपालमा पाइने सर्पमा विशेषगरी न्युरोटक्सीस र हेमाटोटक्सीज गरी दुई प्रकारका विष भएका हुने पशुचिकित्सक डा. श्रेष्ठ बताउनुहुन्छ । डा. श्रेष्ठकाअनुसार न्युरोटक्सीस नसा र मांशपेशी र हेमाटोटक्सीस रगत पातलो बनाउने समस्या उत्पन्न गर्छ ।
फिजिसियन डा. शर्माका अनुसार मधेशमा हुने गाैमन (नाग) र करेट, मध्यपहाडमा पाइने हरियो सर्पले टोकेका मानिसलाई तुरन्त उपचार गरिएन भने मृत्यु हुने डर बढी हुने बताउनुहुन्छ । उहाँकाअनुसार तराईमा बढी पाईने गाैमन र करेट सर्प बढी डरलाग्दो किसिमका हुन्छन् । यस्ता विषालु सर्पले टोक्यो र समयमा नै उपचार हुन सकेन भने ज्यान जान सक्ने सम्भावना बढी हुन्छ । त्यस्तै, मध्यपहाडमा पाइने हरियो सर्पले टोक्यो भने रगत पातलो हुने जस्ता समस्या देखिन्छन् अनि रगत बाहिर बग्यो भने ज्यानै पनि जान सक्छ ।
सर्पले टोक्दा देखिने लक्षणहरु
चिकित्सकका अनुसार सर्प धेरै प्रजातीका हुन्छन् । विषालु र विषरहित सर्प हुन्छ । विषरहित सर्पले टोक्दा टोकेको ठाउँमा सुनिने घाउ हुने, पछि पाकेर चिलाउने, पाक्नेजस्ता सामान्य समस्या देखिने डा. शर्मा चालिसे बताउनुहुन्छ । विषालु सर्प पनि दुई प्रकारका हुन्छन् । एउटा रगत पातलो बनाउने र अर्को नसा र माशंपेशीहरुमा असर गर्ने हुन्छन् ।
उहाँले भन्नुभयो, “विषालु सर्पले टोक्यो भने विषको लक्षण शरीरमा प्रवेश गरेमा रगत पातलो हुने नशा र माशंपेशीमा असर गर्ने देखि श्वासप्रश्वास अवरुद्ध हुने जस्ता समस्या देखिन्छन् ।” त्यसका अलावा नाक र गिजाबाट रगत बग्ने समस्या देखा पर्ने चिकित्सक बताउँछन् । विषालु सर्पले टोक्दा आँखा देख्न छाड्ने, विस्तारै एउटै मान्छेलाई दुईजना देख्ने, विस्तारै पश्चाघात हुँदै जाने र दिमाग शुन्य हुने जस्ता लक्षण देखिन्छन् ।
सर्पले टोकेपछि के गर्ने ?
सर्पले टोकेको भागमा जोडसँग बाँध्ने चलन हुन्छ । त्यसरी बाँध्दा रगत सञ्चालनमा अवरोध आउने हुँदा थप स्वास्थ्य समस्या देखिन्छ । उपचार केन्द्रमा जाने, टोकेको ठाउँलाई चल्न नदिएर टोकेको ठाउँमा सफा पानीले सफा गर्ने र टोकेको ठाउँमा हलचल गर्न नदिने, त्यही स्थितिमा अस्पतालमा पु¥याएर तुरुन्तै उपचार सुरु गर्नुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकले हेरेपछि मात्र विषालु वा विषरहित कुन सर्पले टोकेको पत्ता लगाएर उपचार गर्ने चिकित्सक बताउँछन् । सर्पले टोकेपछि “एन्टी स्नेक भेनस सेरम” मलम सरकारले सरकारले निःशुल्क रुपमा वितरण गर्दै आएको छ । त्याे मलम लगाउन जरूरी छ ।
कुन अस्पतालमा उपचार हुन्छ ?
शर्पदंशका बिरामीको विभिन्न अस्पतालमा उपचार हुन्छ । काठमाडौंमा वीर अस्पताल र शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा । त्यसैगरी तराईका जिल्लाहरुमा शर्पदंश उपचार केन्द्र सञ्चालनमा रहेका छन् ।
सावधानी अपनाउन घर वरिपरि नियमित सरसफाइ गर्ने, शर्पलाई नचलाउने, सर्पले सामान्यतयाः हिँड्दा ध्यान नदिँदा, घाँस काट्न जाँदा, खेतबारीमा काम गर्दा टोक्ने गर्छन् । जंगल, झाडीमा जाँदा पहिलो सर्प छ कि छैन भने र जाँच गरेरमात्र घाँस वा खेतबारीमा काम गर्न सुरु गर्न चिकित्सकको आग्रह छ ।
घाँस काट्दा हाेस् खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउनाले पनि सर्पको टोकाईबाट बच्च्न सकिने चिकित्सक बताउँछन् । अँध्यारो ठाउँमा बत्ती बालेर मात्र जाने उहाँहरुको सुझाव छ ।