• १२ साउन २०८१, शनिबार

प्रश्नपत्र किन दाेहाेरिन्छन् ? दाेषीकाे पहिचान कहिले ?

blog

काठमाडौं, जेठ २६ गते। त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र संकायको स्नातकोत्तर तहकाे परीक्षामा अघिल्लो सालको प्रश्नपत्रसँग हुबहु सोधिएको विषयमा छानविन गरिने भएको छ । परीक्षामा पटक–पटक लापरबाही देखिएपछि छानविन गरिने त्रिवि मानविकी संकायका डिन कुसुम शाक्य बताउनुहुन्छ ।

‘हुबहु प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्नका लागि परीक्षा समितिलाई आग्रह गरिएको छ,’ उहाँले भन्नुभयो ‘अब हुने परीक्षामा यस्तो समस्या आउने छैन ।’ बुधबार नै मानविकी संकायले छानविनका लागि केन्द्रीय परीक्षा बोर्डलाई आग्रह गरेको शाक्यको भनाइ छ ।

दुईवटा विषयको प्रश्नपत्र अघिल्लाे वर्षकाे हुबुहु

त्रिविले अहिले सञ्चालन गरिरहेको मानविकी तथा समाजशास्त्र संकायको स्नातकोत्तर परीक्षाका दुईवटा विषयको प्रश्नपत्र अघिल्लो सालको हुबहु सोधिएको छ । मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

त्रिविले विज्ञ टोलीको समूहबाट प्रश्नपत्र निर्माण गर्ने गरिएको भए पनि हुबहु प्रश्नपत्र निर्माण कसरी भयो ? यो छानविनको क्रममा थाहा हुने उहाँको भनाइ छ । ‘त्रिविमा विज्ञ टोलीको समूहबाट प्रश्नपत्र निर्माण हुन्छ, उहाँहरुले नै प्रश्नपत्र निर्माण गर्नुहुन्छ । निर्माण भएको  प्रश्नपत्र हामीले तत्काल विभिन्न जिल्लामा पठाउछौँ,’ उहाँले भन्नुभयो ‘परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अघिमात्र परीक्षा सेन्टरमा  प्रश्नपत्र खोल्दा मात्र कस्तो प्रश्न आयो थाहा हुन्छ ।’ हुबहु प्रश्नपत्र हुनुमा दोषीमाथि कारबाही गरिने शाक्य बताउनुहुन्छ ।

प्रश्न निर्माण गर्ने शिक्षक दोषी

डा. कोइराला शिक्षाविद् प्राडा. विद्यानाथ काईरालाले यसरी हुबहु प्रश्नपत्र आउनुमा प्रश्न निर्माण गर्ने शिक्षक नै दोषी हुने दाबी गर्नहुन्छ । ‘प्रश्नपत्र निर्माण गर्ने क्रममा निर्माणकर्ताले विद्यार्थीलाई सोचेर प्रश्नपत्र निर्माण गर्नुपर्छ । तर त्यो नसोची हतारहतार  प्रश्नपत्र निर्माण गर्दा यो अवस्था आएको हो,’ उहाँले भन्नुभयो,‘ यसको सबै दोष प्रश्न बनाउने शिक्षकले लिनुपर्छ ।’ अव प्रश्नपत्र निर्माण गर्ने प्रकृति पनि बदल्नुपर्ने उहाँको ठहर छ । ‘प्रश्नपत्र निर्माण गर्दा जिन्दगी र सिद्धान्त पनि जोडिने खालका प्रश्नपत्र निर्माण गर्नुपर्छ । अझै पनि पुरानै ढर्रामा प्रश्नपत्रहरु निर्माण गरिएका छन् ,’उहाँले भन्नुभयो ।

अनुसन्धानमा आधारित प्रश्नहरु 

अहिलेको प्रकृति हेर्दा सिर्जनशिलतामा आधारितभन्दा पनि प्रतिउत्पादनमा आधारित प्रश्न सोध्ने गरेको देखिएको डा. काईरालाको भनाइ छ । यसले विद्यार्थीको सिर्जनशिलतामा कुनै प्रगति नपुग्ने उहाँ बताउनुहुन्छ । त्रिविमा पहिले पहिले पनि यस्ता समस्याहरु देखिने गरेकाले अवका दिनमा यस्तो हुन नदिन अनुसन्धानमा आधारित प्रश्नहरु निर्माण गर्नपुर्ने उहाँ सुझाउनुहुन्छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।