• ६ जेठ २०८१, आइतबार

मधेश प्रदेशमा पन्ध्र लाख बिरुवा निःशुल्क वितरण गरिँदै

blog

विजयकुमार साह 

ढल्केबर, जेठ २३ गते । मधेश प्रदेशको उद्योग, पर्यटन तथा वन मन्त्रालयले सर्वसाधारणलाई निःशुल्क वितरण गर्न १५ लाख विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेको छ । मन्त्रालयमातहत रहेको डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय र भू–संरक्षण तथा जलाधार विकास कार्यालयको नर्सरीमा गरी सो परिणाममा बिरुवा उत्पादन गरेको हो । 

मधेश प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले उत्पादन गरिएका बिरुवा मधेश प्रदेशका जनताले निःशुल्क लान पाउने बताउनुभयो । उहाँले उत्पादन गरिएका बिरुवा रोप्न लायक भइसकेको र कतिपय स्थानबाट वितरण कार्य पनि भइरहेको जानकारी दिनुभयो । 

प्रदेश मातहत रहेको वन कार्यालय र भू–संरक्षणको नर्सरीबाट लैजान सकिनेछ । २० वटासम्म लैजान कुनै कागजात नचाहिने तर त्यसभन्दा बढी सङ्ख्यामा लैजानका लागि व्यक्तिको जग्गाको लालपुर्जा र नागरिकताको फोटोकपी पेश गर्नुपर्ने हुन्छ । त्यस्तै, सामुदायिक वनको हकमा वन समूहको निर्णय र निवेदनको आधारमा बिरुवा दिन्छौ, सचिव घिमिरेले भन्नुभयो । 

उहाँका अनुसार फलफूल, सौन्दर्य, जडीबुटी र काठजन्य प्रजातिका बिरुवा उत्पादन भएको छ । उत्पादन गरिएका बिरुवामा खयर, मलेसियन साल, लोकल साल, सतिसाल गोलमोह, तेजपात, बकाइनो, अमला र कल्कीलगायतका बिरुवा छन् । 

सर्वसाधारण जनताको आयआर्जनमा वृद्धिका साथै पर्यावरणमा फाइदा पुग्ने हुँदा मन्त्रालयले निःशुल्क रुपमा विरुवा उत्पादन गरेर वितरण गर्न लागेको मन्त्रालयका सचिव घिमिरेले भन्नुभयो । 

यसैगरी, सामुदायिक विकास केन्द्र धनुषाले आइतबार शहीदनगर नगरपालिकामा १५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा निःशुल्क वितरण गरेको छ । नगरपालिकाको प्रत्येक घरमा चारवटाको दरले  फलफूल तथा काठजन्य प्रजातिका बिरुवा वितरण गरिएको हो । धूलो, धुवाँ र वन विनाबका कारणले वायु प्रदूषण बढ्दै गएको र प्रदूषण घटाउन रुख बिरुवा रोप्नु अनिवार्य जस्तै भइसकेकाले आइतबार विश्व वातावरण दिवसको अवसर पारेर निःशुल्क बिरुवा वितरण गरेको सामुदायिक विकास केन्द्र धनुषाका अध्यक्ष सञ्जय साहले बताउनुभयो । 

धनुषाको लालगढस्थित सबडिभिजन वन कार्यालयको नर्सरीमा उत्पादन गरिएका बिरुवा । तस्विर ः विजयकुमार साह ÷ ढल्केबर