सिर्जना खत्री
काठमाडौं, जेठ २३ गते । मनसुन सुरुभएदेखि देशभरका विभिन्न जिल्लामा कीटजन्य रोग देखिन सुरु भएको छ । तराई क्षेत्र तथा अत्याधिक गर्मी हुने ठाउँमा ठाउँमा कीटजन्य रोगको सङ्क्रमण पनि बढी पाइन्थ्यो । तर, विभिन्न कारणले पछिल्लो समयमा उच्च पहाडी र हिमाल क्षेत्रमा समेत लामखुट्टे फैलन थालेपछि थप जोखिम बढेको सरोकारवाला बताउँछन् ।
मानिसको आवतजावत बढ्नु, जलवायु परिवर्तन, शहरीकरण, वातावरणको तापक्रम बढ्दै जाँद उच्च पहाडी र हिमाल क्षेत्रमा पनि लामखुट्टे देखिने थालिएकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अन्तर्गतकाे कीटजन्य रोग नियन्त्रण शाखाका डा. गोकर्ण दाहाल बताउनुहुन्छ ।
सुदूरप्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा सबै भन्दा बढी यस्तो समस्या देखिने डा. दाहालले बताउनुहुन्छ । ईडीसीडीकाअनुसार नेपालमा गर्मी, प्रि–मनसुन र मनसुनमा कीराहरु टोकाइबाट मलेरिया, स्क्रबटाइफस, कालाजार, डेंगु, चिकनगुनिया टाइफस जिका भाइरस जस्ता रोगहरु देखिने गर्दछन् ।
ईडीसीडीको तथ्याङ्कअनुसार सन् २०२२ मा अहिलेसम्म २२ जिल्लाबाट ६९ जनामा डेंगुका बिरामी भेटिएका छन् । यसअघि, सन् २०२० मा ७५ र २०२१ मा ५२ जना डेंगुका बिरामी भेटिएका थिए । त्यसैगरी, स्क्रब टाइफसरको २९ जिल्लाबाट २९६ जना स्क्रब टाइफसका बिरामी भेटिएका थिए । मलेरियाका बिरामी बढिरहेका छन् । योभन्दा अगाडि २०२० मा एक हजार ४३९ र सन् २०२१ मा एक हजार ५१६ जनामा स्क्रब टाइफस देखिएको थियो ।
मलेरिया
सरुवा रोग विशेषज्ञ डा. जनक कोइरालाकाअनुसार मलेरिया एनाफिलिज नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । सामान्यतया पाँच वर्ष मुनिका बालबालिका, गर्भवती महिला र एचआइभी एड्स संक्रमित मानिस मलेरियाबाट बढी प्रभावित हुन्छ । टाउको दुख्ने, बान्ता र ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् । समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्ने डा. कोइराला बताउनुहुन्छ ।
जिका भाइरस
डा. दाहालका अनुसार जिका भाइरस एडिस एजेष्टि नामक लामखुट्टेको टोकाइबाट फैलिने भाइरस हो । जिका भाइरसबाट सङ्क्रमणपछि ८० प्रतिशत बिरामीहरुमा यसको कुनै लक्षण देखिँदैन । यसका लक्षणहरु प्रायः ३ देखि ७ दिनसम्म देखिन्छ । मांसपेसी तथा जोर्नी दुख्ने, आँखा रातो हुने शरीरमा राता दागहरु देखिने मन्द ज्वरो आउने , टाउको दुख्ने जिका भाइरसका प्रमुख लक्षण हुन् ।
डेंगु
डेंगु ज्वरो एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट सर्ने डा. कोइराला बताउनुहुन्छ । ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अङ्गबाट रगत बग्ने डेंगुको प्रमुख लक्षण हुन् ।
सुरुवाती अवस्थामा डेंगु झोल खानेकुरा सेवन गर्दा आफैँ निको हुन सक्छ । तर, दोस्रोपटक ज्वरो दोहोरिएको अवस्थामा त्यो निकै खतरनाक हुने चिकित्सक बताउँछन् ।
जापानिज इन्सेफ्लाइटिस
जापानी इन्सेफ्लाइटिस पनि लामखुट्टेका टोकाइबाट सर्ने गर्दछ । डा. कोइरालाका अनुसार यसले सिधै दिमागमा असर गर्छ । साथै, नसा र स्पाइनल कर्डमा समेत असर पु¥याउने भएकाले यो रोगलाई निकै घातक मानिन्छ । यसको समस्या देखिएपछि शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले सास फेर्न गाह्रो हुन्छ ।
त्यस्तै, ज्वरो आउने, टाउको दुख्ने र आँखा रातो हुने यसका प्रमुख लक्षण हुन् । यस्ता समस्या सबै उमेर समूहका बिरामीलाई देखिने गर्दछन् तर रोक प्रतिरोधात्म क्षमता भएका दीर्घ रोगीहरुलाई यो रोगले बढी दुःख दिने डा. कोइराला बताउनुहुन्छ । लामखुट्टे बढी लाग्ने ठाउँमा २४ घण्टा भन्दा बढी ज्वरो आएमा नजिकको स्वास्थ्य संस्था गएर जाँच गराएर औषधि खान डा. कोइरालाको सुझाव छ । सरकारले जिका, डेंगु र चिजकनगुनिया भाइरसका लक्षण भएका बिरामीलाई राष्ट्रिय प्रयोगशालामा निःशुल्क पिसिआर परीक्षण गर्दै आएको छ ।
लामखुट्टे गर्मीमा बढ्नुको कारण
लामखुट्टे चिसोमा बाच्न सक्दैन त्यसैले गर्मीयाममा लामखुट्टेको सङ्ख्या बढ्दै जान्छ । गर्मीयाममा लामखुट्टेले पानी जमेको ठाउँमा बच्चा जन्माउने हुँदा यसको सङ्ख्या बढ्दै जान्छ । लामखुट्टे मानिसलाई टोक्छ र मानिसमा रोग लागेको रहेछ भने त्यो लामखुट्टेले अर्को मानिसलाई टोक्यो भने रोग सर्ने गर्छ ।
खोला किनारमा बस्ने, प्रदूषित पानी पिउने तथा शहरी क्षेत्र तथा बाक्लो बस्ती भएका ठाउँमा लामखुट्टे चाँडै फैलिन्छन् । त्यसैले, यस्ता क्षेत्रमा सरुवा रोगको महामारीसमेत चाँडै फैलने सम्भावना रहन्छ । सरसफाइको अभाव, स्वास्थ्य चेतनाको कमीका कारण लामखुट्टे बढिरहेका छन् ।
लामखुट्टेको टोकाबाट बच्ने उपाय
यो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने डा. दाहाल बताउनुहुन्छ । उहाँकाअनुसार लामखुट्टेको नियन्त्रण गर्नु नै लामखुट्टेको टोकाइबाट बच्ने उपाय हो । यसको लागि सामुदायिक तवरले नै यसको नियन्त्रणको पहल गर्नुपर्नेमा उहाँ बताउनुहुन्छ । “पानी जमेको ठाँउमा लामखुट्टेले बढी प्रजनन् गर्ने भएकाले खाल्डाखुल्डी पुर्नुपर्छ । ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुका साथै पानीलाई जम्न नदिई बग्ने बनाउनुपर्छ । यसले लामखुट्टेको प्रजनन्मा बाधा पु¥याउँछ र नियन्त्रण गर्न सजिलो हुन्छ ।”
त्यसकाे अलाव, लामखुट्टेको टोकाइबाट बच्न एक किसिमको लोसन पाइन्छ । सुत्ने बेलामा जिउमा लोसन लगाउँदा पनि लामाखुट्टेको टाेकाइबाट बच्न सकिन्छ । लामखुट्टेको टोकाइबाट बच्न धूप जस्ता सामग्री प्रयोग गर्ने । लामखुट्टेको टोकाईबाट बच्न राति र दिउँसो सँधै झुलभित्र सुत्ने, शरीर ढाकिने गरी कपडा लगाउने गर्नुपर्छ ।
खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउने, झ्याल ढोकामा जाली लगाई बन्द राख्न चिकित्सकको सुझाव छ । कीरा र लामखुट्टे मार्न टोल–टोलमा विषादी छर्कनाले पनि कीटजन्य रोगबाट बच्न सकिन्छ । तर, यस्तो विषादी पानीको मुहानमा पर्ने गरी छर्कनुहुँदैन ।
त्यसैगरी, लामखुटेले अण्डा पार्ने ठाउँहरु जस्तै पानी ट्याङ्की, गाग्री, बाल्टिन ड्रम आदि छोपेर राख्दा पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ ।