• १६ चैत २०८०, शुक्रबार

सिथी नखःमा पानीकाे स्राेत सफा हुँदै

blog

तस्विर–फेसबुकबाट

काठमाडौं, जेठ २२ गते । नेवाः (नेवार) जातिका विभिन्न चाडपर्वमध्ये सिथी नखः भिन्न तरिकाले मनाइन्छ । नेवाः  जातिका हरेक चाडपर्वमा भोज खाने, मन्दिर गएर पूजा गर्ने चलनभन्दा पृथक रूपमा याे पर्व मनाइन्छ ।

आजको दिन पानीका स्रोतहरूको सरसफाइ गर्दै विभिन्न परिकारको भोजन गरेर मनाउने चलन छ । नेवाः जातिले यस पर्वको दिन इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गर्छन् । यसरी आफ्ना टोलका मानिसहरु मिलेर नजिकै रहेका इनार, ढुंगेधारा, कुवा, पोखरी सफा गर्ने गर्छन् ।

लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने गर्छ । सिथी नखःका दिन मुहान सफा ग¥यो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास रहेको संस्कृतिविदको भनाइ छ ।


सिथी नखःको दिन सफा गरेको इनार, ढुंगेधारा र कुवाको पानी भने चार दिनसम्म प्रयोग गर्न नहुने परम्परा रहेको छ । पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ ।

यस्तै, आजको दिन मुगी, मासको बारा, चटामरी, पापड, मालपुवा आदि मिठा खानेकुरा पकाएर खाने चलन छ । “यो पर्वको अर्को विशेष मान्यता भनेको आजको दिनपछि असार अर्थात् रोपाइँ सुरु भएको मानिन्छ । यो पर्वसँगै वर्षा सुरु हुने र किसानहरु धान रोपाइँमा व्यस्त रहने चलन छ”, संस्कृतिविद् हरिराम जोशी भन्नुहुन्छ, “त्यसैले किसानहरु असारपछि खेतमै व्यस्त हुने हुँदा आज कै दिन पानीको स्रोत सफा गर्ने गरिएको हो ।


उहाँकाअनुसार सिथी नखः पर्वमा लिच्छविकालदेखि नै पानीको मुहान, ढुंगेधारा, इनार, घर र नालीको सरसफाइ गर्ने पर्वका रूपमा विकास भएको छ । नेवाः जातिले आज मनाउने पर्वले खानेपानीका स्रोतको संरक्षण तथा सरसफाइमा युवा वर्गलाई सांस्कृतिक मान्यताबारे सचेत गराउनु रहेकाे जोशीको भनाइ छ ।

याे पनि पढ्नुहाेस् । पढ्नकाे लागि तलकाे लिंकमा क्लिक गर्नुहाेस्... 

हजारौं वर्षदेखि मनाइने पानी दिवस : ‘सिथी नखः’