• ११ पुस २०८१, बिहिबार

हजारौं वर्षदेखि मनाइने पानी दिवस : ‘सिथी नखः’

blog

गीता श्रेष्ठ

नेपाली संस्कृति, सामाजिक संस्कार र तिथी–पर्वहरुले मानव समाजको कल्याणका लागि स्थापित गरेका मान्यताहरु ओझेलमा परेका छन् । आजभोलि चाडपर्वहरु परम्परा निर्वाहमा खम्चिएर भोज–भतेर खानुमै सीमित भएको छ । हरेक चाडपर्व प्रकृति र मानव सभ्यता अनि सामुदायिक हितमा केन्द्रित रहेका छन् भन्ने दृष्टान्त वा व्याख्या–विश्लेषण नहुँदा चाड पर्वहरुलाई पुरातनपन्थका रुपमा समेत अथ्र्याउन थालिएको छ । दशैं होस् कि तिहार, छठ होस् कि माघे संक्रान्ति वा साउने संक्रान्ति– यिनको आफ्नै मौलिक विशेषता छन् र यी पर्वहरु मनाउनुको अर्थ आधुनिक विज्ञानले पनि पुष्टि गरेको छ कि यी पर्वहरु मानव स्वास्थ्य, समाज र सृष्टि संरचनाको रक्षा र निरन्तर सक्रियताकै लागि मनाइएका हुन् । 

हरेक पर्वहरु मानव जीवनसँग जोडिएका छन् । सिथी नखः पनि मानव जीवनसँग जोडिएको पर्व हो । यो पर्व खासमा पानीको मुहान सफा गर्ने पर्व सदियांैदेखि चलिआएको छ । आज विश्वले पानी दिवस मनाउनुपर्ने भन्दै औपचारिक दिवस मनाइरहँदा हाम्रा परम्परामा पानी संरक्षण र शुद्ध पानीको अभियान हजारौं वर्षदेखि नै चलिआएको प्रथालाई बुझ्नै सकेनौं र यस्ता महान अभियानलाई ओझेलमा पारिरहेका छौँ ।

नेपालमा लिच्छविकालदेखि नै पानी संरक्षणको प्रचलन चलिआएको भए पनि आधुनिक विश्वमा भने सन् १९९३ बाट विश्व पानी दिवस माउन थालिएको हो । संयुक्त राष्ट्रसंघले सन् १९९३ मार्च २२ लाई पानी दिवस मनाउने घोषणा गरेदेखि हरेक वर्ष पानी दिवस मनाइन्छ । यो दिवसमा पानीको महत्वबारे र यसको संरक्षणका नारा घन्कन्छन्, पानीको स्रोतहरुको संरक्षण र स्वच्छ पानी कसरी उपलब्ध गराउने भन्ने योजना बन्दछ । तर जलस्रोतले सम्पन्न देश भएर पनि होला हिमालयदेखि निसृत हुने सदावहार नदीसँगै भूमिगत जलसमेत पर्याप्त भएकाले यहाँ हजारौं वर्षअघिदेखि पानीका स्रोत संरक्षण र यसको सरसफाई गर्ने पर्व नै मनाउने चलन रहिआएको हो । 

विशेष गरी काठमाडौं उपत्यकाका नेवार समुदायले जेष्ठ शुक्लपक्षको षष्ठी तिथिमा मनाउने पर्व सिथी नखःको विशेषता भन्नु नै पानीका मुहान र स्रोत सरसफाई गर्नु हो । आजभोलि अव्यवस्थित शहरीकरणले गर्दा यहाँ भएका ढुंगेधारा, इनार तथा कुवा र पोखरीहरु मासिएर घरघरमा धारा र जारमा भरिएका पानीका भाँडा आउने हुँदा पानी सफा गर्ने काम त्यति नहुने भए पनि यो पर्व मनाउन छाडिएको छैन । किनभने यो एक सांस्कृतिक पर्व हो र नेपालमा लिच्छविकालदेखि सिथी नखः पर्व मनाएर पानीको महत्व र त्यसको स्रोतको संरक्षणबारे मानिसलाई सचेत गराउने कार्य हुँदैआएको संस्कृतिविद्हरु बताउँछन् ।

उपत्यकाको मौलिक संस्कृति यहाँका रैथाने नेवारको धरोहर हो । अथाह सांस्कृतिक भण्डार रहेको नेवार समुदायले मनाउने धेरै पर्वहरुको तुलनामा सिथी नखः फरक छ । प्रायःजसो चाडपर्वहरु नेवारको सामूहिक भोजभतेर गर्ने, मन्दिर जाने, बाजागाजा बजाउने इत्यादि रहे पनि यस पर्वमा भने पानीका परम्परागत स्रोतहरूको सरसफाई गर्ने गरिन्छ । केहीले यही दिनमा कुलदेवताको पूजा पनि गर्दछन् ।

केही दशकअघिसम्म उपत्यकामा सबै टोलबासीहरू मिलेर आ–आफ्ना टोल अगाडि भएका इनार, ढुंगेधारा, कुवा, पोखरीआदि सफा गर्ने चलन थियो र अझै पनि बाँकी रहेका त्यस्ता सम्पदाहरुको सरसफाई गर्ने गरिन्छ । हिउँद सकिएर वर्षायाम सुरु हुने बेला पर्ने सिथी नखः मनाउनुको कारण इनार, कुवा सफा गर्न सजिलो हुने हुन्छ ।

किनभने लामो समयदेखिको सुख्खायाम भएकाले यसबेला पानीको सतह पूरै घट्ने भएकाले इनार, कुवा, पोखरी र ढुंगेधारा सफा गर्न सजिलो हुन्छ । सिथी नखःका दिन मुहान सफा गयो भने वर्षभरि पानीको अभाव हुँदैन भन्ने जनविश्वास छ । सिथी नखःको दिन सफा गरेको इनार, ढुंगेधारा, कुवा र पोखरीको पानी चार दिन नभएसम्म चलाउन नहुने चार दिनपछि पूजा गरेर पानी चलाउने चलन छ ।

पानीको मुहान सफा गरेपछि पानी जम्न समय लाग्नुका साथै फोहोर हुने भएकाले चार दिनपछि मात्रै चलाउने गरिन्छ । त्यसो त सिथी नखःको दिन पनि भोज नखाने होइन । यो दिन मास, मुगी, केराउलगायतका पकवान पकाउने चलन छ । यस दिन बारा, चटामरी, पापड, मालपुवा, र म्हुछ्यामारी आदि पकवान खाने चलन छ ।

खाद्यान्न विज्ञान र प्रकृतिको अनुपम मिलनको चाडका रूपमा समेत यसलाई लिन सकिने संस्कतिविद्हरु बताउँछन् । मौसम अनुसारको पर्व र सोही अनुसारको खानेकुरा खाने नेवारी समुदायको प्रचलनअनुरुप सिथी नखःमा खाने बारा, चटामरीलगायतका परिकारले शरीरलाई तन्दुरुष्त राख्न मद्दत पुग्ने उनीहरुको चलन छ । जसरी साउने संक्रान्तिमा क्वाटी खानु, माघे संक्रान्तिमा घीउ चाकु खानु शरीरमा तागत बढाउन र रागेव्याधीसँग लड्ने क्षमतावृद्धिकै लागि हो ।

पानीको पूजा आराधना गरी यसै दिनदेखि रोपाईको शुरुआत गरिने चलन पनि छ । यस दिन स्थान विशेषअनुसार असारे गीत, कौला राग आदि गाउने गरिन्छ । यस पर्वका अवसरमा मध्यकालमा काठमाडौँका दुई टोलका मानिस युद्ध गरेको नाटक गर्ने परम्परा थियो । लडाइँमा चोटपटक लागी मानिस घाइते हुन थालेपछि जङ्गबहादुर राणाले यो चलन बन्द गराएको भन्ने भनाइसमेत छ ।

जेष्ठ शुक्ल सप्तमीका दिन क्षेत्रपाटीस्थित नःघल टोलमा रहेको कुमार कार्तिकेयको मन्दिरमा पूजा सामग्रीसहित विभिन्न प्रकारका नैवेद्य लिएर पूजा गर्न जाने चलन छ । जेष्ठ शुक्ल सप्तमीको दिन राति कुमार कार्तिकेयलाई खटमा राखी राजधानी शहरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । 

कुनै पनि चाडपर्व, जात्राहरुको मूल उद्देश्य भोजभतेर खानु मात्र कदापी हैन, हामीले चाडपर्व मनाउँदा यसको तात्विक अर्थ र महत्व बुझ्न जरुरी छ । आजको पुस्तालाई यस्ता पर्वहरुको विशेषता र मौलिकता अनि विश्वमा प्रचलनमा रहेका अभ्यासहरुको तुलना गरेर संस्कृति संरक्षणमा जागरुक पनि बनाउनु आवश्यक छ । 

पर्वहरुको विशेषता नै हाम्रो सभ्यताको चिनारी हो र हाम्रो संस्कृति नै हाम्रो सम्पत्ति हो भन्ने मान्यताको विकास गर्नुपर्ने समय आइसकेको छ । हामीले मनाउने हरेक चाडपर्वहरुलाई वैज्ञानिक पक्षबाट हेर्ने, बुझ्ने र बुझाउने काम गर्न अब ढिला भैसकेको छ । संस्कृति मासिनु भनेको मानिसको चिनारी हराउनु हो । उसको आफ्नो मौलिकता गुमाउनु हो ।

अझ वैदिककालसम्म जोडिएको नेपालका हरेक जातजाति, क्षेत्र, सम्प्रदायले मनाउने चाडपर्वहरु समग्र मानवहितमा समर्पित छन् र यिनको एउटै मात्र उद्देश्य मानव स्वास्थ्य, वातावरण संरक्षण र प्रकृति रक्षा हो भन्ने मान्यता पुनःस्थापित गर्नुपर्दछ । किनभने, नेपालको हरेक चाडपर्व प्रकृति संरक्षण र मानव हितमा समर्पित छ ।

यसमा रहेका परम्परागत पक्षहरुलाई रुढीवादको जामा पहिराएर पश्चिमाले नारा घोकाइदिएपछि मात्र त्यसको महत्व सम्झने गर्दछौं । हजारौं वर्षदेखि सिथी नखःले पानीका मुहान सँधै सफा राख्नु पर्दछ भनेर बसालिएको प्रथालाई बेवास्ता गर्दै पश्चिमाले पानी दिवस भनेपछि त्यसको पछिलाग्दा हामी सांस्कृतिक अतिक्रमणको शिकार भैरहेका छौँ ।

अरुले भनिदिएको सबै राम्रो मान्दै त्यसैको पछिलाग्ने गर्दा हामीले हाम्रो मौलिकता भुल्दै गएका छौँ । नेपालमा रहेका हरेक जातजातिको चाड पर्व नेपाली संस्कृति हो र यो संस्कृति वैदिक संस्कृतिको एउटा अंग हो भन्ने भुलेर जातीय विभेदमा रुल्मुलिएर मौलिकता नष्ट गरिरहेका छाँै ।

हाम्रा चाडपर्व र संस्कृति कति वैज्ञानिक र दूरदृष्टिकोणले युक्त रहेका छनु भन्ने तथ्य सिथी नखः र आज देखापरेको पानीको समस्याले नै स्पष्ट गर्दछ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा दुई अर्ब भन्दा बढी मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन् । झण्डै पौने दुई अर्ब मानिस फोहोर र मानव मलको अंश मिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र कमजोर सरसफाईका कारण हरेक वर्ष करिब दश लाखजनाको मृत्यु हुने गरेको छ । यो अहिलेको समस्या नेपाली समाजले हजारौं वर्षअघि नै देखेको थियो र पानी सफाईको अभियान चलाउन धार्मिक मान्यता र संस्कार स्थापित गरियो– ‘सिथी नखः’का रुपमा ।

विश्वमा तीव्रगतिमा जनसंख्या वृद्धि भएसँगै पानीको चुनौती थपिएको छ । सन् २०५० सम्ममा विश्व जनसंख्या नौ अर्ब पुग्नेछ तर पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । आगामी दिनमा पानीको समस्या अझ जटिल बन्दै जानेछ । अझ तेस्रो विश्वयुद्ध भएको अवस्थामा त्यो पानीकै लागि हुने समेत बताउन थालिएको छ । यस्तो चिन्ताजनक भविष्य वाणीकाबीच जलस्रोतमा धनी, जैविक विविधतालेयुक्त नेपालको प्राकृतिक वातावरण जोगाउन र मानव सभ्यतालाई बचाउन चाडपर्वहरुको संरक्षण, प्रवद्र्धन र यसका वैज्ञानिक पक्षहरुका प्रचारप्रसार हुनु जरुरी छ ।