साधन घर्ती
म्याग्दी (दरबाङ), मङ्सिर ५ गते । सामुदायिक विद्यालय तर्फ जिल्लामै उत्कृष्ट हुँदै आएको म्याग्दीको बेनी सामुदायिक माविमा डिजिटल स्मार्ट बोर्डबाट पठनपाठन हुन थालेको छ ।
डिजिटल मैत्री बनाउने अभियानका क्रममा रहेको सदरमुकाम बेनी स्थित उक्त विद्यालयले एण्ड्रोइड १४.० भर्सनको एआई प्रविधि सहितका विभिन्न फिचर भएको टचस्क्रिन स्मार्ट बोर्ड जडान गरेको छ ।
विद्यालयमा प्रवेशद्वारदेखि कक्षा कोठासम्म प्रविधियुक्त बनाउन पहिलो चरणमा सात वटा स्मार्ट बोर्ड जडान गरी पठनपाठन सुरू गरिएको विद्यालयका प्रअ दिपक श्रेष्ठले बताउनुभयो ।
स्मार्ट बोर्ड डिजिटल प्रविधि भएकाले कक्षा कोठामा चाहिने विषयवस्तु खोजेर पढ्न र पढाउन सहज हुने प्रअ श्रेष्ठको भनाइ छ ।
विद्यालयले पहिलो चरणमा कक्षा ९, १०, ११ र १२ मा जडान गरेको स्मार्ट बोर्ड आर्थिक स्रोत ब्यवस्थापन भएपछि दोस्रो चरणमा आधारभुत तह ५–८ का सबै कक्षामा स्मार्ट बोर्ड पुर्याउने लक्ष्य विद्यालयको छ ।
कक्षा कोठाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री इन्टर्याक्टिभ (स्मार्ट) बोर्डमा हुने, शिक्षक नभएको अवस्थामा समेत विद्यार्थीले पढ्न र अभ्यास गर्न सक्ने शिक्षक मदन सुबेदीले बताउनुभयो ।
शैक्षिक क्रियाकलापहरू आवश्यकता परेमा विद्यार्थी, अभिभावकहरूलाई सिधै इमेल, क्यू आर कोडको प्रयोग गरी सुरक्षित राख्न तथा अन्य विद्युतीय उपकरणबाट समेत प्रदर्शनी गर्न समेत सकिने भएकाले यसको प्रयोग प्रभावकारी मानिन्छ ।
स्मार्ट बोर्ड जडान गरेसँगै तिव्रगतिको इन्टरनेट समेत जडान गरिएको विद्यालयले जनाएको छ । यसअगाडि विद्यालयले विद्यार्थीले आफ्नो आइडी कार्डमा भएको चिपलाई डिभाइसमा स्क्यान गर्ने ‘ई-हाजिरी’ प्रणाली जडान गरेको थियो ।
विद्यालयमा आधारभुत तहदेखि कक्षा १२ सम्म १४ सय विद्यार्थी अध्ययनरत छन् भने देशभरबाट एक सय ८९ विद्यालयले भ्रमण समेत गरेका छन् ।