• १३ साउन २०८१, आइतबार

शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार आवश्यक छ : राप्रपा अध्यक्ष लिङ्देन

blog

बिहीबार काभ्रेको धुलिखेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । तस्विर - केदार तिमल्सिना

केदार तिमल्सिना 

बनेपा, जेठ १९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी प्रदेश र सङ्घीय निर्वाचनमा पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको पक्षमा आफ्ना एजेन्डा तयार गर्ने जनाएको छ ।

बिहीबार काभ्रेको धुलिखेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताको अन्त्यका लागि वर्तमान शासकीय स्वरुप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले बुधबार र बिहीबार धुलिखेलमा आयोजित पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राप्रपाले पूर्ण समानुपातिक संसद, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रुपमा राजा रहने र तीन तहको सङ्घीयता नभई केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त भएको जनाउँदै आगामी निर्वाचनमा राप्रपाले यो विषयलाई जनताको माझमा लैजाने निर्णय गरेको बताउनुभयो ।

उहाँले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीले समयमा नै उम्मेदवार छनौट गर्न नसकेका कारण अपेक्षित परीणाम आउन नसकेको बताउनुभयो । अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सत्तापक्ष र प्रतिपक्षको गठबन्धन भए पनि राप्रपा एक्लै निर्वाचनमा सहभागी भएको बताउनुभयो । 

उहाँले आगामी प्रदेश र सङ्घीय निर्वाचनका लागि पार्टीले राम्रा उम्मेदवारका लागि पार्टीभित्र र पार्टी बाहिरबाट उम्मेदवार आह्वान गर्ने बताउनुभयो । ‘पार्टीभित्र मात्रै नभई बाहिरबाट कोही उम्मेदवार राप्रपाबाट निर्वाचनमा उम्मेदवार बन्नुहुन्छ भने उहाँहरुलाई समेत साथमा लिएर अघि बढ्नेछौँ’ अध्यक्ष लिङ्देनले थप्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा सत्ता र शक्तिको व्यापक दुरुपयोग भएको आरोप लगाउनुभयो ।

उहाँले स्थानीय तहको निर्वाचनमा पार्टीलाई असहयोग गर्ने तथा विवादित जिल्लाको बारेमा १५ दिनभित्र छानविन गरी कारवाही प्रक्रिया अघि बढाउन निरञ्जन थापाको संयोजकत्वमा छानविन समिति गठन गरिएको बताउनुभयो ।

बैठकले भदौ मसान्तभित्र सबै जनवर्गीय सङ्गठनहरुको महाधिवेशन सम्पन्न गर्ने गरी कार्ययोजना तयार गर्नका लागि सङ्गठन विभागलाई जिम्मेवारी दिएको छ ।