• ३ साउन २०८१, बिहिबार

नौ पालिकामा सकियो कार्यपालिकाको निर्वाचन

blog

रेखीराम राना

पाल्पा, जेठ १९ गते । जिल्लाको नौवटा पालिकामा कार्यपालिका बनेको छ । जिल्लाको तानसेन, रामपुर, माथागढी, निस्दी, पूर्वखोला, बगनासकाली, तिनाउ, रिब्दीकोट र रैनदेवी छहरा गाउँपालिकामा कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ ।  

जिल्लाको तानसेन नगरपालिकाको कार्यपालिकाका लागि ८ जना सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । योसँगै तानसेन नगरपालिकामा २४ जनाको कार्यपालिका बनेको छ । रामपुर नगरपालिकामा आठजना कार्यपालिका निर्वाचित भएपछि २० जनाको कार्यपालिका बनेको छ । 

तानसेनमा गठनबन्धनमा आबद्ध काङ्ग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट उम्मेदवार बनेकाहरू कार्यपालिका सदस्यमा निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा नेपाली काँग्रेसबाट लक्ष्मी नेपाल, सविता भट्टराई, पूजा रावल, दिनेश गन्धर्व र अनुराम दाम, नेकपा माओवादी केन्द्रबाट मञ्जु विक र लक्ष्मी विक तथा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जय घले रहनुभएको छ । 

२४ सदस्यीय कार्यपालिका रहेको तानसेन नगरपालिकामा नेपाली काँग्रेसबाट १७ जना, नेकपा माओवादी केन्द्रबाट दुई जना, नेकपा एमालेबाट चार जना र नेकपा एकीकृत समाजवादीबाट एक जना रहनुभएको छ । यस्तै, रामपुरमा काङ्ग्रेसको एकल बहुमत कार्यपालिका बनेको छ । 

निस्दी र पूर्वखोला, माथागढी र बगनासकालीमा एमालेका उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । यस्तै तिनाउ, रिब्दीकोट र रैनादेवी छहरामा गठबन्धनमा आबद्ध दलबाट उम्मेद्वार बनेकाहरू कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । जिल्लाको रम्भामा भने अहिलेसम्म कार्यपालिका सदस्यको निर्वाचन भएको छैन ।