विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा जाडो मौसम सुरु भएसँगै आगन्तुक चराको आगमन बढ्दै गएको छ। यहाँ साइबेरिया तथा अन्य मुलुकबाट चरा आउने गर्छन्। चराविद्का अनुसार जाडो छल्न र बच्चा कोरल्न तालमा विभिन्न देशबाट विविध चरा आउने गर्छन्। तराईमा जाडो मौसम सुरु भएपछि चराको आगमन बढेको हो। साइबेरिया, रुस, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्केमिनिस्तान, किर्गिस्तानलगायतका देशबाट तालमा आगन्तुक चरा हुलका हुल आउने गरेको चराविद् भूपाल नेपालीले बताउनुभयो। अन्य देशमा बढी जाडो हुने भएकाले चराचुरुङ्गी जाडो छल्न नेपालको तराईतिर आउने गरेको उहाँको भनाइ छ। तालमा कतिपय चराचुरुङ्गीले फूल पारी बच्चा हुर्काउने गर्छन्।
राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले पटक–पटक बजेट विनियोजन गरे पनि मर्मत–सम्भार हुन सकेको छैन। आर्थिक वर्ष २०७५/७६ मा एक अर्ब रुपियाँ सडक सुधारका लागि विनियोजन भए पनि ठेक्का नै नखोली फ्रिज भएको थियो। चालू आर्थिक वर्षमा सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्। तर अधिकांश ठेक्का अलपत्र अवस्थामा रहेका छन्। पाँचवटा ठेकेदारले मात्र काम गरिरहेका छन्। ठुल्ठूला खाल्टाखुल्टी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र बनाएको छैन, धुलोले सडक नदेखिँदा दुर्घटनाको जोखिमसमेत बढाएको छ। सडक डिभिजन कार्यालय दाङबाट करिब ४० करोड बजेट विनियोजन गरेर सल्यान चोरखोलादेखि रुकुम खौलासम्म ८८.४ किलोमिटर सडकमा खण्ड–खण्डमा बाँडिएर पुरानो दुईसहित १८ वटा ठेक्का लागेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ। तर सानो ठेक्कामा पनि ठेकेदार कम्पनीले विभिन्न बहाना गरेर काम सुरु गर्न नसकेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार एउटै कम्पनीले तीनदेखि चार ठाउँसम्ममा ठेक्काको जिम्मा लिएका कारण पनि काम अलपत्र हुने गरेको हो। कार्यालयका इन्जिनियर तथा सूचना अधिकारी रिकेश महर्जनले ठेकेदारलाई पटक–पटक ताकिता गर्दा पनि काम गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार कार्यालयले काम नगर्ने ठेकेदारलाई मौखिक र लिखित रूपमा चिठ्ठी काटेको, पत्रपत्रिकामा सूचना र एपीजी निकालेको छ। २०७६/७७ मा ऊर्जा/कृषक/मस्त जेभी कम्पनीले राप्ती राजमार्गअन्तर्गत पटारे–मोख्ला एक किलोमिटर सडक कालोपत्रेका लागि सम्झौता गरेर काम सुरु गरेको थियो। तर नालामात्र निर्माण गरेर बाँकी काम अलपत्र छाडेको छ।
कैलालीको कैलारी गाउँपालिका–७ स्थित विपत्पुरका अग्निपीडित मुक्त कमैया टेन्टमुनि चिसो रात बिताउन बाध्य छन्। घर अझै नबनेकाले उनीहरू टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका हुन्। गत वैशाखमा आगलागी हुँदा सो बस्तीका २७ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए। त्यसपछि धेरैजसो अग्निपीडित परिवार सङ्घसंस्थाले दिएको टेन्टमा बस्दै आएका छन्। यो जाडोमा टेन्टमुनि कष्टकर रात बिताइरहेको उनीहरूको भनाइ छ।
जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाभित्रका गाउँगाउँमा बाटाहरू पक्की बनाइँदै छ। ११ वटा वडा रहेको अमरगढी नगरपालिकाभित्रका गाउँगाउँका बाटाहरू गत वर्षदेखि पक्की बनाउन थालिएको हो। साँघुरा, घुलाम्मे हुने गोरेटा बाटोहरू पक्की बन्न थालेपछि स्थानीय खुसी देखिन थालेका छन्। सहरी पूर्वाधार विकास कार्यक्रमअन्तर्गत अमरगढीका गाउँहरूमा बाटो पीसीसी गर्न थालिएको हो। सहरी पूर्वाधार विकासअन्तर्गत अमरगढीमा १५ करोड रकम प्राप्त भएको थियो। सो रकम बाँडफाँट गरेर बाटो पक्की बनाउनेलगायत अन्य भौतिक पूर्वाधार निर्माणका कामहरू भइरहेको अमरगढी नगरप्रमुख डिल्लीराज जोशीले बताउनुभयो।
कैलालीस्थित कर्णाली नदीमा जाडोयाममा दुर्लभ डल्फिन देखा परिरहेका छन्। वर्षायाममा कर्णालीका सहायक नदीहरू मोहना, पथरैया, कान्द्रामा देखिने डल्फिन अहिले भने कर्णालीमा देखा परेका हुन्। टीकापुर नगरपालिका–८ स्थित श्रीलङ्का क्षेत्र, अरुणफाँटालगायतका कर्णालीको तल्लो तटीय क्षेत्रमा केही सङ्ख्यामा डल्फिन देखा पर्दै छन्।
झापाको शिवसताक्षीमा जङ्गली हात्तीले आतङ्क मच्चाउँदै मानिसको ज्यानै लिन थालेपछि सरोकारवालासँग छलफल सुरु भएको छ। हात्ती प्रभावित सरोकार समाज शिवसताक्षीले अन्तक्र्रिया सुरु गरेको छ। शिवसताक्षीमा पछिलो समय हात्तीको आक्रमणबाट मानवीय क्षतिसमेत भएको छ। जङ्गली हात्तीले रात्रिको समयमा शिवसताक्षीका वडा नं. १, ८, ९ र १० का स्थानीयका घर भत्काइदिने, खाद्य सामग्री खाइदिने खालका गतिविधिहरू गर्दै आएका स्थानीयवासीको गुनासो छ।
सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी तवरले जनस्तरमा पुग्न सकेको छैन। हिमाली जिल्ला म्याग्दीमा एक तिहाइ जनसङ्ख्याले पनि यसको उपभोग गर्न पाएका छैनन्। यद्यपि यस कार्यक्रमप्रति जनताको अपेक्षा भने धेरै भएको देखिन्छ। २०७३ सालबाट म्याग्दीमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमबाट पाँच हजार ५१६ परिवारका २८ हजार ३४३ जनाले सेवा लिइरहेका छन्।
पूर्वी नवलपरासीको सिमसार क्षेत्रमा मानव बस्तीको विकास भएसँगै आगन्तुक जलपन्छीको सङ्ख्यामा कमी हुँदै गएको छ। अव्यवस्थित मानव बस्तीका कारण सिमसार क्षेत्रसमेत नासिँदै गएको छ। हिउँद तथा वर्षामा पाइने चराहरूको सङ्ख्यामा हरेक वर्ष कमी हुँदै गएको जल तथा पन्छी गणनाले देखाएको छ। पश्चिम सेक्टर चितवन राष्ट्रिय निकुञ्जका जलपन्छी गणना संयोजक डीबी चौधरीका अनुसार ग्लोबल वार्मिङ (विश्व तापक्रमवृद्धि)ले गर्दा एक ठाउँमा पुग्नुपर्ने चरा अन्तै जान थालेका बताउनुभयो। त्यस्तै मानव बस्ती कारण असुरक्षित बसोवासले गर्दा पनि चराको सङ्ख्यामा कमी हुन गएको बताइएको छ।
ग्रामीण भेगका स्वास्थ्य चौकीमा रहेका प्रसूति कक्षमा वैकल्पिक ऊर्जाको व्यवस्थापन नहुँदा मोबाइलको बत्ती बालेर प्रसूति गराउनुपर्ने बाध्यता छ। नियमित प्रयोग हुँदै आएको स्थानीय स्तरमा उत्पादित विद्युत् तथा केन्द्रीय प्रसारण लाइनको विद्युत् बेलाबेलामा जाने समस्या हुँदा अन्तिम अवस्थामा मोबाइलकै लाइट वा ‘टर्च’ बालेर प्रसूति गराउनुपर्ने बाध्यता भएको हो।
नदी सभ्यतालाई जोगाइ राख्नु नै प्रकृतिलाई जोगाइ राख्नु हो । सफा तथा स्वच्छ खानेपानी आपूर्ति सफा नदीबाट सम्भव हुन्छ । सफा नदीबिना वातावरणीय सन्तुलन कायम राख्न सकिन्न । वातावरणीय सन्तुलन कायम गर्न पनि नदी सफा तथा स्वच्छ हुनु अनिवार्य छ । यसको ठीक विपरीत नेपाल र भारतको सिमाना भएर बग्ने पवित्र महाकाली नदी दुवैतिरबाट फोहोरले भरिन थालेको छ । पवित्र हुनुपर्ने नदीको यो दुर्दशा ज्यादै दुःखद विषय हो । अहिले यो नदी दुवै देशको डम्पिङ साइटका रूपमा परिणत हुँदै गएको छ । दुवै देशको सीमा भएर बग्ने महाकाली नदी नामबाट समेत पवित्र छ । तर दुवै देशका नागरिकको अज्ञानता, लापरबाही तथा चेतनाको अभावमा दिनानुदिन प्रदूषित बन्दै गएको अवस्था निकै नै चिन्ताजनक अवस्था मान्न सकिन्छ ।
गएको साउनमा जुनीचाँदे गाउँपालिका — ५ की मनीषा गिरीले प्राथमिक स्वास्थ्य केन्द्र गर्खा कोटमा शिशुलाई जन्म दिनुभयो । सुत्केरी भएर स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्कँदा उहाँलाई स्वास्थ्य संस्थाले सुत्केरी तथा गर्भवती जाँच तथा पोषण रकम बापतको भत्ता नदिएरै बिदा गर्यो । भत्ता लिनका लागि उहाँ तीन पटक स्वास्थ्य केन्द्रमा पुग्नुभयो तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन ।
राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो ।
जिल्लाको सबैभन्दा पुरानो र जेठो नगरपालिका कलैया उपमहानगरपालिकाले लगानी गरेको कृषि बजार व्यवस्थापन हुन नसक्दा किसानहरू मारमा पर्दै आएका छन्। पायक पर्ने स्थानमा हाटबजार नहुँदा किसान बिचौलियाको मारमा पर्दै आएको कलैया उपमहानगरपालिका–२ का तरकारी किसान गङ्गा राउतले बताउनुभयो।
प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो ।
सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषद्मा सकारात्मक छलफल भएको जानकारी दिनुभएको छ ।