• १३ असोज २०८१, आइतबार

बच्चा हुर्कियो तर पाएनन् सुत्केरी आमाले भत्ता

blog

सहदेव बस्नेत

जाजरकोट, माघ ६ गते । गएको साउनमा जुनीचाँदे गाउँपालिका — ५ की मनीषा गिरीले प्राथमिक स्वास्थ्य केन्द्र गर्खा कोटमा शिशुलाई जन्म दिनुभयो । सुत्केरी भएर स्वास्थ्य अवस्था सामान्य  भएपछि घर फर्कँदा  उहाँलाई स्वास्थ्य संस्थाले सुत्केरी तथा  गर्भवती जाँच तथा पोषण रकम बापतको भत्ता नदिएरै बिदा गर्यो । भत्ता लिनका लागि उहाँ तीन पटक स्वास्थ्य केन्द्रमा पुग्नुभयो तर गाउँपालिकाबाट भत्ता नआएको भन्दै रित्तो हात फर्किन बाध्य भइन् ।  

पुस २२ गते जुनीचाँदे गाउँपालिका ४ कि विमला बिष्ट पनि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा सुत्केरी हुनुभयो । उहाँले पनि सुत्केरी भत्ता बापतको रकम हालसम्म पनि प्राप्त नगरेको बताउनुभयो । . उहाँलाई  पनि सुत्केरी र पोषण भत्ता बापतको रकम गाउँपालिकाले नपठाएको भन्दै रित्तो हात घर फर्काइएको छ ।  

मनीषा र  विमला मात्रै होइन साउन महिनादेखि जुनीचाँदेका कुनै पनि सुत्केरी आमाले भत्ता पाउन सकेका छैनन्  । आर्थिक विपन्नता र  अभावमा गुज्रिएका आमाहरूलाई सुत्केरी अवस्थामा पोसिलो खानका लागि सहयोग मिलोस् भन्ने उद्देश्यले सरकारले सुत्केरी र  पोषण भत्ता दिँदै आएको छ । 

 सुत्केरी समयमा पोषणयुक्त खानेकुरा खानका लागि वितरण गर्ने रकम सुत्केरी भएको ६ महिनासम्म नपाएको भन्दै सुत्करी आमा र महिलाहरु आक्रोशित छन् तर आर्थिक रूपमा विपन्न यहाँका सुत्केरी आमाहरू भत्ता नपाएपछि पोसिलो खानेकुरा  खान नपाएको गुनासो गर्छन् । आफूसँग त रकमै छैन सरकारले दिन्छ र पोसिलो खानेकुरा खाउँला भनेका थियौँ तर अहिलेसम्म रकम नपाउँदा निकै दुःख लागेको विमला विष्टको गुनासो छ । गाउँपलिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जना पुरुष भएका कारण महिलाको पीडा नबुझ्दा सुत्केरी महिलाहरु मर्कामा परेको उहाँहरुले गुनासो गर्नुभयो । सुत्केरी समयमा पोषणयुक्त खानेकुरा खानका लागि वितरण गर्ने रकम सुत्केरी भएको ६ महिनासम्म नपाएको भन्दै सुत्करी आमा र महिलाहरु आक्रोशित हुँदै आएका छन् । बजेट विनियोजनको प्रक्रिया भनेर पटक पटक बदमासी गरेकाे महिलाहरुको भनाइ छ। 

उता रकम निकासामा भएको ढिलाइका कारण समयमै सुत्केरी भत्ता वितरण गर्न नसकेको जुनीचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रेमबहादुर  शाहीले बताउनुभयो । रकम निकासामा भएको ढिलाइका कारण चालु  आर्थिक वर्षमा  कसैलाई पनि सुत्केरी तथा पोषण भत्ता  दिन नसकेको बताउनुभयो । भत्ताका लागि पालिकामा आएका आठ जना आमाहरूको फाइल रकम  निकासाका लागि प्रक्रिया अगाडी बढाएको शाहीको भनाइ  छ । 

पालिकाका प्रमुख वेदबहादुर शाही सबै स्वास्थ्य संस्थामा रकम पठाउने प्रक्रिया अगाडि बढाएको बताउनुहुन्छ । रकम निकासा ढिलाइका कारण सुत्केरी प्रोत्साहन भत्ता जस्तो रकम नपाउनु कमजोरी रहेको शाहीको भनाइ छ ।

सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएका  भएका हरेक आमाले दुई हजार प्रोत्साहन भत्ता, दुई हजार पोषण भत्ता र  आठ पटकसम्म गर्भ चेकजाँच गराएमा प्रति पटक एक सयका दरले आठ सय भत्ता पाउने व्यवस्था गरेको छ ।