• १३ असोज २०८१, आइतबार

टेन्टमुनि चिसो रात काट्दै अग्निपीडित मुक्त कमैया

blog

धनगढी समाचारदाता

धनगढी, माघ ६ गते । कैलालीको कैलारी गाउँपालिका–७ स्थित विपत्पुरका अग्निपीडित मुक्त कमैया टेन्टमुनि चिसो रात बिताउन बाध्य छन्। घर अझै नबनेकाले उनीहरू टेन्टमुनि चिसो रात बिताउन बाध्य भएका हुन्। गत वैशाखमा आगलागी हुँदा सो बस्तीका २७ घर पूर्ण रूपमा जलेर नष्ट भएका थिए। त्यसपछि धेरैजसो अग्निपीडित परिवार सङ्घसंस्थाले दिएको टेन्टमा बस्दै आएका छन्। यो जाडोमा टेन्टमुनि कष्टकर रात बिताइरहेको उनीहरूको भनाइ छ। 

“टेन्टले शीत रोक्न सक्दैन,” सीता चौधरीले भन्नुभयो, “रातभरि चुहिन्छ, ओछ्यान सबै भिज्ने गर्छ।” टेन्टमुनि चिसो रात बिताउँदा बालबालिकासहित ठूला मान्छे पनि बेला–बेलामा बिरामी परिरहेको मुक्त कमैयाले जनाएका छन्। “रुघाखोकी लागेर धेरै बालबच्चा बिरामी पर्ने गरेका छन्,” सीताले भन्नुभयो। 

अग्निपीडित मुक्त कमैया विगत नौ वर्षदेखि टेन्टमा बास बस्दै आएका छन्। भएको घर जलेर नष्ट भएको र अर्को बनाउन नसकिएपछि सङ्घसंस्थाले दिएको टेन्टमा बस्दै आएको पीडित जोहारीलाल चौधरीको भनाइ छ। “दुःख कष्ट भोगेर जेनतेन जाडोयाम कटाइरहेका छौँ,” उहाँले भन्नुभयो। 

अग्निपीडितले थारू समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) पनि टेन्टमै मनाएका छन्। माघ थारू समुदायको नयाँ वर्ष मात्रै नभई मुक्त कमैयाका लागि स्वतन्त्रताको पर्व पनि हो। तत्कालीन समयमा कमैयाहरूले माघी पर्वमा मात्रै मालिक वा जमिनदारको घरबाट बिदा पाउने गर्थे। वर्षमा उनीहरू माघी पर्वमा मात्रै बिदा पाउने गरेका कारणले मुक्त कमैयाले यसलाई स्वतन्त्रताको पर्वका रूपमा मनाउँदै आएका छन्। 

तर विपत्पुरका मुक्त कमैयालाई यस वर्षको माघको रौनकले खासै छोएन। नाचगान नगरेर साधारण तरिकाले माघ मनाएको सीताको भनाइ छ। “अरू बेला नाच हुन्थ्यो तर यस पटक दुःख पनि परेकाले त्यस्तो केही छैन,” उहाँले भन्नुभयो। आफ्नो ठूलो पर्व सामान्य तरिकाले मनाएको अर्का पीडित छेदनियाँदेवी चौधरीको भनाइ छ। 

अग्निपीडित मुक्त कमैयाको घर एकीकृत मुख्यमन्त्री बस्ती विकास कार्यक्रमअन्तर्गत प्रदेश सरकारले बनाउँदै छ। २७ वटा घर निर्माणका लागि शिलान्यास गरिए पनि निर्माणको कार्य भने हालसम्म अगाडि बढाइएको छैन। चार महिनाको अवधिमा घर निर्माण हुने सम्झौता गरिए पनि निर्माण कार्य सुरु नभएको बस्तीका भलमन्सा हिङ्गुराम चौधरीले बताउनुभयो। “काम अहिलेसम्म सुरु भएको छैन,” उहाँले भन्नुभयो, “तर श्रमदान हामी आफैँले गर्ने भएकाले चार महिनामा घर बन्छ भन्नेमा आशावादी छौँ।” 

कुल एक करोड ८२ लाख १२ हजारमा २७ वटा पक्की घर बन्ने जनाइएको छ, जसमा ९० लाख रुपियाँ प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र ५४ लाख रुपियाँ सुरक्षित आवास परियोजनाको रहनेछ। ३८ लाख १२ हजार रुपियाँ बराबरको जनश्रमदान लाभग्राही समुदायले गर्ने जनाइएको छ।