• ११ मंसिर २०८१, मङ्गलबार

कर्णालीमा देखिए डल्फिन

blog

अविनाश चौधरी 

धनगढी, माघ ६ गते । कैलालीस्थित कर्णाली नदीमा जाडोयाममा दुर्लभ डल्फिन देखा परिरहेका छन्। वर्षायाममा कर्णालीका सहायक नदीहरू मोहना, पथरैया, कान्द्रामा देखिने डल्फिन अहिले भने कर्णालीमा देखा परेका हुन्। टीकापुर नगरपालिका–८ स्थित श्रीलङ्का क्षेत्र, अरुणफाँटालगायतका कर्णालीको तल्लो तटीय क्षेत्रमा केही सङ्ख्यामा डल्फिन देखा पर्दै छन्। 

सहायक नदीहरूमा वर्षामा मात्रै डल्फिन आउने गरे पनि कर्णालीमा भने सधैँभरि डल्फिन बस्ने गरेको चराविद् तथा संरक्षणकर्मी हिरूलाल डङ्गौराको भनाइ छ। उहाँले यो वर्ष हिउँदभरि कर्णालीमा डल्फिन देखा परिरहेको बताउनुभयो। 

डल्फिन बस्नका लागि नदीमा पानीको गहिराइ आवश्यक पर्छ। अहिले कर्णालीबाहेक अरू नदीमा गहिराइ छैन। मोहना, पथरैया, काँढा नदीमा पानीको सतह घटेपछि डल्फिनहरू कर्णाली नदीतिर फर्कने गरेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताउनुभयो। हिउँदमा कर्णाली नदीमा एकै दिन सातवटासम्म डल्फिन देखा परेको उहाँले जानकारी दिनुभयो। 

“अस्ति अरुणफाँटा क्षेत्रमा सातवटा देख्यौँ,” उहाँले भन्नुभयो, “एक/दुईवटा अरू बेला पनि देखा परिरहेका छन्।” विश्वमै दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन स्वच्छ पानीमा मात्रै बस्ने र आहारविहार गर्न रुचाउँछन्। अर्ध अन्धो मानिने डल्फिनले तरङ्गमार्फत आफ्नो आहारा, समूह पत्ता लगाउने गर्छन्। यसैगरी सम्भावित खतरालाई पनि यो प्रजातिको डल्फिनले तरङ्गमार्फत नै थाहा पाउने गर्छन्। एउटा वयस्क डल्फिनको तौल एक सयदेखि १६० केजीसम्म हुने गरेको बताइन्छ। यो प्रजातिको डल्फिन २० देखि २५ वर्षसम्म बाँच्ने गर्छन्। 

पानीमा बसे पनि दुई/तीन मिनेटको फरकमा सास फेर्नका लागि डल्फिन पानीबाहिर निस्किने गर्छन्। त्यस बेला ‘स्वाँ’ आवाज निस्कने भएकाले स्थानीयले ‘सोंस वा स्वाँसु’ भनेर चिन्छन्। डल्फिनले सास फेर्ने प्वाललाई ‘ब्लो होल’ भन्ने गरिन्छ। डल्फिनले वर्षमा एउटा बच्चा जन्माउने गरेको जनाइएको छ। 

अहिले कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा देखा परिरहेका विश्वमै दुर्लभ डल्फिन बर्खाभरि बच्चा हुर्काउन र आहारविहार गर्नका लागि सहायक नदीमा पुग्ने गर्छन्। यस वर्षको वर्षामा मोहना, पथरैया र कान्द्रामा गरेर करिब ४० वटासम्म डल्फिन देखा परेको अध्यक्ष ढुङ्गानाले बताउनुभयो। डल्फिन हेर्नका लागि हरेक वर्ष विदेशी पर्यटकसमेत यहाँ पुग्ने गर्छन्। 

डल्फिन पाइने क्षेत्रमा माछा मार्न प्रतिबन्ध लगाइए पनि यो कार्य अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आएको छैन। जथाभावी माछा मार्दा दुर्लभ डल्फिनलाई असर परिरहेको छ। माछा मार्ने काम सबैभन्दा ठूलो चुनौतीको विषय बनेको उल्लेख गर्दै अध्यक्ष ढुङ्गानाले भन्नुभयो, “डल्फिन संरक्षण क्षेत्र वा सेन्चुरी घोषणा गरिएको भए सायद माछा मार्ने कार्य रोकिन्थ्यो कि!” उहाँले भारतीय मछुवाहरूसमेत आएर कर्णालीमा जथाभाबी माछा मार्ने गरेको बताउनुभयो।