• १२ असोज २०८१, शनिबार

जगदीशपुरमा आगन्तुक चरा बढ्दै

blog

तौलिहवा समाचारदाता 

तौलिहवा, माघ ६ गते । विश्व सीमसार क्षेत्रमा सूचीकृत कपिलवस्तुको जगदीशपुर तालमा जाडो मौसम सुरु भएसँगै आगन्तुक चराको आगमन बढ्दै गएको छ। यहाँ साइबेरिया तथा अन्य मुलुकबाट चरा आउने गर्छन्।

चराविद्का अनुसार जाडो छल्न र बच्चा कोरल्न तालमा विभिन्न देशबाट विविध चरा आउने गर्छन्। तराईमा जाडो मौसम सुरु भएपछि चराको आगमन बढेको हो। साइबेरिया, रुस, चीन, मङ्गोलिया, मध्य एसियाका तुर्केमिनिस्तान, किर्गिस्तानलगायतका देशबाट तालमा आगन्तुक चरा हुलका हुल आउने गरेको चराविद् भूपाल नेपालीले बताउनुभयो। अन्य देशमा बढी जाडो हुने भएकाले चराचुरुङ्गी जाडो छल्न नेपालको तराईतिर आउने गरेको उहाँको भनाइ छ। तालमा कतिपय चराचुरुङ्गीले फूल पारी बच्चा हुर्काउने गर्छन्। निकै आकर्षक र मनमोहक देखिने तालमा चराचुरुङ्गीको जलविहार, चिरबिराहट र जलक्रीडाले मानवीय जीवनलाई रोमाञ्चित बनाउने गरेको छ। यस वर्ष तालमा प्रशस्त स्वदेशी तथा विदेशी पर्यटकसमेत चरा हेर्न आउने गरेका छन्। करिब चारदेखि पाँच हजार माइल उडेर चरा यहाँ आउने गरेका हुन्। 

वरिष्ठ चराविद् डा. हेम सागरले पाँच/छ महिना चराहरू बसेपछि वैशाख÷जेठतिर फर्किने गरेका छन्। तालमा सिमसारमा आश्रित ६० देखि ७० प्रजातिलगायत थप दुई सय प्रजातिका चराचुरुङ्गी पाइने गरेको डा. बरालले बताउनुभयो। तालमा पेकिङ डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानीहाँस प्रशस्त देखिन्छन्। त्यस्तै सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला र सेतो गरुडलगायतका चरा पनि यहाँ आउने गर्छन्।