• १२ असार २०८१, बुधबार

सुनकोसी–मरिण डाइभर्सन

तीन महिनामा दुई किलोमिटर सुरुङ

blog

सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सिन्धुलीको कमलामाई नगरपालिका–२, कुसुमटारमा टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खनिँदै । तस्बिर : बाबुराम देवकोटा

बाबुराम देवकोटा

कुसुमटार (सिन्धुली), माघ ६ गते । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ ।

टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७ मिटर सुरुङ निर्माण गरिएको उक्त आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालका अनुसार १३ दशमलव तीन किलोमिटर लामो सुरुङ असोज २८ गतेदेखि कमलामाई नगरपालिका–२, कुसुमटारबाट खन्न सुरु गरिएको थियो । 

मासिक रूपमा कम्तीमा पनि पाँच सय मिटर सुरुङ निर्माण गर्ने लक्ष्य रहेकामा अहिले लक्ष्यभन्दा ८०७ मिटर बढी निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । टनेल बोरिङ मेसिनबाट सुरुङ निर्माण कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले गरिरहेको छ ।

आयोजना प्रमुख बरालले भन्नुभयो, “सुरुङ निर्माणको प्रगति लक्ष्यभन्दा बढी भएको छ । सुरुङ खन्ने क्रममा दुई हजार ११२ मिटरभित्र पुगेपछि केही भौगर्भिक (जियोलोजिकल) समस्या देखिएकाले नौ दिनसम्म काम रोकियो । बाइपास टनेल निर्माण गरी त्यसलाई निकालेर अहिले पुनः काम भइरहेको छ ।” सुरुङ निर्माण गर्न चुरेमा सजिलो हुने र सानातिना समस्या त आइरहने उहाँको भनाइ छ । 

महाभारत क्षेत्रमा पुगेपछि भौगर्भिक समस्या आउन सक्ने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार यही गतिमा सुरुङ निर्माण भएमा तोकिएको २२ महिनाको अवधिभन्दा अघि नै निर्माण सम्पन्न हुने अनुमान गरिएको छ । सुरुङ निर्माणले गति लिएसँगै भौतिक प्रगति बढ्दै जाने र सुनकोसीमा हेडवक्र्स निर्माणको ठेक्का सम्झौता गर्न तयारी भइरहेको आयोजना प्रमुख बरालले जानकारी दिनुभयो । 

अहिले दैनिक सरदर २५ मिटर र कुनै दिन ३८ मिटरसम्म सुरुङ निर्माण गरेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सुरुङ निर्माणका लागि कोभेकसँग सन् २०२१ मार्च १९ मा सम्झौता भएको थियो । सुरुङ निर्माणको अवधि ५१ महिना भए पनि कोभेकले दुई वर्षभित्र १३ दशमलव तीन किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । उक्त मेसिनले सुरुङ खन्दै दुई वर्षमा खुर्कोटमा निस्किनेछ ।

सुरुङ खन्न मात्रै कोभेकले करिब ११ अर्ब रुपियाँमा ठेक्का पाएको आयोजना प्रमुख बरालले स्पष्ट पार्नुभयो । आयोजनाका अनुसार खुर्कोटमा सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी सुनकोसी नदीको पानी उक्त सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२, कुसुमटारस्थित मरिणखोलामा खसालिनेछ । त्यहाँ ६६ मिटर हेडबाट पानी झारेर ३१ दशमलव ०७ मेघावाट विद्युत् उत्पादन गरिनेछ । 

आव २०७७/७८ देखि सुरु भएको आयोजना २०८४/८५ सम्ममा सक्ने लक्ष्य रहेको छ । आयोजनाको कुल लागत करिब ४६ अर्ब रुपियाँ रहने अनुमान गरिएको आयोजनाले जनाएको छ । 

बहुउद्देश्यीय सो आयोजनाको मुख्य उद्देश्य विद्युत् उत्पादनसँगै तराईका जिल्लामा बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लामा गरी एक लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु-याउने रहेको छ ।