ओस्लो, असार २१ गते । नर्वे र युक्रेनले आपसी सहयोग विस्तार गर्ने उद्देश्यले एक महत्त्वपूर्ण स्वास्थ्य साझेदारी सम्झौता गरेका छन् । नर्वे सरकारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी उल्लेख गरिएको छ । उक्त सम्झौता यसै साता युक्रेनको राजधानी किभमा सम्पन्न भएको हो ।
नर्वेका स्वास्थ्य मन्त्री जान क्रिस्टियन वेस्ट्रे र युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लियाश्कोले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । मन्त्री वेस्ट्रे हाल युक्रेनको औपचारिक भ्रमणमा हुनुहुन्छ ।स्वास्थ्य साझेदारीमार्फत दुवै देशका स्वास्थ्य सम्बन्धी निकाय, शैक्षिक संस्था तथा चिकित्सकहरूबिच अनुभव आदानप्रदान, तालिम र समन्वयका विविध कार्यक्रमहरू सञ्चालन गरिने छ ।
मन्त्री वेस्ट्रेले सहकार्यबाट दुवै मुलुक लाभान्वित हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “युक्रेनबाट हामीले युद्धको अवस्थामा स्वास्थ्य सेवा व्यवस्थापन, नागरिक–सैनिक सहकार्य र प्रविधिको उपयोगजस्ता महत्त्वपूर्ण पक्षहरूमा सिक्न सक्छौँ । त्यसै गरी, नर्वेबाट हामी मानसिक स्वास्थ्य, पुनः स्थापना तथा एन्टिमाइक्रोबियल प्रतिरोधजस्ता क्षेत्रमा युक्रेनलाई सघाउन सक्छौँ ।”
नर्वेले युक्रेनलाई प्रदान गर्दै आएको सहयोग नान्सेन कार्यक्रम अन्तर्गत पर्दछ, जसले नागरिक तथा सैनिक दुबै प्रकारका सहायता समेट्ने गर्दछ । मन्त्री वेस्ट्रेले आफ्नो भ्रमणका क्रममा नर्वेको योगदान युक्रेनी स्वास्थ्य सेवामा कसरी उपयोग भइरहेको छ भन्ने विषयमा प्रत्यक्ष अनुभव प्राप्त गर्नुभएको जानकारी दिनुभयो ।
उक्त सहयोग विश्व स्वास्थ्य सङ्गठन, विश्व बैँक तथा काउन्सिल अफ युरोप डेभलपमेन्ट बैँकजस्ता प्रमुख अन्तर्राष्ट्रिय निकायहरूमार्फत प्रदान गरिएको हो। साथै, नर्वेले युक्रेनी बिरामीहरूको उद्धार तथा उपचारका लागि आफ्ना अस्पतालहरूमा सेवा उपलब्ध गराउँदै आएको पनि जनाइएको छ । रासस/सिन्ह्व