रङ्गेली समाचारदाता
विराटनगर, साउन १५ गते । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीलाई गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग सङ्गठन मोरङमा बुधबार अन्तर्क्रिया गर्दै लगानीका लागि अनुरोध गरेको हो । मधेश प्रदेशको सप्तरी जिल्लास्थित बसबिट्टीमा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि प्रशस्त जग्गा उपलब्ध रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष बाबुराम पन्तले बताउनुभयो । यो औद्योगिक क्षेत्रमा लगानी गरेर उद्योग स्थापना गर्दा विद्युत्, पानी, जग्गा उपलब्ध गराउन सकिने भन्दै उद्योगीलाई आश्वस्त पारिएको थियो ।
अध्यक्ष पन्तले मझौला तथा साना उद्योगका लागि ८९.९१ रोपनी जग्गा विकसित गरिएको र न्यूनतम पाँचदेखि आठ रोपनीसम्मका प्लट उपलब्ध हुने बताउनुभयो । यहाँ उद्योग स्थापना गर्ने उद्योगीलाई ४० वर्षको लिज सम्झौता गर्न सकिने उहाँले बताउनुभयो । हाल यस क्षेत्रमा १२ वटा उद्योग सञ्चालन रहेको बताउँदै परियोजना धितो राखेर बैङ्क कर्जा उपलब्ध हुने बताउनुभयो । उद्योगीले एक रोपनी जग्गाको प्रतिवर्ष १३ हजार ८९१ रुपियाँ ५० पैसा भाडा बुझाउन पाउने सहुलियत तय गरिएको जानकारी दिइएको छ ।
गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका प्रमुख मनिषकुमार मिश्रले जग्गा, भवन बहाल लिन इच्छुक उद्योगी व्यवसायीले साउन २१ गतेसम्म प्रस्ताव पेस गर्ने अवधि रहेको जानकारी दिनुभयो । उहाँले उद्योग स्थापनापछि कुनै कारण सञ्चालन हुन नसकेको अवस्थामा अर्को उद्योगमा स्वामित्व हस्तान्तरण गर्नसमेत सहजीकरण गर्ने बताउनुभयो ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले निजी क्षेत्रले उद्योग स्थापना गर्दा पूर्वाधार विकासमा ठुलो रकम खर्च हुने गरेको बताउनुभयो । उहाँले सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीका लागि सप्तरीभन्दा नजिक रहेको सुनसरीको अमडुवामा कोरिडोर स्थापनाको पहल गरिदिन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसँग आग्रह गर्नुभएको थियो । अन्तव्रिर्mयामा मोरङ उद्योग व्यापार सङ्घ, सुन्दरहरैँचा, झुम्का उद्योग वाणिज्य सङ्घ, नेपाली युवा उद्यमी मञ्च विराटनगरका प्रतिनिधि, सङ्गठनका कार्यसमिति सदस्य, उद्योगी व्यवसायीको सहभागिता थियो ।