• १३ साउन २०८१, आइतबार

७३१ राहदानीसहित तीन जना पक्राउ

blog

काठमाडौँ, माघ ६ गते । प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२६, गोङ्गबुमा रहेका दुईवटा होटलबाट ७३१ थान राहदानी (पासपोर्ट)सहित तीन जनालाई प्रक्राउ गरेको छ । 

गोङ्गबुको वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको होटल सोना र होटल पल्लीकोटबाट बिहीबार उक्त राहदानीसहित प्रहरीले प्रक्राउ गरी वैदेशिक रोजगार विभागलाई जिम्मा लगाएको हो । 

प्रहरी परिसर काठमाडौँका प्रवक्ता दिनेश मैनालीले होटलमा शङ्कास्पद व्यक्ति भएको भन्ने सूचनाका आधारमा गोङ्गबु प्रहरी प्रभागबाट अनुसन्धानका लागि प्रहरी टोली खटाइएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यसरी खटेको टोलीले होटल सोनाबाट शङ्कास्पद रूपमा रहेको ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी ७३१ थान राहदानी बरामद गरेको थियो । प्रक्राउ पर्नेमा कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा नगरपालिका–९, म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजङ खड्कासहित तीन जना रहेको प्रहरीले जनाएको छ । विभागका महानिर्देशक उमाकान्त आचार्यले ७३१ थान राहदानी र लोकजङ खड्कासहितका तीन जना विभागको नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, “उनीहरूको अनुसन्धान बाँकी रहेको छ, वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) सञ्चालक हुन् वा तालिम प्रदायक संस्था हुन् वा स्वास्थ्य परीक्षण गर्ने संस्थान हुन्, केही खुलेको छैन, अनुसन्धानपछि मात्रै भन्न सकिन्छ ।”  

विभागले विभागकै अनुसन्धान अधिकृतको नेतृत्वमा खड्कासहितका तीन जनाको अनुसन्धान गरेर कसुरका आधारमा कानुनअनुसार कारबाही हुने विभागका महानिर्देशक आचार्यले बताउनुभयो ।