अवैध हुण्डीको कारोबारको अभियोगमा पक्राउ परेका मोरङ जिल्लको रंगेली नगरपालिका वडा नम्बर ४ चोप्राहा निबासी दुइजनामाथि इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले सूक्ष्म अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
बिदुर नगरपालिका –१२ मा आज बस दुर्घटना हुदाँ तीन जनाको निधन भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका –१ दाङसिंहतर्फ जाँदैगरेको बा २ ख ८४५ नम्बरको बस विदुर –१२ चैनपुरस्थित पीपलबोट भन्ने स्थानमा दुर्घटना हुदाँ ३ जनाको निधन भएको नुवाकोट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा त्रिशूली अस्पतालमा आज निधन भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले सामूहिक भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौती समाधानमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख नरेन्द्र कार्कीले सरकारी राजश्वबाटै तलब खाने नेपालका प्रहरी राजस्व सङ्कलन काममा इमान्दार भएको बताउनुभएको छ । सुनसरी जिल्लाबाट सरुवा भएर सप्तरी जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न यहाँ आउनुभएका प्रहरी उपरीक्षक कार्कीले त्यस्तो बताउनुभएको हो ।
दोलखाको सदरमुकाम चरिकोटस्थित रहेको च्छोरोल्पा जनरल अस्पताल प्रालिले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी र क्रोनोस्कोपी सेवा प्रारम्भ गरेको छ ।
पर्सा प्रहरीले वीरगञ्जको बसपार्कमा रहेको डाँफे होटलबाट चार जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार होटलमा शंकास्पद अवस्थामा बसेका युवालाई चेकजाँच गर्दा प्रतिबन्धित लागूऔषध डाइजेपाम ५० एम्पुल, नुरफिन ५० एम्पुल, फेनारगन ५० एम्पुल गरी जम्मा १५० एम्पुल फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।
ताप्लेजुङका नयाँ प्रहरी प्रमुख राजन लिम्बूले नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउने प्रतिबद्धता जनाउनुभएको छ । सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लिम्बूले सर्वसाधारण नागरिकले आफू सुरक्षित छु भन्ने महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
दाङको लमही नगरपालिका क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको छ । पछिल्लो केही दिन यता लमही नगरपालिका –३ जखेरा र वडा १ बसन्तापुर क्षेत्रमा गरी चितुवाले २५ वटा बाख्रा मारेको छ ।
चिशंखुगढी गाउँपालिकामा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि आयोजकले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा रावाबेँसी गाउँपालिका खोटाङलाई हराउँदै चिशंखुगढी गाउँपालिका ओखलढुङ्गाले उपाधि जितेको हो ।
निर्देशक दिनेश राउतको आगामी म्युजिकल लभस्टोरी फिल्मको नायिकामा गायिका दीक्षिता कार्की अनुबन्धित हुनुभएको छ । फिल्ममा उहाँ गायक स्वप्न सुमनसँग देखिनुहुनेछन् ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्थानीय तह निर्वाचनमा चुनावी खर्चको विवरण समयमा नबुझाएका कारण जरिवाना तिर्नुपर्ने प्रावधानविरुद्ध दायर गर्नुभएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
थारू संस्कृति, कला तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालय भवन प्रयोग बिहीन भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका –२ लोहरौलामा ३७ लाख रुपियाँको लागतमा निर्माण गरिएको संग्रहालय भवन निर्माण सम्पन्न भएको चार वर्ष पुग्दा पनि सञ्चालनमा नआएको हो । भवनको २०७६ मा निर्माण कार्य सम्पन्न भएको थियो ।
१९औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको लागि विश्व प्रसिद्ध स्पोर्ट्स ब्रान्ड एडिडासले सहयोग गर्ने भएको छ ।
दाङको तुलसीपुर उपमहानगरपालिका –१६ को लहलौरामा खाना पकाउने ग्याँसको सिलिण्डर पड्किदा दुई जना घाइते भएका छन् ।
त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी विराटनगरमा जारी लिनिङ १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टनको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।