• ६ जेठ २०८१, आइतबार

नुवाकोटमा बस दुर्घटना, श्रीमान–श्रीमतीसहित तीनको मृत्यु

blog

नमराज सुबेदी

नुवाकोट, फागुन ४ गते । बिदुर नगरपालिका –१२ मा आज बस दुर्घटना हुदाँ तीन जनाको निधन भएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका –१ दाङसिंहतर्फ जाँदैगरेको बा २ ख ८४५ नम्बरको बस विदुर –१२ चैनपुरस्थित पीपलबोट भन्ने स्थानमा दुर्घटना हुदाँ ३ जनाको निधन भएको नुवाकोट प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा त्रिशूली अस्पतालमा आज निधन भएको हो । 

निधन हुनेमा तारकेश्वर गाउँपालिका –६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उहाँको श्रीमती ६० वर्षीया सितादेवी अर्याल र विदुर –३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौ पठाइएको छ । 

नमस्ते पासाङ ल्यामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पीपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्नेक्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । उकालोमा अघि बढ्नुपर्ने बस पछि हटेर एक सय ५० मिटर तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले जानकारी दिनुभयो ।