काठमाडौं, फागुन ४ गते । त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफका प्रनिश सिंह ठकुरी विराटनगरमा जारी लिनिङ १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टनको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
पुरुष एकलतर्फ पविनले एपिएफका सुमन लिम्बुलाई २१–१४, २१–११ र प्रनिशले आर्मीका सुनिल कार्कीलाई २१–१०, २१–१० ले हराउनुभयो । आर्मीका हिमाल चन्दले झापाका नवीन सिलवाललाई २१–१२, २१–१६, एपिएफका अमन महर्जनले दाङका सनौला रैनीलाई २१–१४, २१–१२, मोरङका विवेक चौधरीले पाँचथरका किरण श्रेष्ठलाई २१–१७, २१–१०, एपिएफका अरुण अधिकारीले सुनसरीका सत्यम सुब्बालाई २१–१९, १३–२१, २१–१९ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाउनुभयो ।
महिलातर्फ कास्कीकी निभा राई र आर्मीकी टिशा रानी शाक्यले क्वाटरफाईनलमा स्थान बनाउनुभयो । राईले ताप्लेजुङका सरुना गुरुङलाई २१–१७, १२–२१, २१–१४ ले हराउनुभयो । शाक्यले पर्साका श्रुति शाहबाट वाकओभर पाउनुभयो ।
पुरुष युगल तर्फको प्रतिस्पर्धामा मोरङका सुप्रिम पन्त र प्रेम राईको जोडी तथा एपिएफका सुमन लिम्बु र देवराज रानाको जोडी अन्तिम १६ मा स्थान पक्का गर्न सफल हुनुभयो ।