• १३ मंसिर २०८१, बिहिबार

भवन बनेको चार वर्ष बित्दा पनि सञ्चालन भएन थारू संग्रहालय

blog

कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भएको थारु संग्रहालयको भवन । तस्बिरः जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, फागुन ४ गते । थारु संस्कृति, कला तथा परम्पराको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको सङ्ग्रहालय भवन प्रयोग विहीन भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका –२ लोहरौलामा ३७ लाख रुपियाँको लागतमा निर्माण गरिएको सङ्ग्रहालय भवन निर्माण सम्पन्न भएको चार वर्ष पुग्दा पनि सञ्चालनमा नआएको हो । भवनको २०७६ मा निर्माण कार्य सम्पन्न भएको थियो । 

भवन निर्माणका लागि गाउँपालिका, संसदीय विकास कोषको लगानी रहेको थियो । गाउँका बरघर (अगुवा) रुद्रनारायण थारुले सङ्ग्रहालय सञ्चालनका लागि तीन तहको सरकारसँग पहल गरे पनि चासो नदिएको बताउनुभयो । थारु समुदायको बेग्लै पहिचान रहेकाले ऐतिहासिक सामग्री सङ्कलन गरी नयाँ पुस्तालाई सिकाइ हस्तान्तरण गर्न सहज हुनेछ । आधुनिकताको प्रभावले गर्दा पछिल्लो समय थारु सभ्यता, परम्परागत गहना, हस्तकला, चित्रकला रहनसहनलाई संरक्षण गर्नुपर्ने देखिएको छ । 

गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले स्थानीयलाई संरक्षण समिति गठन गर्न पटक पटक अनुरोध गरेको बताउनुभयो । भवन बन्यो तर समिति छैन, जसका कारण सञ्चालनका लागि बजेट विनियोजनको पहल नभएको बताउनुभयो । थारु पहिचान झल्किने ऐतिहासिक पुर्खौली सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राख्दा आन्तरिक तथा बाह्य पर्यटनको विकास हुने उहाँको भनाइ छ । 

पालिकाले सङ्ग्रहालय सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारसँग पहल गरेको गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । लुम्बिनी प्रदेश खानेपानी ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले सङ्ग्रहालयको अवलोकन गर्नुभयो । समुदायको अपनत्व हुनेगरी सङ्ग्रहालय सञ्चालनमा जोड दिइने अध्यक्ष थापाले बताउनुभयो ।