बाबुराम शर्मा
दोलखा, फागुन ४ गते । दोलखाको सदरमुकाम चरिकोटस्थित रहेको च्छोरोल्पा जनरल अस्पताल प्रालिले आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी र क्रोनोस्कोपी सेवा प्रारम्भ गरेको छ ।
प्रारम्भ भएको पहिलो दिनमै शिक्षण अस्पतालका डा. रोमी दहाल समेतले इन्डोस्कोपी २८ र क्रोनोस्कोपी एक गरी २९ जनाले सेवा पाएको अस्पतालका प्रमुख डा. विनोद दङगालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “न्यूनतम शुल्क दुई हजार रुपियाँमा निरन्तर सेवा प्रदान गरिने छ । अन्यत्र गई महँगो शुल्क तिरेर उपचार गराउनुपर्ने झन्झट हटेको छ ।” विपन्न तथा गरिब रोगीहरूलाई यो सेवा प्रभावकारी हुने अपेक्षा उहाँले गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले शिक्षा, स्वास्थ्य र पर्यटनलाई नगरले प्रमुख प्राथमिकतामा राखेको बताउँदै भन्नुभयो, “नगरवासी शिक्षा लिनुपर्ने र स्वास्थ्योपचार गराउनुपर्नेमा सचेत छन् । सरकारले प्रदत्त अधिकारलाई कार्यान्वयन गर्न नसक्दा जनप्रतिनिधिले आरोप खेप्नुपरेको छ । सरकारलाई सघाउन सबै तयार हुनुपर्ने बेला आएको छ । सबै मिले मात्र सम्भव छ ।”
अस्पताल सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठका अनुसार जिल्ला तथा आसपासका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत सहुलियतमा उपचार प्रदान गरिने छ । अति विपन्न, असहाय, अशक्त वर्गका रोगीलाई निःशुल्क उपचार प्रदान गरिनेछ ।
अस्पतालले जिल्लाका सबैलाई स्वास्थ्य सेवा दिन होम सर्भिस सुरु गरिसकेको छ । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवा सञ्जालमा जोड्न अस्पतालले गाउँपालिका तथा वडामा रहेका संस्थामार्फत सेवामा ३० प्रतिशत छुट दिन लागेको छ ।” पहुँच नपुगेकालाई गाउँपालिका स्तरीय स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गर्ने तयारी पनि गरिरहेको छ ।
नर्सिङ कलेज सञ्चालन गरिरहेको अस्पतालले भावी दिनमा एचए, डिफार्म, रेडियोग्राफर ल्याब सँगसँगै मेडिकल कलेज सञ्चालन गर्ने अवधारणा बनाएको पनि उहाँले जानकारी दिनुभयो । सोही अवसरमा वीर अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. अर्चना केसी, शिक्षण अस्पतालका डा. रोमी दहाल, मध्यपुर ठिमी अस्पतालकी डा. रविना पैधानाङग, अस्पतालका स्वास्थ्य प्राविधिक तथा कर्मचारी समेलाई सम्मान गरेको छ ।