• १३ मंसिर २०८१, बिहिबार

लमहीमा चितुवा आतङ्क, बाख्राको खोरै रित्यायो

blog

फाइल तस्बिर

दिवाकर पोख्रेल

देउखुरी, फागुन ४ गते । दाङको लमही नगरपालिका क्षेत्रमा चितुवाले आतङ्क मच्चाएको छ । पछिल्लो केही दिन यता लमही नगरपालिका –३ जखेरा र वडा १ बसन्तापुर क्षेत्रमा गरी चितुवाले २५ वटा बाख्रा मारेको छ । 

चितुवाले जखेरा सामुदायिक वन क्षेत्रमा चराउन लगेको समयमा लमही –३ जखेराको किसान पशु फर्मका प्रोप्राइटर राधिका आचार्यले पाल्नुभएका चार वटा बाख्रा खाएको छ । यस्तै, सोही ठाउँका शुकलाल डाँगीले पाल्नुभएका चार वटा माउबाख्रा चितुवाले मारेको छ । त्यसैगरी सुकराम कुमालले पाल्नुभएको एक वटा माउबाख्रा खाएको स्थानीय लोकमणि बन्जाडेले जानकारी दिनुभयो । 

लमही नगरपालिका १, बसन्तापुरमा वसन्त अधिकारीले पालेका १७ वटा बाख्रा खोरैमा पसेर चितुवाले माउबाख्रा मारेको छ । सामुदायिक वनमा चरीचरनका लागि वन खुला गरेपछि कृषकहरूले बाख्रा चराउन जङ्गल लग्नेगरेका थिए । स्थानीयका अनुसार घरको नजिकैको वन क्षेत्रमा बाख्रा चराउँदा समेत चितुवाले बाख्रा खाने गरेपछि किसानहरू चिन्तित भएका छन् । 

बाख्रापालक किसान राधिका आचार्यले चितुवाले बाख्रा मार्न थालेपछि आफूहरू पेसा छोड्नु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चराउन लगेको समयमा चितुवाले बाख्रा मारेपछि बिमाले क्षतिपूर्ति नदिने भएकाले हामी झनै मर्कामा छौँ, जङ्गलमा डरका कारण घाँसपातलाई समेत जान समस्या भयो, बाख्रा पालन गर्ने अवस्था छैन ।’

चितुवाले आवश्यकताभन्दा बढी नोक्सान गर्ने वन्यजन्तु अनुसन्धानकर्ताहरू बताउँछन् । वन्यजन्तु अनुसन्धानकर्ता चिरञ्जीवी खनालले चितुवाले किसानलाई समस्यामा पारेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितुवाले आवश्यकभन्दा बढी क्षति गरेको देखिन्छ, खाने भन्दा पनि मार्ने बढी गर्छ, यसका लागि किसानहरू सचेत हुनुपर्ने देखियो ।’ 

यस विषयमा डिभिजन वन कार्यालय दाङ (देउखुरी) का सूचना अधिकारी छोटेलाल चौधरीले किसानले क्षतिपूर्तिसहितको रिपोर्ट वडा कार्यालयबाट सिफारिससहित निवेदन आए क्षतिपूर्तिको लागि पहल गर्ने बताउनुभयो । किसानका बाख्रा चितुवा खाएको भन्ने जानकारी आए पनि निवेदन नआएकाले आफूहरूले आवश्यक काम कारबाही गर्न नपाएको उहाँको भनाइ छ । 

गोठमै पसेर क्षति गरेको र चरीचरण क्षेत्र खुलाएको अवस्थामा जङ्गलमा पनि क्षति पु¥याएको अवस्थामा क्षतिपूर्ति दिलाउन सकिने भएकाले किसानलाई निवेदन दिन उहाँले आग्रह गर्नुभयो । यस्तै, यस विषयमा लमही नगरपालिका पशु उपशाखाका प्राविधिक गणेश चौधरीले किसानले पालेका बाख्रामा क्षति पुर्‍याएको चिन्ता व्यक्त गर्दै यस विषयमा किसानको निवेदनमाथि छानबिन गरी क्षतिको विवरणसहित सिफारिस वन कार्यालयमा गर्ने बताउनुभयो ।