• १३ साउन २०८१, आइतबार

आयोग सङ्घर्षको प्रतिफल हो, व्यवस्थित गर्नुपर्छ : प्रधानमन्त्री

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज छलफलपछि संवैधानिक आयोगका अध्यक्षहरु सामुहिक तस्बिर लिनुहुँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन ४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ सँग संवैधानिक आयोगका अध्यक्षहरूले सामूहिक भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा आयोगहरूमा आइपरेका समस्या र चुनौती समाधानमा केन्द्रित भएर छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले संवैधानिक आयोगहरू सामाजिक विभेदहरूको अन्त्यका लागि शक्तिशाली संरचना भएकाले यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले आयोगहरूको गठन धेरै ठूलो सङ्घर्ष र बहस पश्चात् भएको चर्चा गर्नुहुँदै आवश्यक साधन स्रोत र पूर्वाधारसहित व्यवस्थित गर्नुपर्ने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,  ‘समुदायलाई अधिकार सम्पन्न गराउने यी आयोगहरूको उद्देश्य हो । त्यसका लागि अख्तियार, साधनस्रोत र तिनको सामाजिक प्रतिष्ठाको दृष्टिकोणले स्थापित गर्न राज्यले आवश्यक कदम चाल्नु पर्छ ।’ आयोगका अध्यक्षहरूले मानव अधिकारसम्बन्धी आठ वटै संवैधानिक आयोग र यसमा नियुक्त पदाधिकारीहरूको लागि सेवा, सर्त र सुविधा निर्धारण गर्दा मर्यादाक्रम बमोजिम भएको नदेखिएकाले निर्दिष्ट मर्यादाक्रम बमोजिम हुने व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो । 

त्यसैगरी संवैधानिक आयोगको मर्यादा र स्थायित्वको विचार गरी कर्मचारी पदस्थापन तथा सरुवा गरी पठाउँदा र आयोगबाट कर्मचारी सरुवा गर्दा सम्बन्धित आयोगको समेत सहमति लिनुपर्ने व्यवस्था गर्नुपर्ने उहाँहरूको सुझाव थियो । सो क्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेना, मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिको सहभागिता रहेको थियो ।