दोलखाको जिरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत भोजराज जिरेलको इन्जिनियर बन्ने ठुलो धोको छ । इन्जिनियरिङ पढाइलाई सहयोग पुग्ने कम्प्युटर, विज्ञान र ऐच्छिक गणित अध्ययन गर्दै छन् भोजराज । १५ वर्षीय जिरेलको कक्षा ९ बाट १० मा जाँदा ९०.५ प्रतिशत आएको छ । यो प्रतिशतलाई बढाएर शतप्रतिशत पु¥याउन उनी पढाइमा तल्लीन छन् । समय तालिका बनाएर अध्ययन गर्ने उनको बानी छ । उनी मजदुरी गरेर पढ्दै छन् ।
जनबोलीमा चल्दै आएको ‘हुने बिरुवाको चिल्लो पात’ यो उखानको उदाहरण हुन् वर्षा कविरथ । भिर पाखामै उम्रिएर पनि जसरी एउटा फूल फुलेर वरिपरि सुवास छर्छ त्यसरी नै वर्षा गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गरेर आफ्ना समकालीन र विद्यालयस्तरमै उदाहरणीय पात्र बनेकी छिन् । वर्षा सुनसरीको वराहक्षेत्र–९ मा रहेको गाउँकै सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । गाउँकै राजाबासस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत उनी अब्बल छात्राका रूपमा चिनिन्छन् । उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापदेखि विद्यालयमा हुने हरेक शैक्षिक गतिविधिमा सहभागी हुँदै अब्बल साबित हुने गरेकी छिन् ।
माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राममन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठमन्दिरमा दीपावली गरी उत्सवका रूपमा मनाइएको छ तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम भने यतिबेला ओझेलमा परेको छ । वाल्मीकि ऋषिले तपस्या गरेको, लवकुशको जन्म भएको, सीता भासिएको स्थान वाल्मीकि आश्रम अहिले संरक्षण अभावमा ओझेलमा परेको हो ।
जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ ।
स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।
तानसेनस्थित ऐतिहासिक प्रभास तालमा कमलका फूल लोप भएका छन् । एक दशकअघिसम्म प्रभास तालभरि कमलका फूल फुल्ने गरेको भए पनि पछिल्लो समय कमलका फूल देखिन छाडेको छ । यस तालमा विभिन्न हानिकारक फोहोर मिसाउँदा कमलका फूल लोप भएको स्थानीय बासिन्दाले बताएका छन् । एक दशकअघिसम्म पनि तालमा विभिन्न रङका कमलका फूल फुल्थे तर अहिले कमलका फूल देख्न पाइँदैन ।
गौमूल गाउँपालिकाले आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क स्वास्थ्य उपचार दिने निर्णय गरेको छ । पालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिका सभाले यसअघि कार्यान्वयनमा रहेका नीति तथा कार्यक्रमलाई थप प्रभावकारी र कडाइ गर्दै नयाँ नीति तथा कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्रमा आयुर्वेदिकमार्फत सेवालाई निरन्तरता दिने अध्यक्ष रोकायाले जानकारी दिनुभयो । गौमूल गाउँपालिका–१ बाहेक सबै वडा कार्यालयका केन्द्रसम्म सडक सञ्जाल जोडिएको छ ।
सहकारी संस्थाहरूले मासिक रूपमा हिसाबकिताब (आयव्याय) सार्वजनिक गर्न थालेका छन् । सहकारी विभागको निर्देशन अनुसार यहाँका सहकारीले नयाँ महिनाको पहिलो हप्ताभित्र हिसाबकिताब सार्वजनिक गर्ने गरेका हुन् । टीकापुर नगरपालिका–७, सत्तीक्षेत्रमा रहेका सामुदायिक सहकारी संस्थाले सार्वजनिक विवरण अनुसार असार मसान्तमा एक करोड ५७ लाख ९८ हजार सेयर पुँजी, पुस मसान्तसम्म पाँच लाखले वृद्धि भएको देखाएको छ ।
सडक विभागले कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लामा पर्ने पाँच वटा असजिला चट्टानी भिरमा सडकको स्तरोन्नति गर्ने कामको जिम्मा नेपाली सेनालाई दिएको छ । चालु आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि सडक विभागले ती चट्टानी भिरको काम नेपाली सेनाको जिम्मा लगाएको हो ।
कर्णाली प्रदेश सरकारले फलफूल र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिएका स्थानमा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणमा जोड दिएको छ । सोहीबमोजिम ठाउँ ठाउँमा चिस्यान केन्द्र बनिरहेका छन् । वीरेन्द्रनगरमा बनिरहेको चिस्यान केन्द्र निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न कोल्ड स्टोर निर्माण गरिएको हो ।
महिनावारी (छाउपडी) भएका महिलालाई गोरस (दुध, दहीलगायत) नदिने चलन कायमै रहेको छ । गाई र भैँसीको दुध, दही र मोही महिनावारी भएका महिलालाई दिँदा देउता रिसाउने तथा गाईवस्तु बाँझो हुने अन्धविश्वास छ । महिनावारी भएका महिलालाई गोरस दियो भने गाई, भैँसी बिरामी हुने तथा कहिल्यै नब्याउने भन्ने भ्रम रहेको स्थानीय बाजुरावासी बताउँछन् । पुस्तौँदेखि चलिआएको यो अन्धविश्वास अहिलेसम्म उस्तै छ । महिनावारी भएका बेला महिलाले काटेको घाँस गाईभैँसीलाई पनि दिँदैनन् । छाउपडीले काटेको घाँस गाईभैँसीले खायो भने बिरामी हुन्छन् भनेर महिनावारी हुँदा महिलालाई घाँस पनि कटाउँदैनन् ।
इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् ।
स्थानीय महिलाले रैथाने बालीको परिकार तयार गरेर प्रदर्शनी गरेका छन् । रैथाने बालीको नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरी आम्दानी पनि गर्न सकिन्छ भनेर यसको प्रदर्शनी गरिएको हो । सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढाले महिलाले रैथाने बालीको परिकार बनाउन सिक्दै त्यसको प्रदर्शनी गरेको बताउनुभयो । उक्त वडाका ४० महिलाले परिकार तयार पार्ने सिप सिक्दै परम्परागत परिकारभन्दा नयाँ नयाँ परिकार तयार पारेर प्रदर्शनी गरेका हुन् ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क– खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क– नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् ।
जिल्ला सदरमुकामको डोटी घटालमा फलफूल प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । उत्पादन सुरु गरेर बन्द भएको उद्योग पुनः सञ्चालन गरिएको हो । यहाँ उत्पादन हुने सुन्तला, मौसमलगायतका फलफूलका साथै सस उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको हो ।