काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६, जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रको बेथिति, अनियमितता, सञ्चालन विधि र सम्भावित भ्रष्टाचारबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन एवं अनुगमन समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सम्पन्न सर्वपक्षीय छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले खगेन्द्र नवजीवन केन्द्रमा आश्रित नागरिक सङ्घर्ष समिति गठन गरेर आन्दोलित भएको र केन्द्रबारे उठेका प्रश्न, सञ्चालन विधिसहित सम्पूर्ण पक्षको अध्ययन र अनुगमन गरी प्रतिवेदन तयार गर्ने गरी समिति गठन गरिएको बताउनुभयो ।
वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ (एफडब्लुडब्लुएमसी) बिच गत मङ्सिर २० गते भएको सम्झौता हाललाई कार्यान्वयन नगर्ने निर्णय गरिएको छ । बोर्डको आइतबार बसेको बैठकले प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनलाई मान्दै उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र सेन्टरका महानिर्देशक तानासिलिनबिच मङ्सिर २० गते सम्झौतामा हस्ताक्षर भएको थियो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिका लागि पूर्वपदाधिकारीले नै आकाङ्क्षा राख्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्म ४३ जनाले आवेदन दिएका छन् । उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ, नेपाल खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा केशरजङ्ग बराल, त्रिविका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेल, त्रिविकै पूर्वशिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिविका मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन प्राडा कुसुम शाक्यले पनि दरखास्त दिनुभएको छ ।
परराष्ट्र मन्त्रालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टवेयर र बायोमेट्रिक्स प्रयोग गरेर सेवाग्राहीलाई राहदानी वितरण गर्ने तयारी गरेको छ । उक्त तयारीले पूर्णता पाएसँगै सेवाग्राहीले आगामी दिनमा राहदानी विभागमा छुट्टै बायोमेट्रिक्स दिन पर्ने झन्झट समाप्त हुने छ । यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र परराष्ट्रमन्त्री एनपी साउदबिच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको छलफल अनुसार छलफलमा पञ्जीकरण विभागले प्रयोग गर्दै आएको सफ्टबेस राहदानी विभागले प्रयोग गरे सेवाग्रहीले अनलाइनमार्फत राहदानीका लागि आवेदन दिन पाउने र हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने व्यवस्था हुने छ ।
लामो समयदेखि विभिन्न निकाय र राज्य संयन्त्रलाई समेत गुमराहमा पारी कागज पत्र बनाउने र त्यसैका आडमा आफूलाई माननीय घोषणा गर्दै हिँड्ने जगदीश वैद्यले सडक र पार्कको नामकरण नै आफ्नो नाममा गराउन सफल भएका छन् । वैद्यको यो कार्य कालीकोट जिल्लाको तिलगुफा नगरपालिकाको राजपत्रमा छपाउन लगाएपछि सार्वजनिक भएको हो ।
भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको खुसीयालीमा जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिएको छ ।
दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजराइली बमबारीमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने बताउनुभएको छ ।
कोहलपुर नगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीले अबदेखि स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ पढ्न पाउने भएका छन् ।
त्रेता युगदेखि नै मिथिला राजकुमारी सीता र अवधको राजकुमार रामको विवाह भएदेखि नै जनकपुर र अयोध्याको सम्बन्ध जोडिएको छ । भारतको अयोध्यामा माघ ८ गते आज राम मन्दिरमा भगवान् श्रीरामको प्राण प्रतिष्ठा भएको छ ।
लेखा परीक्षकको नियुक्त गर्नका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरुन्तै लाइसेन्स दिने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।
दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोस्रो संस्करण फागुनमा हुने भएको छ । दाङ क्रिकेट संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुन २६ देखि हुन थालेको दाङ क्रिकेट लिगको दोस्रो संस्करणको बारेमा जानकारी दिएको हो ।
सूर्य नेपाल इस्टर्न ओपन गल्फ बुधबारदेखि धरान गल्फ क्लबमा हुने भएको छ । नेपाल प्रोफेसनल गल्फ सङ्घको आयोजनामा तीन दिन सञ्चालन हुने प्रतियोगितामा ३० प्रो र १० एमेच्योर खेलाडीको सहभागिता रहनेछ ।
नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले धनगढी, खुटिया, दिपायल, बझाङ हुँदै उरै भन्ज्याङ जोड्ने वैकल्पिक राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।