• १३ साउन २०८१, आइतबार

‘दाङ क्रिकेट लिग’ फागुनमा

blog

पत्रकार सम्मेलनमार्फत लिगको बारेमा जानकारी गराउँदै आयोजक । तस्बिर : गोरखापत्र

लीलाधर वली 

घोराही, माघ ८ गते । दाङ क्रिकेट लिग–२०८० (डिसिएल–२) को दोस्रो संस्करण फागुनमा हुने भएको छ । दाङ क्रिकेट संघले सोमवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर फागुन २६ देखि हुन थालेको दाङ क्रिकेट लिगको दोस्रो संस्करणको बारेमा जानकारी दिएको हो । 

‘दाङ क्रिकेट लिग’ लुम्बिनी प्रदेशकै ठुलो राशिको फेन्चाइज लिग भएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयाले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्रतियोगिता खेल्ने टिमहरूले अक्सनमार्फत खेलाडीहरू खरिद गर्नुपर्ने व्यवस्था गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी गराउनुभएको थियो । 

लिगमा देशभरिका सय बढी खेलाडीलाई म्याच शुल्कसहितको क्रिकेट प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको बताउनुभयो । प्रतियोगिताका लागि प्रत्येक टिमले पाँच जनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसहित दाङ जिल्लाभित्रका यु–१६ का २ जना, यु–१९ का २ जना र सिनियर ५ जनासहित १४ जनाको टिम बनाउनुपर्ने व्यवस्था गरिएको छ । 

जसमा १२ जना खेलाडी अक्सनमार्फत छनोट हुने छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेका एक/एक जना मार्की र टिम कप्तानका रूपमा टिम मालिकहरूले आफै छनोट गर्न सक्ने व्यवस्था गरिएको प्रतियोगिताका संयोजक समेत रहनुभएका दाङ जिल्ला क्रिकेट संघका सचिव संजु केसीले जानकारी दिनुभएको छ । 

प्रतियोगिताका लागि आयोजकले टिम मालिकहरूलाई खेलाडी खरिदका लागि न्यूनतम १ लाख ९४ हजारदेखि अधिकतम २ लाख ५० हजार रुपियाँसम्म खर्चगर्न सक्ने व्यवस्था गरेको संयोजक केसीले जानकारी दिनुभएको थियो । 

प्रतियोगिताले दाङ जिल्लाको क्रिकेटसँगै समग्र खेलकुद र आर्थिक विकासका लागि मद्दत गर्ने अध्यक्ष मजगैयाँले बताउनुभएको छ । लिगका विजेताले दुई लाख पचास हजार र उपविजेताले एक लाख रुपियाँसहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी,बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडीलाई समान दश÷दश हजार, म्यान अफ दी सिरिजलाई १५ हजार, म्यान अफ दी म्याचलाई पाँच हजार रुपियाँ प्रदान गरिनेछ । लिगमा घोराही टाइगर, दङाली लाइन, तुलसीपुर रोयल्स, पुरन्धारा च्यालेन्जर्स र देउखुरी वारीयर्स गरी पाँच वटा टिमहरू सहभागी हुनेछन् ।