• १३ साउन २०८१, आइतबार

राम मन्दिर प्राणप्रतिष्ठाको अवसरमा खुसीयाली

blog

जानकी मन्दिर लगायत विभिन्न ठाउँमा रंगोली बनाइ खुसीयाली मनाइँदै । तस्बिर –स्मृति मिश्र

स्मृति मिश्र  

 महेन्द«नगर (धनुषा), माघ ८ गते । त्रेता युगदेखि नै मिथिला राजकुमारी सीता र अवधको राजकुमार रामको विवाह भएदेखि नै जनकपुर र अयोध्याको सम्बन्ध जोडिएको छ । भारतको अयोध्यामा माघ ८ गते आज राम मन्दिरमा भगवान् श्रीरामको प्राण प्रतिष्ठा भएको छ । 

यस अवसरमा भगवान् रामको ससुराली एवम् माता जानकीको माइती जनकपुरधाम धूमधमाका साथ खुसीयाली मनाइँदैछ । जनकपुरधामको जानकी मन्दिरलगायत   जनकपुरवासीले आज आफ्नो घरलाई शृङ्गारेका छन् । जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरी घर–घरमा दीपोत्सव मनाइँदैछ ।

हर्ष उल्लासका साथ जनकपुरधामवासीले दीप प्रज्वलन तथा झाँकीहरूमा आफ्नो सहभागिता जनाएका छन् । जनकपुरधामका प्रत्येक चोक तथा घरमा आज यस्ता रामधुन गुञ्जायमान छ भने हरेक घरमा भगवान् रामको झण्डा लहराउँदै गरेको दृश्य देखिएको छ । 

त्याग र समर्पणका प्रतीक मर्यादा पुरुषोत्तम भगवान् श्रीरामलाई विश्वका सनातन धर्मावलम्बीले पूजा गर्छन् । भगवान् रामको विवाह माता सीतासँग भएकाले मिथिलावासी रामलाई भिनाजु सरह मान्यता दिएका छन् ।  

“राम जी से पुछे जनकपुरको नारी बताद बवुवा लोगवा देत काहे गारी बताद बवुवा” मिथिलाका नारीहरूले गाउने यो प्रसिद्ध गारी सुनेर भगवान् राम पनि प्रसन्न भएको जनकपुरधामकी भारती चौधरीले बताउनुभयो । मिथिलाको मधुर गाली आशीर्वाद स्वरूप हुनेगरेको चौधरीको भनाइ छ ।  


त्यसैगरी जनकपुरधामका उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले भन्नुभयो, “अयोध्या र जनकपुरको सांस्कृतिक एवम् धार्मिक सम्बन्ध सीतारामको स्वयंवर भएदेखि नै रहेको र यस बिचमा केही राजनीतिक हिसाबले यस सम्बन्धलाई बिगार्ने चलखेल गरिएको छ, तर जनकपुरवासीले विश्वलाई एक पटक फेरि सम्झन विभिन्न आभूषणसहित पाहुर (भार) पठाएको छ ।” 

वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले भन्नुभयो, “मिथिलाको छोरीलाई विवाह गर्ने समयमा दरबारमा राख्ने भनेर भनेका थियौँ तर विभिन्न कारणले ५०० वर्ष सम्म टेन्टमा बसायौँ । असत्यमाथि सत्यको विजय भएको छ र हाम्रो जिजा भिनाजु र दिदी सीताको प्राण प्रतिष्ठा गरी महलमा विराजमान गरिएको छ । आज हामी भावविभोर भएका छौँ । यसको खुसीमा विभिन्न झाँकीसहित होली मनाएका छौँ ।”

समाजवादी युवा सङ्घ मधेश प्रदेशका अध्यक्ष उमेश निरालाका अनुसार श्रीरामको जन्मस्थान अयोध्यामा आज भएको प्राण प्रतिष्ठा आफैमा गौरवको विषय हो । हिन्दुधर्मका प्रतीक मर्यादा पुरुषोत्तम भगवान् श्रीराम आज टेन्टको घरबाट महलमा विराजित हुनुभएको उहाँको भनाइ छ ।  बेहुलाझै शृङ्गारिएको जानकी मन्दिरको दीप प्रज्वलनमा आज सहभागी भएकोमा खुसी लागेको उहाँले बताउनुभयो । 

स्थानीय पत्रकार आरती मण्डलका अनुसार वर्षौँपछिको अदालतको निर्णयअनुसार अयोध्यामा भगवान् रामको मन्दिर निर्माण भएको छ । मन्दिरको समुद्घाटन तथा श्रीरामको प्राण प्रतिष्ठाको  हिन्दु धर्मावलम्बीका लागि गौरवको विषय रहेको उहाँको भनाइ छ ।

आजको विशेष अवसरमा सरसफाइ, दीप प्रज्वलन तथा प्रसाद वितरण गरिएको रामान्नद युवा कल्वका महासचिव रोशन मिश्रले जानकारी गराउनुभयो । राम मन्दिरको प्राण प्रतिष्ठा ५ सय वर्ष लामो संर्घष र ३० वर्षको कानुनी लडाइँपछि आज सम्भव भएको उहाँको भनाइ छ ।