• ८ असार २०८१, शनिबार

एन्फाको विशेष साधारण सभाबाट लेखा परीक्षक नियुक्त

blog

विशेष साधारणसभामा सहभागी एन्फाका पदाधिकारीहरु ।

काठमाडौँ, माघ ८ गते । लेखा परीक्षकको नियुक्त गर्नका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभा सोमबार सम्पन्न भएको छ ।

ललितपुरमा भएको साधारण सभाले लेखा परीक्षक नियुक्त गरेको हो । साधारण सभाले लेखा परीक्षक वर्ष २०७९/८० का लागि एलएसबी एसोसिएट र २०८०/८१ का लागि एएनएस एसोसियटलाई नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ ।

साधारण सभाअघि बसेको आपत्कालीन बैठकले दुई निर्णय पनि गरेको छ । साधारण सभा सकिएपछि पत्रकार सम्मेलन आयोजना गर्दै एन्फाका प्रवक्ता सुरेश शाहले विशेष साधारण सभाका लागि अनुमानित बजेट ४३ लाख ३० हजार २ सय रुपियाँ  पनि बैठकले पारित गरेको बताउनुभयो ।

यसअघि गत कात्तिक २३ गते मात्र एन्फाको विशेष साधारण सभा भएको थियो । त्यतिबेला एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङबिरुद्ध अविश्वासको प्रस्तावका लागि साधारण सभा भएको थियो । तर साधारण सभाले नेम्वाङमाथिको अविश्वास अस्वीकृत गरेको थियो । एन्फाका प्रवक्ता शाहले सहायक महासचिव वसन्त अर्यालको जिम्मेवारी परिवर्तन गरी रिक्त पदमा विजय घलेलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयो । 

उहाँले अध्यक्षले एन्फाको महासचिव, सहायक महासचिव र प्रवक्ता नियुक्ति गर्न पाउने अधिकार प्रयोग गरेको उक्त निर्णय गरेको दाबी पनि गर्नुभयो । एन्फाले तीन महिना नै नबित्दै अर्को साधारण सभा गरेको हो । एन्फाले लेखा परीक्षक नियुक्तिका लागि नै दोस्रो पटक विशेष साधारण सभा बोलाएको हो ।