• १३ साउन २०८१, आइतबार

भिरको सडक स्तरोन्नति गर्ने जिम्मा सेनालाई

blog

नेपाली सेनालाई स्तरोन्नतिको जिम्मा लगाइएको बोक्चेगौँडा सडक ।

राजन रावत 

हुम्ला, माघ ९ गते । सडक विभागले कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लामा पर्ने पाँच वटा असजिला चट्टानी भिरमा सडकको स्तरोन्नति गर्ने कामको जिम्मा नेपाली सेनालाई दिएको छ । चालु आर्थिक वर्षभित्र हुम्लाको सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि सडक विभागले ती चट्टानी भिरको काम नेपाली सेनाको जिम्मा लगाएको हो । 

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले आयोजनाको सिफारिसका आधारमा सडक विभागले कर्णाली कोरिडोरको हुम्ला खण्डका पाँच वटा चट्टानी भिरको सडकलाई स्तरोन्नति गर्ने कामको जिम्मा नेपाली सेनाको विकास निर्माण दललाई लगाउने काम भएको बताउनुभयो । ती पाँच वटा भिरको कामको जिम्माका लागि विभागले नेपाली सेनालाई पत्राचारसमेत गरिसकेको छ । यसरी कर्णाली कोरिडोरको हुम्ला खण्डका अप्ठ्यारा चट्टानी भिरहरूमा दुल्ली कुना, बोक्चे गौँडा, भिगौँडा, च्याछरा र याल्वाङ गौँडा रहेका छन् । 

उहाँले यी पाँचै गौँडामा यसअघि हिल्सा सिमकोट सडक आयोजनाले साँघुरो ट्र्याक खोल्ने कार्य गरेको भए पनि त्यसको ग्रेड मिलाउन सकेको थिएन । यद्यपि ग्रेड नमिलेका सडक भए पनि यातायातका साधनहरू भने सञ्चालन हुँदै आएका थिए । 

योजना प्रमुख नेपालीले उहाँले ती सडकका चट्टानी भिर फुटाउनका लागि विष्फोटक पदार्थ आवश्यक पर्ने तर आयोजनालाई त्यसको व्यवस्था गर्न निकै कठिन हुने भएको कारण पनि जिल्लावासीको माग अनुसार सडक स्तरोन्नतिको जिम्मा नेपाली सेनालाई दिएको बताउनुभयो । 

पाँच वटै भिर गरी करिब एक किलोमिटर लम्बाइ सडकको निर्माण सेनाले गर्नुपर्ने छ । उहाँले सदरमुकाम सिमकोटलाई चाँडो राष्ट्रिय सडक सञ्जालसँग जोड्नका लागि ती भिरमा कामको जिम्मा सेनालाई दिनु अति आवश्यक ठानिएको बताउनुभयो । 

पाँच वटामध्ये दक्षिणी क्षेत्रका तीन वटा भिरको स्तरोन्नतिको काम आयोजना र नेपाली सेनाको उपस्थितिमा संयुक्त लागत स्टिमेट गर्नका लागि सामेबार दुल्ली कुनातर्फ योजना प्रमुख नेपाली प्राविधिकसहित जानुभएको छ । उहाँले स्थलगत रूपमा तिनै भिरमा पुगेर लागत स्टिमेट गरिने बताउनुभयो । यसअघि जिल्लाका जनप्रतिनिधि, राजनीतिक दलहरू, नागरिक समाज, व्यवसायीले सदरमुकाम सिमकोटलाई चाँडो सडक जोड्नका लागि असजिला भिरमा नेपाली सेनालाई कामको जिम्मा दिन सरकारसँग माग गरेका थिए । 

नेपाली सेनाको कर्णाली कोरिडोर सडक निर्माण कार्य दलका प्रमुख अमृत पराजुलीले सडक विभागले जिम्मा लगाएको काम निर्धारित मितिमै सम्पन्न गर्ने बताउनुभयो । उहाँले कार्यदलको पहिलो प्राथमिकता दुल्ली कुना, बोक्चे गौँडा, भिगौँडा रहेको बताउँदै यी भिरको चट्टान विष्फोट र ग्रेड मिलाउने काम तत्काल सुरु गरिने बताउनुभयो । यी भिरको काम सम्पन्न भए सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्नलाई सहज हुने छ । माथिल्लो क्षेत्रका दुई वटा भिरमा भने त्यसपछि काम सुरु गरिने छ । 

हाल नेपाली सेनाले ल्याप्चेदेखि लालीबगरसम्म सडक निर्माण गर्ने कार्य गरिरहेको छ । सेनाले सबैभन्दा असजिलो छारे भिरमा कामलाई तीव्रता दिइरहेको छ । त्यसै गरी २०७८ साल असार ३१ गते सेनाले कवाडीदेखि सलीसल्लासम्म ३९ किलोमिटर सडक निर्माण गरेर हिल्सा सिमकोट सडक आयोजनालाई हस्तान्तरण गरिसकेको थियो ।