• १३ साउन २०८१, आइतबार

रैथाने बालीको परिकार प्रदर्शनी

blog

हुम्ला समाचारदाता

हुम्ला, माघ ९ गते । स्थानीय महिलाले रैथाने बालीको परिकार तयार गरेर प्रदर्शनी गरेका छन् । रैथाने बालीको नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरी आम्दानी पनि गर्न सकिन्छ भनेर यसको प्रदर्शनी गरिएको हो । 

सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढाले महिलाले रैथाने बालीको परिकार बनाउन सिक्दै त्यसको प्रदर्शनी गरेको बताउनुभयो । उक्त वडाका ४० महिलाले परिकार तयार पार्ने सिप सिक्दै परम्परागत परिकारभन्दा नयाँ नयाँ परिकार तयार पारेर प्रदर्शनी गरेका हुन् ।

उहाँले स्थानीय महिलाद्वारा यसो गर्नुको मुख्य कारण गाउँमै उत्पादन भएको रैथाने बालीबाट पनि धेरै प्रकारका परिकार तयार हुने, त्यसको उपभोग गर्नुपर्ने र यसबाट पनि आर्थिक कमाइ गर्न सकिन्छ भन्ने सन्देश दिनका लागि प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । 

यसअघि रैथाने बालीहरू कोदोको रोटी, चिनोको भात, फापरको रोटी, कागुनोको भात मात्र बनाएर उपभोग गरिन्थ्यो तर प्रदर्शनीअघि तिनै रैथाने बालीको अन्नबाट १८ भन्दा बढी परिकार तयार पारेर प्रदर्शनी गरिएको उहाँले बताउनुभयो । यसका लागि एक जना दक्ष कुकको व्यवस्था गरिएको थियो । 

स्थानीय जौका बुढाले ढुवानी अनुदानका खाद्यान्नतर्फ बढी आकर्षित भएका स्थानीयका लागि यो परिकार तयार गरेर प्रदर्शन भएबाट धेरै कुराको शिक्षा प्राप्त बताउनुभयो । उहाँले यसरी परिकार बन्ने भएपछि रैथाने बाली बिक्री हुने जानकारी स्थानीयलाई भएकाले अब यसको उत्पादन वृद्धि गर्न यो कार्य सहयोगी रहेको बताउनुभयो । हाल हुम्ला जिल्लाबाट कोदोसहितका पाँच प्रकारका रैथाने बालीको बिक्री सुरु भएको छ । यो कार्यक्रम वडाले सञ्चालन गरेको हो ।