• २१ वैशाख २०८१, शुक्रबार

सङ्घर्षशील वर्षा

blog

जनबोलीमा चल्दै आएको ‘हुने बिरुवाको चिल्लो पात’ यो उखानको उदाहरण हुन् वर्षा कविरथ । भिर पाखामै उम्रिएर पनि जसरी एउटा फूल फुलेर वरिपरि सुवास छर्छ त्यसरी नै वर्षा गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गरेर आफ्ना समकालीन र विद्यालयस्तरमै उदाहरणीय पात्र बनेकी छिन् । 

वर्षा सुनसरीको वराहक्षेत्र–९ मा रहेको गाउँकै सामुदायिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । गाउँकै राजाबासस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत उनी अब्बल छात्राका रूपमा चिनिन्छन् । उनी विद्यालयमा हुने अतिरिक्त क्रियाकलापदेखि विद्यालयमा हुने हरेक शैक्षिक गतिविधिमा सहभागी हुँदै अब्बल साबित हुने गरेकी छिन् । 

तराईको सुनसरी, मोरङ र झापाका गाउँमा बसोबास गर्ने कविरथ समुदायमा पढाइलाई विरलै प्राथमिकता दिएको पाइन्छ । अझ छोरीको पढाइ विद्यालयको तहको पढाइ नसकिँदै टुङ्गिने गरेको छ तर कविरथ समुदायमै अब्बल र विद्यालयकी प्रतिभाशाली छात्राका रूपमा रहेकी वर्षा पढाइलाई पहिलो प्राथमिकता राखेर भविष्य बनाउन मेहनत र सङ्घर्ष गर्दै आएकी छिन् । 

सामान्य परिवारमा जन्मिएकी वर्षा उमेरले १५ मात्रै टेके पनि घरमा उनको भूमिका ठूलै छ । बुवा वैदेशिक रोजगारमा, आमा खेतालापातमा व्यस्त रहने भएकैले घरको कामकाज र भाइको रेखदेख उनको जिम्मामा पर्ने गरेको छ । अन्य समुदायको केटाकेटीजस्तो बाल्यवस्थामा पाउने वातावरण वर्षालाई छैन तर पनि उनी विद्यालयको अत्यन्तै वक्तृत्वकला, वादविवाद जस्ता प्रतियोगितामा आफूलाई कुशल वक्ताका रूपमा चिनाउँदै आएकी वर्षाको तर्क र प्रस्तुतिले सबैको मनलाई तान्ने गरेको छ ।  

जेहेनदार, मेहनती र अनुशासित विद्यार्थी भएकैले वर्षा सबै शिक्षकशिक्षिकाकी गुणकारी विद्यार्थीमा पर्ने गरेकी छिन् । कुनै विद्यार्थीलाई उदाहरण दिनु परेमा उनी उदाहरण बन्ने गरेकी छिन् । वर्षा विद्यालयमा सबै विद्यार्थीका लागि प्रेरणा बन्ने गरेको विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर बस्नेत बताउनुहुन्छ । 

सानै उमेरदेखि स्पष्ट वक्ताका रूपमा चिनिएकी उनीमा नेतृत्व गर्न सक्ने क्षमतासमेत भएको कक्षा शिक्षक योगराज पौडेल बताउनुहुन्छ । भविष्यमा आफ्नो समय समाज सेवामा लगाई हरेक बालबालिकाका अधिकार सुनिश्चितताका लागि सामाजिक अभियन्ता बनेर लागिपर्ने उनी बताउँछिन् । उनको यो साहस र हिम्मतलाई अगाडि बढाउन उनको परिवार, समाज र विद्यालय प्रेरणाको स्रोत बनोस् । 

शब्द/तस्बिर : बाबुराम कार्की