यदुप्रसाद भट्ट
मनाङ, कात्तिक ८ गते । अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना मनाङ एकाइ संरक्षण कार्यालयको टोलीले हालै समुद्री सतहदेखि ४ हजार ६५१ मिटरको उचाइमा अवस्थित पोङ्कर तालसम्म सफल फिल्ड सर्वेक्षण सम्पन्न गरेको छ । अन्नपूर्ण तेस्रोको काखमा अवस्थित यो ताललाई नयाँ पदमार्गमार्फत मनाङ उपत्यकासँग जोड्ने उद्देश्यले सर्वेक्षण गरिएको हो ।
यस सर्वेक्षणको मुख्य लक्ष्य तालसम्म पुग्ने सम्भावित नयाँ पदमार्गको पहिचान तथा अध्ययन गर्नु रहेको अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना पोखराका प्रमुख रविन कडरियाले जानकारी दिनुभयो । उहाँले पोङ्कर ताललाई प्राकृतिक तथा पर्यटन आकर्षणका रूपमा स्थापित गर्ने उद्देश्यले सर्वेक्षण गरिएको बताउनुभयो ।
अन्नपूर्ण तृतीयको हिम नदीले बनेको पोङ्कर ताल मनाङको सबैभन्दा कम अन्वेषण गरिएको प्राकृतिक स्थलमध्ये एक हो । स्थानीयले प्रयोग गर्ने पदमार्ग पहिरोबाट पूर्णरूपमा नष्ट भएपछि अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना, एकाइ संरक्षण कार्यालय मनाङ टोलीले सुरक्षित र दिगो मार्ग पहिचान गर्न सर्वेक्षण गरेको हो ।
स्थानीय यार्सागुम्बा र वन लसुन सङ्कलनका लागि यस क्षेत्रको भ्रमण गर्ने गर्छन्, यस्ता अन्वेषणात्मक सर्वेक्षणले स्थानीय समुदाय र आगन्तुक माझ संरक्षण जागरुकता बढाउँदै दिगो पारिस्थितिक पर्यटनलाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ ।
आकारमा सानो भए पनि पोङ्कर ताल वरिपरिका हिमाली दृश्यहरू अत्यन्त मनमोहक छन् । अन्वेषणात्मक गतिविधिहरूले दिगो पर्या–पर्यटनलाई प्रवर्धन गर्नका साथै स्थानीय समुदाय र आगन्तुकहरूमा संरक्षणबारे सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
नयाँ पदमार्ग विकास भएसँगै यस क्षेत्रले देशी तथा विदेशी पर्यटक आकर्षित गरी मनाङको पर्यटन र स्थानीय अर्थतन्त्रमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।