लन्डन, कात्तिक ८ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा इजरायल-हमासबिच भएको अमेरिकी-मध्यस्थतामा युद्धविराम सम्झौताको स्वागत गर्दा उहाँका पछाडि उभिएका विश्व नेता केवल प्रतीकात्मकरूपमा देखिए । यो युरोपको घट्दो प्रभावको स्पष्ट सङ्केत थियो ।
गाजा युद्धदेखि युक्रेन द्वन्द्वसम्म युरोपेली देश कूटनीतिकरूपमा आफ्नो स्थान जोगाउन सङ्घर्षरत छन् भने ट्रम्पले ‘अमेरिका फस्र्ट’ नीतिअन्तर्गत विश्व राजनीतिलाई पुनः आकार दिने प्रयास तीव्र बनाउनुभएको छ । भू-राजनीतिक विज्ञ लिन्डसे न्युम्यान भन्नुहुन्छ, “ट्रम्पको नीति अब अलगाववादी होइन-उहाँ आफ्नो छविमा संसार पुनःनिर्माण गर्दै हुनुहुन्छ । युरोपले उहाँलाई प्रभाव पार्न सक्ने सम्भावना अत्यन्त न्यून छ ।”
-युक्रेन युद्धमा दबाब र विभाजन-
रूसविरुद्ध युरोपको समर्थन र ट्रम्पको दृष्टिकोणबिच गहिरो मतभेद छ । उहाँले पछिल्लो हप्ता रूसी तेल-ग्यास उद्योगमाथि प्रतिबन्ध लगाए पनि त्यो कदम रुसी राष्ट्रपति पुटिनप्रतिको निराशाबाट बढी प्रेरित थियो । उहाँले भन्नुभएको छ, “मैले धेरै पटक भ्लादिमिरसँग राम्रो कुरा गरेको छु, तर केही परिणाम निस्किँदैन ।”
ट्रम्पले युक्रेन युद्ध रोक्ने वाचा पूरा गर्न सक्नु भएको छैन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की र पुटिनबिच वार्ताको पहल असफल भएपछि उहाँले युरोपेली नेतालाई सहयोगको आग्रह गर्नुभयो । तर युरोप भित्रै मतभेद देखिएको छ । युरोपेली सङ्घ (इयु) ले युक्रेन सहयोगका लागि फ्रिज गरिएका रूसी सम्पत्ति प्रयोग गर्ने योजनामा सहमति जुटाउन सकेको छैन ।
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले अझै पनि समर्थनको विरोध गरिरहनुभएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले भने प्रतिबन्धलाई ‘निर्णायक मोड’ भन्नुभएको छ तर विश्लेषकहरू भन्छन्, “युरोपेली एकता नटुट्नु नै युरोपको आंशिक विजय हो ।”
-मध्यपूर्वमा युरोपको प्रभाव कमजोर-
इजरायल-हमास युद्धविराममा युरोपको भूमिका न्यून रह्यो । ट्रम्पले इजिप्ट, कतार, टर्की र साउदी अरबको भूमिकाको प्रशंसा गर्नुभयो तर युरोपको योगदानबारे मौन रहनुभयो । इयु विश्वकै सबैभन्दा ठुलो सहायता प्रदायक भए पनि इजरायलमाथि यसको दबाब सीमित छ ।
बेलायत र फ्रान्सले प्यालेस्टिनी राज्यलाई मान्यता दिएको कदमले अमेरिकी प्रशासनलाई असन्तुष्ट तुल्याएको बताइन्छ । ट्रम्पका नजिकका अधिकारीले पनि लन्डनको भूमिकालाई ‘भ्रमपूर्ण’ भनेका छन् । विश्लेषक जोनाथन स्चान्जर भन्नुहुन्छ, “ट्रम्पको युद्धविरामले युरोपेली आलोचनालाई केही समयका लागि शान्त पारेको छ र दुवै पक्षलाई रचनात्मक संवादतर्फ अग्रसर बनाएको छ ।”
न्युम्यानका अनुसार ट्रम्प अब युरोपभन्दा मध्यपूर्वका मुलुकसँग सम्बन्ध विस्तारमा बढी केन्द्रित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “जहाँ अन्य अमेरिकी प्रशासन टाढा जान खोज्थे, ट्रम्प त्यहाँ केन्द्रविन्दु खोजिरहनुभएको छ ।”
-युरोपका लागि मिश्रित सन्देश-
ट्रम्पले नाटोबाट अमेरिकालाई फिर्ता नगरे पनि र युरोपेली सामानमा भारी कर नलगाए पनि उहाँले देशलाई रक्षा खर्च बढाउन दबाब दिइरहनुभएको छ । युक्रेनमा रुसको आक्रमणले पनि युरोपमा सुरक्षा चेतना बढाएको छ । सन् २०२० मा इयु छोडेको बेलायत पुनः आफ्नो छिमेकीसँग नजिकिएको छ । प्रधानमन्त्री किर स्टार्मर वासिङ्टन र महाद्वीपबीचको प्रमुख कडी बन्नुभएको छ ।
इतिहासकार क्याथलिन बर्कका शब्दमा, “ट्रम्पले बुझ्न थाल्नुभएको छ-शत्रुभन्दा सहयोगी हुनु सधैंँ राम्रो हुन्छ । यदि युरोप एकजुट रह्यो भने उनीहरूको प्रभाव अझ बढ्न सक्छ ।” रासस/एपी