• १३ साउन २०८१, आइतबार

प्रभास तालबाट हराए कमलका फूल

blog

तानसेन समाचारदाता

तानसेन, माघ ९ गते  । तानसेनस्थित ऐतिहासिक प्रभास तालमा कमलका फूल लोप भएका छन् । एक दशकअघिसम्म प्रभास तालभरि कमलका फूल फुल्ने गरेको भए पनि पछिल्लो समय कमलका फूल देखिन छाडेको छ । 

यस तालमा विभिन्न हानिकारक फोहोर मिसाउँदा कमलका फूल लोप भएको स्थानीय बासिन्दाले बताएका छन् । एक दशकअघिसम्म पनि तालमा विभिन्न रङका कमलका फूल फुल्थे तर अहिले कमलका फूल देख्न पाइँदैन । 

कमलपोखरीका नामले प्रभास ताल चर्चित छ । स्थानीयवासी कमलका फूल टिप्न र औषधिको रूपमा प्रयोग गर्न यहाँ आउने गरेका स्थानीय पदम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रभास तालमा कमल फुलेको प्रशस्तै देखिन्थ्यो, अहिले ती फूल देख्नै पाइँदैन ।” लुम्बिनी मेडिकल कलेजबाट आएको फोहोर पानी र प्रभास बजारबाट आएको दुर्गन्धित पानी पोखरीमा मिसाउँदा कमलका फूल हराएको स्थानीयवासी बताउँछन् । 

प्रभास तालको संरक्षणमा जिल्ला समन्वय समिति पाल्पा, डिभिजन वन कार्यालय र तानसेन वडा नं. ७ को वडा कार्यालय सक्रिय भए पनि सार्थकता पाउन सकेको छैन । प्रभास तालको सुन्दरता कायम राख्न र जलचर तथा वनस्पतिको संरक्षणका लागि केही प्रयास थालनी भएका छन् । जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनालले तालको संरक्षणमा जोड दिनुभयो । प्रभास ताल ३४ रोपनी क्षेत्रफलमा फैलिएको छ । तालको संरक्षणमा पहल गर्न तानसेन नगरपालिका र लुम्बिनी मेडिकल कलेजलाई पटक पटक अनुरोध गरेको समन्वय प्रमुख खनालले बताउनुभयो ।

ताल संरक्षण हुन नसक्दा तालभित्र फुलेका सुन्दर कमलका बिरुवा हुर्कन नपाई मरेको र पछिल्लो समय लोप भएको उहाँले बताउनुभयो । प्रभास तालमा सफा पानी र कमलका फूल फुल्दा विभिन्न प्रजातिका चराचुरुङ्गी, माछालगायत जलचर देखिन्थे । अहिले ताल दुर्गन्धित बन्दा मानिससमेत जान छाडेका र तालको ऐतिहासिक महत्वसमेत घटेको स्थानीयवासी खेमराज पाण्डेयले बताउनुभयो ।