• २१ वैशाख २०८१, शुक्रबार

पढाइका अब्बल भोजराज

blog

दोलखाको जिरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत भोजराज जिरेलको इन्जिनियर बन्ने ठुलो धोको छ । इन्जिनियरिङ पढाइलाई सहयोग पुग्ने कम्प्युटर, विज्ञान र ऐच्छिक गणित अध्ययन गर्दै छन् भोजराज । १५ वर्षीय जिरेलको कक्षा ९ बाट १० मा जाँदा ९०.५ प्रतिशत आएको छ । यो प्रतिशतलाई बढाएर शतप्रतिशत पु-याउन उनी पढाइमा तल्लीन छन् । समय तालिका बनाएर अध्ययन गर्ने उनको बानी छ ।  उनी मजदुरी गरेर पढ्दै छन् । 

भोजराजमा खेलकुदभन्दा साहित्य तथा हाजिरी जवाफ प्रतियोगितामा रुचि रहेको छ । यसमा प्रथम र दोस्रो भइरहन्छन् । हालै नेपाल विज्ञान शिक्षक बागमती प्रदेशले आयोजना गरेको विज्ञान, साक्षरता र उद्यमशीलतामा सफल विषयक निबन्ध प्रतियोगितामा प्रथम हुन सफल भएका छन् भोजराज । बढी समय पढाइमै खर्च हुन्छ उनको । पढाइ नभएको समयमा आमा र दिदीलाई घरतथा खेतीपातीमा सहयोग गर्ने बानी छ । जेठो छोराले राम्ररी पढ्न नसकेपछि भोजराजकी आमा ललितमायालाई  छोरो कक्षा १० मा पुगेसँगै उसको इच्छा पूरा गर्न सक्छु कि सक्दिन भन्ने चिन्ताले सताउन लागेको छ । इन्जिनियरिङ पढाउनभन्दा भर्नामा बढी लाग्ने सुनाइले उहाँलाई बेलाबेलामा झस्क्याइरहन्छ । लाखौँको हिसाब सुन्दा उहाँलाई महत्वकाङ्क्षी विषय रोज्यो कि छोराले भन्ने लाग्छ तर आफूले पढ्न नपाएको र बाबु नभएको छोरालाई राम्रै बनाउने इच्छा जागेको छ । तँ आँट म पु¥याउँछु भन्ने उक्ति सार्थक हुने आत्मबल रहेको उहाँको भनाइ रहेको छ । 

जिरी मावि जिल्लाको नाम चलेको र स्थापित भइसकेको छ । प्रधानाध्यापक कुमार जिरेलका नजरमा भोजराज जिरेल मेहनती, समयपालक, सहयोगी, आत्म उत्प्रेरित, अनुकरणीय व्यक्तित्व ठहरिएका छन् । अतिरिक्त क्रियाकलापभन्दा पढाइप्रति अब्बल देखिन्छन् । 

शब्द/तस्बिर : बाबुराम शर्मा