माध्यमिक शिक्षा परीक्षा (एसइई) नजिकै आइसक्यो । कक्षा १० को विद्यार्थीका रूपमा मेरो मनमा चिन्ता, दबाब, आशा र दृढ सङ्कल्पको मिश्रण छ । बित्दै गरेका हरेक दिन पहिलेभन्दा गह्रौँ महसुस हुन्छन् । घडीको सुईले मलाई परीक्षा तयारीको समय सकिँदैछ भनेर निरन्तर सम्झाइरहन्छ । विशाल पाठ्यक्रम कहिलेकाहीँ बोझिलो लाग्छ । पहिले मैले राम्ररी बुझेको भनी ठानेका विषय अहिले अन्योलपूर्ण लाग्न थालेका छन् । सानातिना गल्तीले पनि मेरो तयारीमाथि शङ्का उत्पन्न गराउँछ । परीक्षा हलमा उत्तर बिर्सने डर प्रायः मेरो दिमागमा आउँछ ।
यो अवधिले मलाई अनुशासन र जिम्मेवारीको महत्व पनि महसुस गराएको छ । मलाई आमाबुवा, शिक्षक र आफन्तको अपेक्षा पूरा गर्नुपर्ने ठुलो दबाब महसुस भइरहेको छ । जसले मलाई निरन्तर एसइई जीवनको एउटा निर्णायक परीक्षा हो भन्ने सम्झाइरहन्छ । उहाँहरूको कुराले मलाई प्रेरित गर्छ तर कहिलेकाहीँ यसले मेरो तनाव पनि बढाउँछ । लामो समयसम्म पढ्ने, पाठ निरन्तर दोहो¥याउने र अभ्यास प्रश्नहरू हल गर्ने मेरो दैनिकीको हिस्सा बनेको छ । फुर्सदिलो हुने, सामाजिक सञ्जालमा व्यस्त हुने र साथीसँग घुमफिर गर्ने कुरालाई त्याग्नु सजिलो छैन तर मलाई थाहा छ मेरो सुनिश्चित भविष्यका लागि यी त्याग आवश्यक छन् ।
तनाव हुँदाहुँदै मभित्र आशाको भावना बढिरहेको छ । म आफूलाई सम्झाउँछु कि म शून्यबाट सुरु गरिरहेको छैन । मैले वर्षभरि अध्ययन गरेको छु, कक्षामा भाग लिएको छु र आफ्ना गल्तीबाट सिकेको छु । जब म प्रश्नहरू सही तरिकाले हल गर्छु वा कुनै गाह्रो अध्याय बुझ्छु, मलाई आत्मविश्वासी र आफूप्रति गर्व महसुस हुन्छ । यी साना उपलब्धिले मलाई अगाडि बढिरहन प्रोत्साहित गर्छन् ।
म सबैसँग प्रतिस्पर्धा गर्नुको सट्टा सकारात्मक रहन र आफ्नै प्रगतिमा ध्यानकेन्द्रित गर्ने प्रयास गर्छु । मैले सिकेको छु कि राम्रो स्वास्थ्य कायम राख्नु, शान्त रहनु र आफूमा विश्वास गर्नु पनि पढाइ जत्तिकै महत्वपूर्ण कुरा हुन् ।
एसइई नजिकिँदै गर्दा म यो परीक्षा सकिने दिनको सपना पनि देख्ने गरेकी छु । डरको सामना गरेँ र इमानदारीपूर्वक कडा मेहनत गरेँ भन्ने कुरा सोच्ने गर्दछु । अब धेरै दिन बाँकी छैन । परीक्षाप्रति ध्यानकेन्द्रित राख्न, समयको बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न र सर्वश्रेष्ठ प्रदर्शन गर्न दृढ छु । पछि परिणाम जेसुकै होस् यो यात्राले मलाई धैर्य, लगनशील र आत्मविश्वासका बारेमा मूल्यवान् पाठ सिकाइरहेको छ जुन कुरा जीवनभर मसँग रहने छन् ।