• १३ साउन २०८१, आइतबार

फलफूल प्रशोधन उद्योग सञ्चालन

blog

अमरगढी समाचारदाता

डडेलधुरा, माघ ९ गते । जिल्ला सदरमुकामको डोटी घटालमा फलफूल प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । उत्पादन सुरु गरेर बन्द भएको उद्योग पुनः सञ्चालन गरिएको हो । यहाँ उत्पादन हुने सुन्तला, मौसमलगायतका फलफूलका साथै सस उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको हो । 

अमरगढी नगरपालिका–३, डोटी घटाल क्षेत्रको काँडेगाउँमा जय घटालबाबा फलफूल प्रशोधन उद्योग सञ्चालन गरिएको सञ्चालक गणेशसिंह विष्ट सेठीले बताउनुभयो । 

उहाँका अनुसार प्रदेश सरकारबाट अनुदान प्राप्त गरी सञ्चालन हुन नसकेको उद्योग पुनः सञ्चालन गरिएको हो । यसअघि दोगडा भूमिराज फलफूल प्रशोधन उद्योगका नाममा सञ्चालन गर्न दार्चुलाका बलदेव भट्टले ५६ लाख ७५ हजार रुपियाँ अनुदान प्राप्त गर्नुभएको थियो । उहाँले उद्योगमा एक करोड सात लाख लगानी देखाउनुभएको थियो । सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि ज्ञान केन्द्र डडेलधुराले किस्तामा दिनुपर्ने भुक्तानी उहाँलाई एकै पटक दिएको थियो । 

मौसमी फलफूलको रस मेसिनबाट निकाली उत्पादन बजारमा पठाउने तयारी गरी २०७७ फागुनमा पहिलो पटक उद्योगले परीक्षण उत्पादन गरेको थियो । त्यसयता भने उद्योग बन्द भएको थियो । 

भट्टले सेठीको जमिन भाडामा लिई उद्योग स्थापना गर्नुभएको थियो तर उहाँले जमिनको भाडासमेत तिर्नुभएको थिएन । हाल सेठी आफैँले उद्योग आफ्नो नाममा नामसारी गरी सञ्चालन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक घण्टामा ७० लिटर उत्पादन गर्न सकिने उपकरणको क्यापिसिटी छ । बजारको माग अनुसार उत्पादन गर्ने छौँ ।”

डडेलधुरामा वार्षिक रूपमा एक हजार हेक्टर क्षेत्रफलमा सुन्तला, मौसमी जातका फलफूल उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।