लुम्बिनीमा अशोकस्तम्भलगायत पुरातात्त्विक संरचनामा नकारात्मक असर पर्न थालेपछि नजिकै बालिने बत्ती (दियो सेड) परिसरलाई बाहिर सारिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा अशोकस्तम्भ रहेको छ । इसापूर्व २४९ मा सम्राट अशोकले स्थापना गरेको अशोकस्तम्भमा कुँदिएको शिलालेख नै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणको तथ्य हो । युनेस्को, पुरातत्त्वविद्ले दिएको सुझाव अनुसार लुम्बिनी विकास कोषले अशोकस्तम्भ नजिकै बालिँदै आएको दियो सेड हटाएर बाहिर निर्माण गरिएको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले जनाकारी दिनुभयो ।
पोखरा महानगरको करिब मध्यभागमा पर्ने महेन्द्रपुलमा झन्डा पार्क निर्माण भएको छ । पोखरा–९ को महेन्द्रपुलमा पहिलेको सार्वजनिक पुस्तकालयको स्थानमा पार्क बनाइएको हो । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ आई, जे, के, एल र एमको सहयोगमा करिब ७० लाख रुपियाँ लागतमा पार्क निर्माण भएको हो । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रूपमा पार्क उद्घाटन गर्नुभयो ।
नवलपुरको कावासोती–११ स्थित लोकाहा खोला किनारमा लोपोन्मुख प्रजातिका छ वटा गिद्ध मरेका छन् । चारवटा डङ्गर र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेको छ । अर्को मृत गिद्ध कुन प्रजातिको हो खुलेको छैन । जटायु रेस्टुरेन्टका अध्यक्ष डिबी चौधरीका अनुसार एउटा सुन गिद्ध र छ वटा डङ्गर प्रजातिका गिद्ध बिरामी अवस्थामा फेला परेका छन् । बिरामीमध्ये एउटा डङ्गर गिद्धको अवस्था गम्भीर छ । मरेको स्यालको सिनो खाएर गिद्ध मरेको बताइन्छ । उहाँका अनुसार गिद्ध मरेको स्थानमा दुई वटा मरेको स्यालको सिनोसमेत फेला परेको छ । विषादीयुक्त खाना खाएर मरेको स्यालको सिनो खाँदा गिद्ध मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । लोकाहा खोला किनारमा गिद्ध मृत देखेपछि स्थानीयले जटायु रेस्टुरेन्टमा खबर गरेका थिए ।
अघिल्लो वर्ष निर्माण सुरु गरिएको उदयपुरको त्रियुगा नदी नियन्त्रण आयोजनाको काम यो वर्ष बिचैमा अलपत्र परेको छ । यो नदी नियन्त्रण हुन नसक्दा जिल्लाकै सबैभन्दा ठुलो विकराल समस्या बन्न पुगेको छ । सदरमुकाम गाईघाट हुँदै उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका र सप्तरीको सप्तकोशी नगरपालिकाको उत्तरपूर्व क्षेत्र भएर सप्तकोशीसम्म जोडिएको करिब एक सय किलोमिटर त्रियुगा नदी नियन्त्रणको काम आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको हो । सरकारले छुट्टै गुरुयोजना बनाएर क्रमागत रूपमा बजेट विनियोजन गर्ने गरी काम सुरु गरेको भए पनि चालु आवका लागि भने बजेटको सुनिश्चितता नहुँदा तटबन्ध निर्माणको अलपत्र परेको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला (तिलविक्रम नेम्वाङ) को अभिनन्दन गरिएको छ । पाँचथर स्रष्टा मञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उहाँलाई अभिनन्दन गरिएको हो । समालोचक प्राडा वासुदेव त्रिपाठीले नेपाली साहित्य भण्डारलाई सम्पन्न बनाउन सर्जक काइँलाको ठुलो योगदान रहेको बताउनुभयो । सो अवसरमा कवि बैरागी काइँलाले साहित्यमा कलम चलाउन थालेको सुरुका दिनमा छापिएका सिर्जना सङ्कलन गरी तयार पारिएको ‘बैरागी काइँलाका प्रारम्भिक रचनाहरू’ पुस्तक लोकार्पणसमेत गरिएको थियो ।
चलचित्र ‘घरज्वाइँ’ को छायाङ्कन रुकुमपूर्वको भूमे गाउँपालिका–१,लुगुमगाउँबाट सुरु गरिएको छ । अनिल बुढामगरको लेखन र निर्देशनमा चलचित्रको छायाङ्कन सुरु भएको हो । चलचित्रमा दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा हुनुहुन्छ । चलचित्रको छायाङ्कन ढोरपाटन आसपासका रमणीय स्थानमा पनि गरिने भएको छ ।
ताप्लेजुङमा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार विगत दुई वर्षको तुलनामा यस वर्ष चिराइतो निकासीमा वृद्धि भएको हो । जिल्लामा चिराइतो उत्पादनमा कमी आइरहेको भए पनि पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार यस वर्ष निकासीमा वृद्धि भएको हो । तुलनात्मक रूपमा यो वर्ष केही परिमाणमा चिराइतो निकासी वृद्धि भएको डिभिजन वन कार्यालयले जनाएको छ । वन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा पाँच हजार ८२० किलोग्राम चिराइतो निकासी भएको छ ।
नेपालको बैङ्किङ क्षेत्रबारे पछिल्लो समय आधारहीन अफवाह फैलन थालेको भन्दै सो क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूले आपत्ति जनाएका छन् । नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था सङ्घ र नेपाल लघुवित्त बैङ्कर्स सङ्घले आइतबार संयुक्त वक्तव्य जारी गर्दै आमसर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिनेहरूलाई कानुनी कारबाही गर्न आग्रह गरेका छन् ।
नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ‘रोमिङ’ सुविधा झन् सस्तो दरमा उपलब्ध हुन थालेको छ । विदेश जाँदा पनि टेलिकमकै सिमकार्ड प्रयोग गरेर कुराकानी र एसएमएस गर्न सकिने यो सुविधाको महसुल दर विगतको भन्दा धेरै कम गराइएको कम्पनीले जनाएको छ । त्यस्तै एसएमएस हेर्नका लागि कुनै शुल्क नलाग्ने कम्पनीले जानकारी दिएको छ । महसुल दर सस्तो भएपछि केही समयका लागि विदेश जाने वा विदेशमा बसेर पनि नेपालकै सिममार्फत बैङ्क खाता चलाउने टेलिकमको सिम निकै उपयोगी भएको कम्पनीको दाबी छ । अन्य देशको कुनै मोबाइल सेवा प्रदायकको सिम चलाउनुपर्ने झन्झटको समेत अन्त्य भएको कम्पनीले उल्लेख गरेको छ ।
बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उहाँकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् । नागरिकता नहुँदा कोही पनि छोराछोरीको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । एसइईको परीक्षा फाराम भर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य छ । लिङ्खिमको सिँवामा बसोबास गर्दै आउनुभएका राई दम्पतीको नागरिकता नभएकै कारण उहाँहरूका एक छोरा र तीन छोरीसमेत चार जना छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको हो । पढ्न नपाएपछि राई दम्पतीका छोराछोरीले पढाइ छाडेर कोही मजदुरी गर्न र कसैले अर्काको घरमा घरायसी सहयोगी बनेर काम गर्दै आएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालका केन्द्रीय अध्यक्ष प्रदीपराज वन्त सम्मानित हुनुभएको छ । वन्त प्रदेशखबर डटकमको प्रथम वार्षिकोत्सव अवसरमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित हुनुभएको हो ।
काभ्रेपलान्चोकको बनेपामा आयोजना गरिएको काभ्रेपलान्चोक बृहत् कृषि महोत्सव २०८० को करिब ७० हजार सर्वसाधारण नागरिकले अवलोकन गरेका छन् ।
दुधुवा नेशनल पार्क र लालझाडी कोरीडोरबिचमा रहेको कञ्चनपुरका पालिकाहरुमा वन्यजन्तुको त्रास बढेको छ । पुनर्वास, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिकातिर ठुला तथा हिंस्रक वन्यजन्तुको त्रास बढेको हो ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सूचना र प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रलाई परिष्कृत बनाउन आवश्यकभएको बताउनुभएको छ ।
पिस प्वाइन्ट १२औँ लोयल्टी कप यु–१३ अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।